पाठ ११ - कम्प्युटर भाइरस (Computer Virus) | कम्प्युटर शिक्षा कक्षा ७

0
पाठ ११ - कम्प्युटर भाइरस (Computer Virus) | कम्प्युटर शिक्षा कक्षा ७
पाठ ११ - कम्प्युटर भाइरस (Computer Virus)
(toc)

परिचय

कम्प्युटर भाइरस भनेको जीवित जीवाणु होइन । यो एक प्रकारको कम्प्युटर प्रोग्राम हो । कम्प्युटर भाइरस कम्प्युटर प्रोग्रामर्सहरूले बनाउँछन् । यो बनाउनुको प्रमुख कारण कम्प्युटरभित्र राखिएका प्रोग्राम, फाइल तथा फोल्डर आदिलाई बिगार्नु वा नाश गर्नु हो । यसले कम्प्युटरको नियमित क्रियाकलापलाई बाधा पुयाउँछ । जसले गर्दा कम्प्युटरमा काम गर्ने बेलामा असजिलो हुन्छ । यी भारसहरू हामीले थाहा नपाई आफै आफ्नो कपी बनाएर इन्टरनेट, पेनड्राइभ, सिडी वा डिभिडी (CD/DVD) जस्ता विभिन्न माध्यमबाट अरू कम्प्युटरमा सर्छन् ।
यिनीहरूका काम साधारणतया क्षति अथवा काममा बाधा पुयाउने हुन्छन्, जस्तै : फाइल डिलिट गर्ने, फाइलहरूलाई लुकाउने, प्रोग्रामहरू चल्नबाट वञ्चित गराउने आदि ।

कम्प्युटर भाइरसका प्रकार (Types of Computer Virus)

हिजो आज कम्प्युटर जगत्मा धेरै प्रकारका कम्प्युटर भाइरसहरूको विकास भएको छ । तर सामान्यतया कम्प्युटर भाइरसहरूलाई यिनीहरूको सङ्क्रमण गर्ने विधि तथा विशेषताका आधारमा यिनीहरूको प्रकार छुट्याएको छ, जुन निम्नानुसार छन् :

बुट सेक्टर भाइरस (Boot Sector Virus)

बुट सेक्टर भाइरसले मास्टर बुट रेकर्ड (MBR-Master Boot Record) तथा भण्डारण भएको डिस्कको बुट सेक्टरमा आक्रमण गरी कम्प्युटर सुरु गर्ने प्रोग्रामलाई नाश गर्छन् । यस्ता भाइरसहरू कम्प्युटरलाई सुरु हुनबाट वञ्चित गराउने दृष्टिले बनाइएको हुन्छ ।
मास्टर बुट रेकर्ड भनेको कम्प्युटर स्टार्ट गर्ने एउटा सानो प्रोग्राम हो । यस्ता भाइरसहरूले हार्डडिस्कमा अपरेटिङ सिस्टम फाइल भएको ठाउँमा आक्रमण गर्छन् र मास्टर बुट रेकर्डलाई परिर्वतन गरिदिन्छन् ।

प्रोग्राम भाइरस वा फाइल भाइरस (Program virus or file virus)

विशेष गरी प्रोग्राम भाइरस वा फ्राइल भाइरसहरू एप्लिकेसन (Application) प्रोग्रामहरूमा सक्रमण भई यस्ता प्रोग्रामलाई कम्प्युटरमा चल्नबाट वञ्चित गराउने, प्रोग्राम नष्ट बनाउने दृष्टिले बनाइएको हुन्छ । यस्ता भाइरसहरू स्वचालित प्रोग्राम फाइलहरू जसका सेकेन्डरी नाम COM, SYS, EXE आदि छन् । त्यस्ता फाइल वा प्रोग्रामहरूमा स्वत: टाँस्सिएर आक्रमण गर्छन् । यी भाइरसहरूले स्वत: एक्ज्युक्टेबल फाइलहरूको नाम परिर्वतन गर्ने, त्यसमा भएका कन्टेन्टलाई परिवर्तन गर्ने, अरू केही कुरा थप्ने (over write) गर्छन् जसले गर्दा प्रोग्राम चल्दैन ।

मल्टिपार्टी भाइरस (Multiparti Virus)

जुन भाइरसहरूमा प्रोग्राम भाइरस वा फाइल भाइरस (file virus) र बुट सेक्टर भाइरसका विशेषताहरू पाइन्छन्, त्यस्ता भाइरसहरूलाई मल्टिपार्टी भाइरस भनिन्छ । यी भाइरसहरूले एप्लिकेसन प्रोग्राम र डिस्कको बुट सेक्टर दुवै ठाउँमा सङ्क्रमण गर्छन् । जब सङ्क्रमित प्रोग्राम चल्न थाल्छ, तब प्रोग्राम फाइलमा पनि यी भाइरसहरू आफै सङ्क्रमित हुन थाल्छन् र बुट रेर्कडमा पनि सङ्क्रमित हुन थाल्छन् । बुट रेकर्डमा सङ्क्रमण भएपछि हामीले अर्कोपटक कम्प्युटर चलाउँदा कम्प्युटर स्टार्ट नै नहुन पनि सक्छ ।

स्टिल्थ भाइरस (Stealth Virus)

स्टिल्थ भाइरस सबैभन्दा खतरनाक भाइरस हुन् । यी भाइरसहरूको सङ्क्रमण तथा कम्प्युटरमा सङ्क्रमण भएको सूचना यसले दिँदैन । यदि कहिलेकाही सूचना देखाएर पनि हामीले यो भाइरस लागेको सूचना हो भनेर हामीले थाहा पाउँदैनौ । सामान्यतया भाइरसहरूले पनि प्रोग्राम फाइल बुट रेर्कड आदिमा आक्रमण गर्छन् । यी भाइरसहरूलाई कम्प्युटरमा पत्ता लगाउन निकै गारो पर्दछ किनकि यी अपरेटिङ सिस्टम र एन्टिभाइरस सफ्टवेयरबाट लुकेर बस्छन् । यी भाइरसहरूमा अत्यन्तै फरक खालको डिटेक्सनलाई इग्नोर गर्न सक्ने प्रविधिको प्रयोग हुन्छ ।

म्याक्रो भाइरस (Macro Virus)

म्याक्रो भाइरस नयाँ प्रकारको भाइरस हो। यी भाइरसहरू एप्लिकेसन प्रोग्रामले बनाएका डकुमेन्ट वा टेम्पेलेटहरूमा सङ्क्रमण हुन्छन् जब हामी वर्ड प्रोसेस स्प्रेडसिटका डकुमेन्ट वा टेम्प्लेट खोल्छौं, यी भाइरसहरू पनि सक्रिय हुन्छन् र अरू सामान्य डकुमेन्टमा सङ्क्रमण हुन थाल्छ । यसरी जब हामीले सङ्क्रमित डकुमेन्ट जुन कम्प्युटरमा खोलिन्छ त्यहाँ यस प्रकारको भाइरसको सङ्क्रमण भइहाल्छ ।

भाइरसका लक्षणहरू (Symptom of Computer virus)

भाइरसहरूले हामीले थाहा नपाई कम्प्युटरमा सङ्क्रमण भएर आफ्नो काम गरिराखेका हुन्छन् । तर केही समान्य लक्षण भने देखा पर्छन् जसले गर्दा हामीलाई कम्प्युटरमा भाइरस लागेको छ कुरा थाहा पाउन सकिन्छ ।
(क) प्रोग्राम खुल्न लामो समय लाग्छ ।
(ख) फाइल बनेको मिति र समयलाई परिवर्तन गर्छ ।
(ग) बिनाकारण डिस्क आफै खुल्न थाल्छ ।
(घ) फाइलको आकारलाई बढाउँछ र छिटो डिस्क भरिन्छ ।
(ङ) फाइलको फोल्डरको नाम परिवर्तन गरिदिन्छ ।
(च) सिस्टमका डाटालाई बिगार्छ ।

भाइरसबाट बचावट (Prevention from Virus)

कम्प्युटरलाई विभिन्न प्रकारका भाइरसहरूबाट बचाउन सकिन्छ । भाइरसबाट बचाउने थुप्रै उपायहरू छन्, जसमध्ये मुख्य मुख्य निम्न लिखित छन् :

प्रयोगकर्ताको सावधानी (Awareness of User)

कम्प्युटरका प्रयोगकर्ता (user) आफै सचेत हुनुपर्छ । बाहिरबाट ल्याएका डिस्क भाइरस छ कि छैन भनेर राम्रोसँग जाँच गर्नुपर्छ । यदि भाइरस छ भन्ने पत्ता लागेमा तुरुन्तै हटाउनुपर्छ, पछि हटाउँला भनेर अल्छी गर्नु हुँदैन। दिनको एक पटक आफ्नो कम्प्युटरमा भाइरस छ कि छैन भनेर जाँच गर्नुपर्छ ।

आधिकारिक सफ्टवेयरको प्रयोग (Legalization)

भाइरसबाट आफ्नो कम्प्युटरलाई जोगाउन कानुनी मान्यता पाएका सफ्टवेयरको प्रयोग गर्नुपर्छ । त्यस्ता सफ्टवेयरमा भाइरस सङ्क्रमण हुँदैन । सरकारले पनि भाइरस बनाउने व्यक्तिलाई सजाय दिने खालको कानुन बनाउनुपर्छ ।

एन्टिभाइरसको प्रयोग (Use of Antivirus)

आफ्नो कम्प्युटरलाई भाइरसबाट बचाउने सबैभन्दा राम्रो र उत्तम उपाय भनेकै एन्टिभाइरस प्रोग्रामको प्रयोग गर्नु हो । हिजो आज बजारमा विभिन्न ब्रान्डका एन्टिभाइरस प्रोग्राम निस्किएका छन्, जसले कम्प्युटरमा भाइरस लाग्नबाट जोगाउँछन् र लागिहालेमा यस्ता प्रोग्रामले भाइरसलाई पत्ता लगाएर हटाउने काम पनि गर्छन् ।

क्रियाकलाप

कम्प्युटर भाइरसका बारेमा छलफल गरी त्यसका बेफाइदाहरूको सूची तयार पारेर चार्टपेपरमा लेखी कक्षा कोठामा टाँस ।
उत्तर: कम्प्युटर भाइरस भनेको खराब नियत भएका प्रोगामरले कम्प्युटरको माध्यमबाट गैरकानुनी कामहरु गर्न, अरुको कामलाई वाधा पुर्‍याउन र अरुको डाटाहरु माथि पहुँच पुर्‍याउन बनाएको नकारात्मक कम्प्युटर प्रोगाम हो । यसका वेफाइदाहरु यस प्रकार छन्:
१. प्रोग्राम खुल्न लामो समय लाग्छ ।
२. फाइल बनेको मिति र समयलाई परिवर्तन गर्छ ।
३. बिनाकारण डिस्क आफै खुल्न थाल्छ ।
४. फाइलको आकारलाई बढाउँछ र छिटो डिस्क भरिन्छ ।
५. फाइलको फोल्डरको नाम परिवर्तन गरिदिन्छ ।
७. सिस्टमका डाटालाई बिगार्छ ।
तिमीले कस्ता कस्ता कम्प्युटर एन्टिभाइरस देखेका वा सुनेका छौ ? त्यसबारे कक्षामा छलफल गरी सूची बनाऊ ।
उत्तर: मैले देखेको वा प्रयोग गरेको एन्टिभाइरसहरु निम्नलिखित छन्:
१. एभिजी (ABC)
२. कास्परकाई (Kasperky)
३. इ-सेट (E-Set)
४. विन्डोज डिफेन्डर (Windows Defender)
५. बिड डिफेन्डर (Bid Defender)
६. ई-स्क्यान (E-Scan)
७. एभास्ट (Avast)
८. नोर्टन (Norton)
९. एभिरा (Avira)
१०. डक्टर वेव (Doctor Web)

अभ्यास

१. तलको खाली ठाउँमा मिल्ने शब्द भर :

(क) कम्प्युटर भाइरस भनेको एक ............. हो ।
उत्तर: नकारात्मक कम्प्युटर प्रोग्राम
(ख) बुट सेक्टर भाइरसले डिस्कको ............ बुट रेकर्डमा आक्रमण गर्छ ।
उत्तर: मास्टर
(ग) फाइल भाइरसहरू ............. प्रोग्रामहरूमा सङ्क्रमण हुन्छन् ।
उत्तर: एप्लिकेसन
(घ) मल्टिपार्टी भाइरसमा ............ र ............ हरूको विशेषता पाइन्छ ।
उत्तर: प्रोगाम वा फाइल भाइरस र बुट सेक्टर
(ङ) भाइरसहरूको सङ्क्रमणबाट बच्ने उत्तम उपाय ............ प्रोग्रामहरूको प्रयोग गर्नुपर्दछ ।
उत्तर: एन्टिभाइरस

२. ठिक र बेठिक छुट्याऊ:

(क) कम्प्युटर भाइरस भनेको जीवित जीवाणु हो ।
उत्तर: बेठीक
(ख) भाइरसका कारणले प्रोग्राम खोल्न लामो समय लाग्छ ।
उत्तर: ठिक
(ग) भाइरसको सङ्क्रमण भएको डिस्क बिनाकारण आफै खुल्न थाल्छ ।
उत्तर: ठिक
(घ) बाहिरबाट ल्याएका डिस्क राम्रोसँग नजाँची प्रयोग गरे भाइरस सङ्क्रमणबाट बच्न सकिन्छ ।
उत्तर: बेठीक
(ङ) म्याक्रो भाइरसले एप्लिकेसन प्रोग्रामले बनाएका डकुमेन्टमा सङ्क्रमण गर्छ ।
उत्तर: ठिक

३. तलका प्रश्नका उत्तर देऊ :

(क) कम्प्युटर भाइरस भनेको के हो ? यो किन बनाइन्छ ?
उत्तर: कम्प्युटर भाइरस भनेको खराब नियत भएका प्रोगामरले कम्प्युटरको माध्यमबाट गैरकानुनी कामहरु गर्न, अरुको कामलाई वाधा पुर्‍याउन र अरुको डाटाहरु माथि पहुँच पुर्‍याउन बनाएको नकारात्मक कम्प्युटर प्रोगाम हो । जस्तै; मङ्की भाइरस (monkey virus), आइ लभ यु (I love you virus), क्रिप्टो लकर भाइरस (crypto locker virus), ट्रोजन भाइरस (trojan virus), स्टोन (stone), सि-ब्रेन (C-Brain), एभिल (evil), आदि । यो निम्न उदेश्यले बनाएको हुन्छ:
१. कम्प्युटर भित्र राखिएका प्रोगाम, फाइल तथा फोल्डरहरुलाई बिगार्नु वा नाश गर्न,
२. कम्प्युटरको माध्यमबाट गैरकानुनी कामहरु जस्तै; चोरी, ह्याकिङ, ब्लाकमेलिङ, फिरौती (पैसा माग्नु), फिसिङ वा अरुलाई झुक्याएर आफूले फाइदा लुट्न,
३. अरुको कम्प्युटरमा अनाधिकृत पहुँच राख्न ।
(ख) कम्प्युटर भाइरसका लक्षणहरूको सूची बनाऊ ।
उत्तर: कम्प्युटर भाइरसका लक्षणहरू निम्नानुसार छन्:
१. प्रोग्राम खुल्न लामो समय लाग्छ ।
२. फाइल बनेको मिति र समयलाई परिवर्तन गर्छ ।
३. बिनाकारण डिस्क आफै खुल्न थाल्छ ।
४. फाइलको आकारलाई बढाउँछ र छिटो डिस्क भरिन्छ ।
५. फाइलको फोल्डरको नाम परिवर्तन गरिदिन्छ ।
७. सिस्टमका डाटालाई बिगार्छ ।
(ग) कम्प्युटर भाइरसबाट बच्न अपनाउनुपर्ने उपायहरूको सूची बनाऊ ।
उत्तर: कम्प्युटर भाइरसबाट बच्नको लागि निम्न उपायहरु अपनाउनुपर्छ:
१. अरुको पेन ड्राइभ, मेमोरी, सिडी, डिभिडी वा हार्ड डिस्क प्रयोग गर्नु अघि भाइरस स्क्यान गर्ने,
२. आधिकारिक वा कानूनी मान्यता पाएका सफ्टवेयर मात्र प्रयोग गर्ने ।
३. कम्प्युटरमा एन्टिभाइरस राख्ने र दिनहुँ भाइरस स्क्यान गर्ने ।
(घ) मल्टिपार्टी भाइरसका विशेषता के के हुन् ?
उत्तर: मल्टिपार्टी भाइरसका विशेषता निम्नानुसार छन्:
१. यसमा प्रोगाम वा फाइल भाइरस र बुट सेक्टर भाइरस दुबैको साझा गुण हुन्छ ।
२. यसले एप्लिकेसन प्रोगाम र बुट सेक्टर दुबैमा आक्रमण गर्छ ।
३. यो भाइरस संक्रमित भएपछि कम्प्युटर बुट नहुने वा नखुल्ने हुन्छ ।
(ङ) बुट सेक्टर भाइरस कसरी सङ्क्रमण हुन्छ ?
उत्तर: बुट सेक्टर भाइरस इन्टरनेट, स्टोरेज मिडिया (पेन ड्राइभ, मेमोरी, सिडी, डिभिडी वा हार्ड डिस्कहरु) वा मेलेसियस सफ्टवेयरहरुको माध्यमबाटको माध्यमबाट कम्प्युटरमा सरी अपरेटिङ सिस्टम फाइललाई आक्रमण गर्छ र मास्टर बुट रेकर्डलाई परिवर्तन गरिदिन्छ । त्यसपछि कम्प्युटर सिस्टम सुचारु हुन सक्दैनँ ।
(च) प्रोग्राम भाइरस कसरी सङ्क्रमण हुन्छ ?
उत्तर: प्रोग्राम भाइरस इन्टरनेट, स्टोरेज मिडिया वा मेलेसियस सफ्टवेयरहरुको माध्यमबाट कम्प्युटरमा संक्रमण हुन्छ । जब, यो भाइरस कम्प्युटरमा प्रवेश गर्छ यसले कम्प्युटरको फाइलहरुलाई परिवर्तन गर्ने र खोल्न नमिल्ने बनाइदिन्छ । यसरी संक्रमित फाइललाई खोल्नको लागि विशेष प्रकारको टुल वा कि आवश्यक पर्छ जुन त्यो भाइरस बनाउने व्याक्तिसंग हुन्छ । हाम्रो फाइल पहिलाकै अवस्थामा ल्याइदिने आश्वसन दिँदै ह्याजरले हामीसंग पैसा माग्न सक्छ ।
(छ) स्टिल्थ भाइरस कसरी सङ्क्रमण हुन्छ ?
उत्तर: स्टिल्थ भाइरस भाइरस इन्टरनेट, स्टोरेज मिडिया वा मेलेसियस सफ्टवेयरहरुको माध्यमबाट कम्प्युटरमा संक्रमण हुन्छ । यो भाइरसको अत्यन्तै फरक खालको डिटेक्सन प्रविधिबाट लुक्न सक्ने खतरनाक गुण रहेको हुन्छ । त्यसैले यसलाई एन्टिभाइरस टुलले पनि पत्ता लगाउन सक्दैन । जब यो भाइरस कम्प्युटर प्रवेश गर्छ, यसले कम्प्युटरको मास्टर बुट रेकर्डमा आक्रमण गरेर कम्प्युटरको सबै सिस्टम नाश गरिदिन्छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top