पाठ्यक्रमको परिचय, अवधारणा, उद्देश्य, क्षेत्र र क्रम - शिक्षक सेवा आयोग

0
पाठ्यक्रम र पाठ्यपुस्तक - शिक्षक सेवा आयोग तयारी
पाठ्यक्रम र पाठ्यपुस्तक - शिक्षक सेवा आयोग तयारी
(toc)

पाठ्यक्रम र पाठ्यपुस्तक

पाठ्यक्रमको परिचय, अवधारणा, उद्देश्य, क्षेत्र र क्रम

- पाठ्यक्रमको अवधारणाको प्रयोग सन् १९१८ मा वोविट्स (Bobbits) ले गरेका थिए । त्यस्तै सन् १९७२ मा लेविस एन्ड मील (Lewis and Miel) ले पाठ्यक्रमको बारेमा लेखरचनाहरु प्रकाशनमा ल्याए तापनि २० औं शताब्दीमा मात्र पाठ्यक्रमको अवधारणाको विकास र विस्तार प्रभावकारी रुपमा भएको पाइन्छ ।
- परम्परागत धारणाअनुसार विद्यार्थीले कक्षाकोठाभित्र सिक्ने विषयको स्वरूप वा विद्यार्थीको चौतर्फी विकासका लागि चाहिने सबै अनुभवहरूलाई पाठ्यक्रम भनिन्छ ।
- बालकलाई सिकाइने विषयबाट ल्याउन खोजिएको परिवर्तन, त्यसका उद्देश्य, उद्देश्य पूरा गर्नका लागि उनीहरूलाई दिइने अनुभव, शिक्षण विधि र उद्देश्य पूरा भए/भएनन् भनी गरिने मूल्याङ्कन पाठ्यक्रमअन्तर्गत नै पर्दछन् ।
- विद्यार्थीको रुचि, आवश्यकता र क्षमताअनुसार ज्ञान, सीप र व्यवहार सिकाइ शैक्षिक कार्यक्रमलाई व्यवस्थित र योजनाबद्ध ढङ्गले सञ्चालन गरी तोकिएका उद्देश्य पूरा गर्नका लागि बनाइएको विस्तृत योजना पनि पाठ्यक्रम हो ।
- "पाठ्यक्रम भनेको विद्यार्थीलाई ज्ञान, सीप र व्यवहार सिकाउने उद्देश्य, विषय, विधि र मूल्याङ्कनका तरिका तोकेर तयार पारिएको व्यवस्थित योजना हो।"

पाठ्यक्रमको शाब्दिक अर्थ

- पाठ्यक्रम अंग्रेजी भाषाको 'Curriculum' को रुपान्तरण हो । Curriculum ल्याटिन भाषाको 'Currere' बाट बनेको हो जसको अर्थ धावन मार्ग भन्ने हुन्छ । यस दृष्टिले पाठ्यक्रमको अर्थ विद्यार्थीले आफ्नो लक्ष्य प्राप्तिका लागि अघि बढ्ने बाटो भन्ने हुन्छ ।
- पाठ्यक्रमको शाब्दिक अर्थलाई दृष्टिगत गरी रोवर्ट रिच (Robert Wrich) लेख्दछन् - "Curriculum is a runway or course on which one runs to reach a goal."

पाठ्यक्रमको संकुचित अर्थ

- पाठ्यक्रमलाई पाठ्यपुस्तकका सूचीका रुपमा लिइनु संकुचित अर्थ हो ।
-"एक शैक्षिक सत्रभरिमा शिक्षकले पढाउने विषयवस्तु वा पाठ्यांशलाई पाठ्यक्रम भनिन्छ ।
- पाठ्यक्रमको संकुचित अवधारणालाई दृष्टिगत गरी Hair R Dougles भन्छन् - "Curriculum is a systematic arrangement of a number of courses into a unit group for a particular group of people."
- विषयवस्तुको क्रमबद्ध र व्यवस्थित सूचीलाई पाठ्यक्रम भन्नु पाठ्यक्रमको संकुचित अर्थ हो ।

पाठ्यक्रमको व्यापक अर्थ

- बालकको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने ज्ञान, सीप र अनुभवको विस्तृत योजना नै पाठ्यक्रम हो । यसमा वास्तविक जीवन र सिकेका अनुभवबीच सामञ्जस्य ल्याउन विषयवस्तुलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, दार्शनिक पक्ष, शिक्षण विधि र मूल्याङ्कन प्रक्रिया समेत उल्लेख गरिएको हुन्छ ।
- विद्यार्थीको ज्ञान, सीप र अनुभवसँग पाठ्यक्रमलाई सम्बन्धित देखाउनु व्यापक अर्थ हो । तसर्थ पाठ्यक्रमलाई शैक्षिक गतिविधिको मेरुदण्डको रुपमा लिन सकिन्छ ।
- व्यापक तथा विस्तृत अर्थको रुपमा सिकारुको सैद्धान्तिक, व्यवहारिक तथा वैज्ञानिक ज्ञान, सीप र अभिवृत्तिको विकासका लागि गरिने संगठित एवं व्यवस्थित शैक्षिक कार्यक्रमलाई पाठ्यक्रम भनिन्छ । पाठ्यक्रमको व्यापक अर्थको व्याख्या गर्न तलको तालिका प्रयोग गर्न सकिन्छ :
Scopes of Curriculum
- दिइएको चित्रमा मानिसको जीवनदर्शन, समाजको आवश्यकता र सिकाइ मनोविज्ञान तथा बालमनोविज्ञानको प्रभाव पाठ्यक्रममा पर्ने कुरा देखाइएको छ ।
- पाठ्यक्रममा शिक्षक, विद्यार्थी, विषयवस्तु र शिक्षण विधिका बीचको सम्बन्ध र अन्तक्रियालाई व्याख्या गरी विषयलाई विद्यार्थीसमक्ष पुयाउने माध्यम, विधि र मूल्याङ्कनका तरिका उल्लेख गरिएको हुन्छ ।
पाठ्यक्रममा शिक्षणसिकाइको व्यापक परिवेश समेटी बालकको सर्वाङ्गीण विकासका लागि आवश्यक ज्ञान र अनुभवको सङ्गठन, प्रभावकारी शिक्षण, सिकाइ उपलब्धिको मूल्याङ्कनजस्ता कुरा समेटी परिभाषित गरिन्छ भने त्यसलाई पाठ्यक्रमको व्यापक अर्थ भनिन्छ । (alert-success)

बिभिन्न बिद्वान्, शिक्षाविद्, सङ्घसंस्था तथा आयोगले दिएका केही परिभाषाहरू

"शिक्षाका लक्ष्यहरू पूरा गर्न विद्यालयले गर्ने सम्पूर्ण क्रियाकलापहरू पाठ्यक्रममा समावेश गरिएका हुन्छन् ।" - मुन्रो
"एउटा स्टुडियो (विद्यालय) मा एउटा कलाकार (शिक्षक) ले आफ्ना सामग्रीहरु (विद्यार्थी) लाई आफ्नो आदर्श (उद्देश्य) अनुरुप तयार गर्नका लागि प्रयोग गरिने ज्यावल नै पाठ्यक्रम हो ।" - कनिङघम (Cunningham)
"शिक्षाका उद्देश्यहरू प्राप्तिका लागि विद्यालय तथा शिक्षकद्वारा विद्यार्थीका लागि तयार गरेको योजना र निर्देशन अनुसारको सम्पूर्ण अनुभवहरूलाई पाठ्यक्रम भन्दछन् ।” - युनेस्को
"मानवजातिको सम्पूर्ण ज्ञान र अनुभवको उच्चतम विन्दुलाई नै पाठ्यक्रम मान्नुपर्छ ।" - फ्रोबेल
मानवले हासिल गर्ने सैद्धान्तिक र व्यावहारिक ज्ञान र अनुभवको चरम बिन्दुसम्मको अभ्यास गर्ने योजनालाई पाठ्यक्रम भनिन्छ ।
“पाठ्यक्रम भनेको शिक्षाको लक्ष्य हासिल गर्नका लागि बनाइएको शैक्षिक कार्यक्रम हो।" - रा.शि.प.यो. २०२८
"पाठ्यक्रम सिकाइको योजना हो।" (A curriculum is a plan for learning) - हिल्डा टावा
"पाठ्यक्रमअन्तर्गत विद्यालयद्वारा योजनाबद्ध र निर्देशित सबै सिकाइहरू पर्दछन्, जुन विद्यालयभित्र वा बाहिर व्यक्तिगत एवम् सामूहिक रूपमा सञ्चालन गरिएका हुन्छन् ।”
"विद्यालयभित्र वा बाहिर व्यक्तिगत वा सामूहिक रूपमा सञ्चालन गरिने निर्देशन र योजनाबद्ध शैक्षिक क्रियाकलापलाई पाठ्यक्रम मानिएको छ। सिकाइको यो प्रक्रिया जीवनपर्यन्त चलिरहने भएकाले पाठ्यक्रमले जीवनभर सिक्ने कुरालाई समेट्छ तर त्यो सिकाइ योजनाबद्ध र निर्देशित हुनुपर्छ । - जे.एफ. केर
पाठ्यक्रम भन्नाले उद्देश्य, लक्ष्य, विषयसूची, प्रक्रिया, स्रोत, मूल्यांकनका साधन आदिको बोध हुन्छ जसलाई विद्यालयभित्र, बाहिर, कक्षाकोठाको शिक्षण तथा सम्बन्धित कार्यक्रमद्वारा पूरा गर्न योजनाबद्ध रुपले लागू गरिएको हुन्छ । - सी.भी. गुड (C.V. Good)
"विद्यालयको भित्री र बाहिरी अवस्थामा अपेक्षित उपलब्धिहरु प्राप्त गर्न गरिने सम्पूर्ण प्रयासलाई नै पाठ्यक्रम भनिन्छ ।" - सेलर एन्ड अलेक्जेन्डर (Saylor and Alexander)
पाठ्यक्रम विद्यालयको निर्देशनमा विद्यार्थीहरुले प्राप्त गर्ने सम्पूर्ण अनुभवहरुबाट निर्मित भएको हुन्छ । पाठ्यक्रम सिकाइ अनुभवको योजना हो । - क्यासवेल र क्याम्पबेल
विद्यालय अन्तर्गत सिकारुहरूले प्राप्त गर्ने सम्पूर्ण अनुभवलाई पाठ्यक्रमको रुपमा लिइन्छ । - रोनाल्ड डल (Ronald Doll)
पाठ्यक्रम भनेको पाठ्यसूचीहरुको एउटा संगठित योजना र क्रियाकलापहरुको प्राप्तिमा प्रयोग गरिने उद्देश्यहरु र सिकाइ अनुभवहरु हुन् । - अरविन्दा चन्द्र (Arvinda Chandra)
विद्यालयको निर्देशनभित्र रही सिकारुले प्राप्त गर्ने सम्पूर्ण अनुभवहरु पाठ्यक्रम भित्र समावेश हुन्छन् । - मोसे
पाठ्यक्रम भन्नाले उद्देश्य, लक्ष्य, विषयवस्तु, प्रक्रिया, स्रोत, मूल्यांकनको साधन आदि भन्ने बुझिन्छ । - शिक्षा शब्दकोश
शैक्षिक उद्देश्य प्राप्तिका निमित्त योजनाबद्ध रुपमा विद्यालयहरुबाट निर्दिष्ट भई सिकेका सबै प्रकारका अनुभवहरु नै पाठ्यक्रम हो । - टायलर (Tyler)
शैक्षिक कार्यक्रमहरु पूरा गर्न विकासात्मक, सन्देशात्मक, सामाजिक, आध्यात्मिक र नैतिक साधनका रुपमा विद्यालय भित्र र बाहिर हुने सिकाईका अनुभवहरु समावेश गरिएको कार्यक्रम नै पाठ्यक्रम हो । - क्रो एन्ड को (Crow and Crow)

पाठ्यक्रमको उद्देश्य

- शिक्षणसिकाइ पश्चात् विद्यार्थीहरुमा विकास गरिनुपर्ने ज्ञान, सीप, धारणाहरुसम्बन्धी अपेक्षित प्रतिफल वा परिवर्तनलाई उद्देश्य भनिन्छ । अर्थात् शैक्षणिक क्रियाकलापको अन्त्यमा अपेक्षा गरिएको प्रतिफललाई नै उद्देश्य सक्षमता भनिन्छ ।
- शैक्षणिक कियाकलापको अन्तमा आशा गरिने प्रतिफललाई उद्देश्यका रूपमा प्रस्तुत गरिएको हुन्छ । पाठ्यक्रममा निर्धारित उद्देश्यका आधारमा शैक्षणिक कियाकलाप हुने भएकाले यसलाई शैक्षिक कियाकलाप कार्यक्रमको प्रारम्भिक बिन्दु भनिन्छ । पाठ्यक्रममा सम्बन्धित विषयका उद्देश्यहरूलाई मूलतः साधारणविशिष्ट उद्देश्य गरी दुई प्रकारमा प्रस्तुत गरिएको हुन्छ ।

साधारण उद्देश्य

साधारण उद्देश्यहरू ज्ञान, सीप प्राप्त गर्ने उद्देश्य हुन र यस्ता साधारण उद्देश्यमा विशेष पक्ष किटान गरिएको हुँदैन । कुनै
विषयको अन्त्यमा प्राप्त हुने शैक्षिक उपलब्धि/उद्देश्यहरुलाई साधारण उद्देश्य भनिन्छ । साधारण उद्देश्यलाई लामो समयको अन्तराल पश्चात् वृहत रुपमा प्राप्त हुने उद्देश्यको रुपमा लिइन्छ। साधारण उद्देश्यको मापन गर्न सकिदैन ।

विशिष्ट उद्देश्य

विशिष्ट उद्देश्य भनेका मापन र अवलोकन गर्न सकिने उद्देश्यहरू हुन् । यो-यो यस्ता यस्ता ज्ञान, सीप प्राप्त गर्न सक्नेछन् भनेर स्पष्ट रूपमा किटान गरिएका उद्देश्य विशिष्ट उद्देश्य हुन् । कुनै पाठ वा पाठ्यवस्तुको वा शिक्षणसिकाइको अन्त्यमा प्राप्त हुने व्यवहारिक उद्देश्यलाई विशिष्ट उद्देश्य भनिन्छ । विशिष्ट उद्देश्यहरु मापन गर्न सकिने हुन्छन् ।
- शिक्षाका राष्ट्रिय उद्देश्य, तहगत उद्देश्य कक्षागत उद्देश्य र विषयगत उद्देश्य पूरा गराउन पाठ्यक्रमका उद्देश्यले सघाउनु पर्छ ।
- पाठ्यक्रमका उद्देश्यले नै शिक्षक तथा विद्यार्थीका क्रियाकलापहरलाई नियन्त्रण र व्यवस्थित गर्दछ । हरेक शिक्षकले आफुले शिक्षण गर्ने विषयका विषयगत उद्देश्यहरूका वारेमा विशेष ख्याल गर्नु पर्दछ ।
- पाठ्यक्रममा निर्धारित उद्देश्यले बालकको ज्ञान, सीप र धारणा, तिनले गर्ने परिवर्तन, तिनको सान्दर्भिकता र उपयुक्तता तथा शैक्षिक क्रियाकलापको उपलब्धिका बारेमा सङ्केत गरेको हुन्छ ।
- "उद्देश्यको ज्ञानविनाको शिक्षक आफू पुग्ने स्थान थाहा नभएको एउटा माझी जस्तै हो भने, विद्यार्थीचाहिँ समुद्री छालले जुनसुकै किनारामा बगाउने एक बहानाविहीन डुगा जस्तै हो ।" - बी.डी. भाटिया (B.D. Bhatia)
पाठ्यक्रमको क्षेत्र तथा क्रम
पाठ्यक्रमको क्षेत्र (Scope) भन्नाले विद्यार्थीको तह, रुचि र सक्षमताअनुसार तय गरिएको शैक्षिक विषयवस्तुको दायरा हो । विषयक्षेत्र भन्नाले पाठ्यक्रम वा यसको कुनै अङ्गले समेट्ने सम्पूर्ण तथ्य एवं क्रियाकलापको अनुभवको विस्तार र किसिम भन्ने बुझ्नुपर्दछ । विद्यार्थीको तह, कक्षा, स्तर, उमेर, शैक्षिक उद्देश्य आदि पाठ्यक्रमको क्षेत्र निर्धारणको मूल आधार हो ।
पाठ्यक्रमको क्रम भन्नाले विद्यार्थीहरूलाई दिइने शैक्षिक अनुभव तथा शिक्षणसिकाइका लागि छनोट गरिएका विषयवस्तुहरूको सिलसिला तथा सङ्गठनात्मक क्रम हो । अर्थात् शिक्षण सिकाइका लागि छानिएका विषयवस्तुको क्रमब सङ्गठन नै क्रम (Sequence) हो ।
पाठ्यक्रममा विषयवस्तुको क्षेत्रको छनोट भइसकेपछि सिकाइका सूत्रहरूको आधारमा विषयवस्तुलाई सरलबाट जटिलतर्फ, पूर्णबाट अंशतर्फ, ज्ञातबाट अज्ञाततर्फ, मूर्तबाट अमूर्ततर्फ सङ्गठित गरिएको हुन्छ । त्यस्तै पूर्वज्ञान सिकाइ, विषयवस्तुको गहनतालाई क्रम मिलाएर पाठ्यक्रममा विषयवस्तु तथा सिकाइअनुभवहरू सङ्गठित गरिएका हुन्छन् । यसरी पाठ्यक्रममा निर्धारित र निर्देशित विषयवस्तु एवम सिकाइ अनुभवहरू सङ्गठन गरिएको हुन्छ । साथै विषयवस्तुको क्षेत्र र क्रम एवम् विस्तृतीकरणसमेत दिएको हुन्छ । विषयवस्तुको क्षेत्र र क्रम तथा विस्तृतीकरणले सम्बन्धित विषयको विषयगत आधारभूत ज्ञानको सूची अवगत गराउँछ ।

पाठ्यक्रमका तत्वहरू

पाठ्यक्रमभित्र समावेश गरिएका विभिन्न पक्षहरूलाई पाठ्यक्रमका तत्त्व भनिन्छ । पाठ्यक्रमका तत्त्वमा विद्यालयले प्राप्त गर्न कोशिस गर्ने उद्देश्यहरू, उद्देश्य हासिल गर्न प्रदान गरिने अनुभवहरू, अनुभवलाई प्रभावकारी बनाउन गरिने सङ्गठन र उद्देश्यपूर्तिका लागि गरिने मूल्याङ्कन समेटिन्छन् । यस आधारमा पाठ्यक्रमका निम्नलिखित चार तत्त्व निर्धारण गरिएका छन् :

उद्देश्यहरू

शिक्षाका तहगत र कक्षागत उद्देश्यका आधारमा शैक्षिक योजना, क्रियाकलाप वा कार्यक्रम तयार पारिने हुँदा उद्देश्यकै आधारमा पाठ्यक्रमका अन्य तत्त्वहरू निर्माण हुन्छन् । त्यसैले उद्देश्य पाठ्यक्रमको सबैभन्दा महत्त्वपूर्ण तत्त्व हो । विद्यार्थीको रचि, आवश्यकता र क्षमताका आधारमा तहगत र कक्षागत उद्देश्य तयार पारिन्छ । विषयगत उद्देश्य तयार पारेपछि प्रत्येक कक्षामा त्यस विषयका लागि विषयवस्तु, शिक्षणविधि र मूल्याङ्कन प्रक्रिया निर्धारण गरिन्छ ।
पाठ्यक्रममा निर्धारित उद्देश्यले बालकको ज्ञान, सीप र धारणा, तिनले गर्ने परिवर्तन, तिनको सान्दर्भिकता र उपयुक्तता तथा शैक्षिक क्रियाकलापको उपलब्धिका बारेमा सङ्केत गरेको हुन्छ । उद्देश्यका आधारमा शैक्षणिक क्रियाकलाप हुने भएकाले यसलाई शैक्षिक क्रियाकलाप वा कार्यक्रमको प्रारम्भिक विन्दु मानिन्छ । उद्देश्यले कार्यक्रम सञ्चालनका लागि निर्देशन दिनुका साथै शिक्षक तथा विद्यार्थीका क्रियाकलापलाई नियन्त्रित र व्यवस्थित गर्छ । यसले शैक्षणिक क्रियाकलाप र शैक्षिक अन्तक्रिया गर्न प्रेरणा प्रदान गरी शिक्षण क्रियाकलापको प्रभावकारिताको मूल्याङ्कन गर्न सहयोग गर्दछ । पाठ्यक्रममा उद्देश्य तयार गर्नुअघि आवश्यकताको निदान गर्नुपर्छ । पाट्यक्रमको निर्माण गर्दा समाजको आवश्यकता, विद्यार्थीको मानसिक स्तर, अभिरुचि, क्षमता, आवश्यक उत्पादित जनशक्ति र समाजले राखेको अपेक्षाको बारेमा ध्यान पुर्‍याउनुपर्छ ।

विषयसूचीः

विद्यार्थीलाई दिइने ज्ञान, सीप र धारणाअनुरूपका विषयवस्तुको छनोटलाई विषयसूची भनिन्छ । पाठ्यक्रममा तयार पारिएका उद्देश्यका आधारमा विषयवस्तुको गहनता वा व्यापकताको छनोट गरी तिनको स्थानान्तरणका लागि उचित सङ्गठन पनि गरिन्छ । यस अर्थमा विद्यालयमा पढाइने विषयहरूको ज्ञान, सीप र धारणालाई सामञ्जस्यपूर्ण ढङ्गले प्रस्तुत गर्न तयार पारिएको विषयवस्तुलाई नै पाठ्यक्रम भनिन्छ । पाठ्यक्रमको उद्देश्यअनुरूप राष्ट्रले चाहेअनुसारको शैक्षिक जनशक्ति तयार नै पार्न शिक्षणसिकाइ गरी विद्यार्थीको व्यवहारमा परिवर्तन ल्याउने तत्त्व पनि विषयवस्तु वा विषयसूची नै हो ।
विषयसूचीमा विषयवस्तु र सिकाइ अनुभव समावेश गर्ने कुरामा शिक्षाशास्त्रीहरुबीच एकमत पाइँदैन । मानिसको शिक्षाप्रतिको सोचाइ, जनजीवनमा आएको परिवर्तन, विभिन्न ज्ञानको क्षेत्रमा आएको परिवर्तन, शैक्षिक प्रविधिको विकास, सामाजिक सांस्कृतिक परिवर्तन, औद्योगिकीकरण, सञ्चारको विकास, खोजअनुसन्धान, प्रजातान्त्रिक अभ्यास र विश्व परिस्थितिले पार्ने प्रभाव आदिका आधारमा पाठ्यक्रममा समयानुकूल विषयवस्तु समावेश गरिन्छन् ।
पाठ्यक्रममा विषयवस्तु छनोट गर्दा सम्बन्धित तह, कक्षा, विषयवस्तुको प्रकृति तथा सिकाइ उपलब्धिलाई आधार मानी छनोट गरेमा विषयवस्तु समस्यारहित, वस्तुपरक र व्यावहारिक हुन सक्छ । विषयवस्तुको छनोटमा विद्यार्थीको उमेर, क्षमता, स्वभाव, तल्लो तह र माथिल्लो तहबीच सामञ्जस्य, समाजको आवश्यकता र विद्यार्थीको अभिरुचिलाई पनि हेरिनुपर्छ । तहगत उद्देश्यका आधारमा सिकाइ उपलब्धि निर्धारण गरी विषयवस्तुको छनोट र सङ्गठन गर्नु राम्रो मानिन्छ ।
विषयवस्तुको क्षेत्र व्यापक हुने भएकाले कुन तहमा कति विषय समावेश गर्ने भन्ने कुरा विद्यार्थीको रुचि, क्षमता, स्तर, पूर्वज्ञान तथा पछिल्लो कक्षामा पढ्नुपर्ने विषयवस्तुका आधारमा निर्धारित हुन्छ । विषयको प्रकृतिका आधारमा पाठ्यवस्तुको गहनता वा व्यापकता छनोट गरी पाठ्यपुस्तकको क्षेत्र तथा क्रम निर्धारण गरिन्छ । पाठ्यक्रममा छानिने विषयवस्तु सामाजिक यथार्थअनुकूल, विद्यार्थीको आवश्यकता र रुचिअनुकूल र प्रभावकारी हुनुपर्छ ।

शिक्षणसिकाइ क्रियाकलाप विधिहरू:

उद्देश्यअनुसारका विषयवस्तु छनोट गरेपछि त्यसको प्रस्तुतीकरण गर्ने माध्यमलाई विधि भनिन्छ । प्रभावकारी ढङ्गबाट विषयवस्तु प्रस्तुत गर्न शिक्षक, विद्यार्थी, पाठ्यवस्तु तथा शैक्षिक सामग्रीको योजनाबद्ध र नियन्त्रित सम्बन्धबाट शिक्षणविधि चयन गरिन्छ । विषयवस्तुअनुसार शिक्षक वा विद्यार्थीलाई सक्रिय बनाई निर्धारित सिकाइ उपलब्धि हासिल गराउने माध्यम पनि शिक्षण विधि नै हो ।
शिक्षण विधि शिक्षणसिकाइ योजनाको महत्त्वपूर्ण अङ्ग भएकाले उपयुक्त शिक्षण विधिको छनोटबाट मात्र पाठ्यक्रमको उद्देश्य पूरा हुन सक्छ । शिक्षण विधि कक्षाको स्तर तथा विषयवस्तुको प्रकृतिका आधारमा चयन गरिने हुँदा साना कक्षाका लागि ठोस र वास्तविक जीवनसँग मेल खाने विषय र ठूला कक्षाका लागि शिक्षक केन्द्रित विधि प्रयोग गर्न सकिन्छ । सबै विषयका लागि एउटै विधि उपयुक्त नहुने हुँदा पाठ्यक्रममा कुन विषयका लागि कुन विधि र कुन शैक्षिक सामग्री प्रयोग गर्ने भन्ने कुरा उल्लेख गरिएको हुन्छ । सबै विद्यार्थीका लागि पनि एउटै विधि उपयुक्त हुने हुँदा विद्यार्थीको वैयक्तिक भिनताका आधारमा पनि विधि चयन गर्नुपर्दछ । शिक्षकको अध्यापन, कौशल, विद्यालयको भौतिक सुविधा, शैक्षिक वातावरण र विद्यार्थीको सिकाइप्रतिको तत्परताको आधारमा शिक्षणविधि चयन गरिन्छ । विद्यार्थीको उमेर, परिपक्वता, क्षमता, पूर्व अनुभव, पाठप्रतिको आकर्षण, विषयवस्तुको सरलता, जटिलता, कठिनाइ स्तर, उपलब्ध समय, सैद्धान्तिक एवम् व्यावसायिक पाठ्यवस्तु आदि शिक्षणविधि बनोटमा प्रभाव पार्ने तत्व हुन् । शिक्षणविधिको प्रभावकारिता कक्षागत अन्तरक्रियामा निर्भर रहने हुँदा सही र सफल विधिको प्रयोगबाट मात्र शिक्षण प्रभावकारी हुन्छ ।

मूल्याङ्कन:

शैक्षिक कार्यक्रमको समाप्तिपछि उद्देश्य पूरा भए नभएको लेखाजोखा गर्न गरिने कार्य मूल्याङ्कन हो । कुनै तहका विद्यार्थीले प्राप्त गर्नुपर्ने ज्ञान, सीप, धारणा प्राप्त भयो या भएन भन्ने कुरा मूल्याङ्कनपछि मात्र थाहा हुन्छ । औपचारिक शिक्षामा मूल्याङ्कनबाट कक्षोन्नति पनि गरिन्छ । मूल्याङ्कनबाट शैक्षिक प्रक्रियाका कमीकमजोरी पत्ता लाग्ने हुँदा आवश्यक सुधार गर्न पनि मद्दत मिल्दछ ।
मूल्याङ्कन विभिन्न प्रकारका हुन्छन् । पठनपाठन सँगसँगै विद्यार्थीको मूल्याकन गरी आवश्यक सुधार गरिन्छ भने त्यसलाई निर्माणात्मक मूल्याङ्कन भनिन्छ । यसमा अवलोकन, अभिलेख निर्माण, अनौपचारिक छलफल, अभिभावकसँग छलफलजस्ता उपाय अपनाइन्छ र शैक्षिक सामग्री र शिक्षण क्रियाकलापका कमीकमजोरी हटाउन आवश्यक सुधार गरिन्छ ।
शैक्षिक सत्रका अन्त्यमा कक्षोन्नती गर्न लिइने परीक्षालाई निर्णयात्मक मूल्याङ्कन भनिन्छ । यसमा विद्यार्थीले आफ्ना कमी कमजोरी सुधार्ने मौका पाउँदैनन् । लिखित परीक्षा, मौखिक परीक्षा, अवलोकन, व्यक्तिगत विवरण, अन्तर्वार्ता आदिका माध्यमले विद्यार्थीको निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कन गरी शिक्षण प्रक्रियामा समेत आवश्यक सुधार गरिने भएकाले मूल्याङ्कन पाठ्यक्रमको एक अनिवार्य तत्त्व हो ।

पाठ्यक्रम निर्माण गर्दा उपलब्ध ज्ञानको स्रोतको प्रयोगका पक्षहरू

१. तथ्यः मानव विचारको विकासको मूल आधार तथ्य नै भएकाले पाठ्यक्रमले तथ्यको शिक्षण हुने व्यवस्था मिलाउनुपर्दछ ।
२. धारणाः वस्तु घटना र प्रक्रियाहरूलाई सङ्गठित गर्ने अमूर्त विचार धारणा हो । पाठ्यक्रम निर्माण गर्दा सही स्थायी र प्रयोग गर्न सकिने धारणालाई आधार मान्नुपर्दछ ।
३. सिद्धान्तः सिद्धान्त भनेको कुनै पनि विषयप्रतिको ठोस दृष्टिकोण हो । पाठ्यक्रम कुनै न कुनै सिद्धान्तमा आधारित हुने भएकाले पाठ्यक्रम विकास गर्दा समय र परिस्थितिअनुसार ज्ञानलाई कुन सिद्धान्तका आधारमा शिक्षण गर्ने भन्ने कुरा निर्धारण गर्नुपर्छ ।
४. सामान्यीकरणः के गर्दा के हुन्छ भन्ने सामान्य सम्बन्धका आधारमा गरिने भविष्यवाणीहरू सामान्यीकरण भित्र पर्छन् । सामान्यीकरणलाई एउटा महत्वपूर्ण विचार पनि मानिन्छ । विद्यार्थीहरूमा कस्तो ज्ञान प्रवाह गर्दा उनीहरूमा सामान्यीकरणको विकास गर्न सकिन्छ भन्नेबारे पाठ्यक्रम निर्माण गर्दा सधैं ध्यान पुयाउनुपर्ने हुन्छ ।
५. विधि वा तरिकाः कार्य गर्ने तौरतरिका विधि भएकाले यसको मुख्य आधार तथ्य हो । तथ्यहरूका आधारमा आधारभूत ज्ञान प्राप्त गरेपछि त्यसको प्रयोगको तरिका निर्धारण गर्न सजिलो हुन्छ । तसर्थ ज्ञानलाई प्रयोग गर्ने विधि पनि पाठ्यक्रममा समावेश गरिनुपर्छ ।
६. प्रक्रियाः ज्ञानलाई पूर्णता दिनका लागि प्रक्रियाको आवश्यकता पर्छ । त्यस्तै ज्ञानको एउटा तह पूरा नगरी अर्को तहमा जान कठिन हुन्छ । तसर्थ पाठ्यक्रममा ज्ञानको निर्धारण गर्दा प्रक्रियाहरूलाई पनि आधार मान्नुपर्छ ।
७. मापदण्डः ज्ञानको आआफ्नो सीमा हुने भएकाले पाठ्यक्रममा तहअनुसारको ज्ञानको सीमा निर्धारण गरिएको हुन्छ । यसका साथै ज्ञानको मापन गर्ने मापदण्ड पनि पाठ्यक्रममा निर्धारण गरिनुपर्छ ।

पाठ्यक्रम विकासमा प्रभाव पार्ने तत्त्वहरू

पाठ्यक्रम शैक्षिक क्रियाकलापको दस्तावेज भएकाले समाजको प्रकृति, विज्ञान तथा प्रविधिको विकास, समाजको चाहना तथा राजनीतिक परिवर्तन जस्ता तत्त्वहरूले पाठ्यक्रम निर्माणमा प्रभाव पार्दछन् । पाठ्यक्रम विकासमा प्रभाव पार्ने तत्त्वहरू निम्नलिखित छन्:
१. विद्यार्थी:
विद्यार्थी सम्पूर्ण शैक्षिक प्रक्रियाका केन्द्र हुन् र यिनका शैक्षिक आवश्यकता पूर्तिबाट नै राष्ट्रको आवश्यकता पूरा हुन्छ । पाठयक्रम र बालबालिका एउटै प्रक्रियाका दुई पक्ष हुन् । पाठ्यक्रम बालबालिकाका अभिव्यक्ति, आवश्यकता, क्षमता र मानसिक विकासका आधारमा तयार पारिने हुँदा विद्यार्थी विना पाठ्यक्रम नै बन्दैन । पाठ्यक्रम निर्माण गर्दा विद्यार्थीको खोज गर्ने, सिर्जना गर्ने, सञ्चार गर्ने र अभिव्यक्त गर्ने क्षमता विचार गरिनुपर्छ । पाठ्यक्रमको सङ्गठन तथा विषयवस्तुको क्षेत्र र क्रम निर्धारणमा पनि बालबालिकाको सिकाइ क्षमता विचार गर्नुपर्छ । पाठयक्रममा उद्देश्य तय गर्दा पनि विद्यार्थीको शैक्षिक आवश्यकतालाई ध्यान दिइन्छ । पाठ्यक्रम बालकको क्षमता र व्यक्तिगत भिन्नतालाई हेरेर उनीहरूको सर्वाङ्गीण विकास गर्न सकिने गरी बनाइने हुँदा विद्यार्थीले पाठ्यक्रम निर्माणमा प्रभाव पारिरहेका हुन्छन् । पाठ्यक्रम बालबालिकाको समसामयिक सामाजिक जीवनसँग सम्बन्धित हुने हुँदा विषयवस्तुको छनोट गर्दा उनीहरूको कक्षाको स्तर र सामाजिक सम्पर्कको क्षेत्र विस्तारमा सान्दर्भिकता महसुस गर्ने किसिमको विषय छनोट गर्नुपर्छ । यसरी विद्यार्थी पाठ्यक्रमको विकासमा प्रभाव पार्ने महत्वपूर्ण तत्त्व मानिन्छ ।
२. विद्यालय:
पाठ्यक्रम प्रयोग गर्ने ठाउँ विद्यालय हो । विद्यालयको शैक्षिक वातावरणले पाठ्यक्रम कार्यान्वयनमा प्रभाव पारेको हुन्छ । विद्यालयको शैक्षिक वातावरण भन्नाले योग्य तथा अनुभवी शिक्षक, भौतिक सुविधा, शैक्षिक सामग्री तथा उपकरणको पर्याप्तता र प्रयोगशाला तथा पुस्तकालयको उचित व्यवस्थापन भन्ने बुझिन्छ । विद्यालयमा यी सुविधा नभएमा सिकाई उपलब्धि हासिलमा बाधा पर्ने भएकाले विद्यालय पाठ्यक्रमको विकासमा प्रभाव पार्ने तत्त्व हो । पाठ्यक्रम कार्यान्वयन गर्ने जिम्मा शिक्षकको हो, त्यसैले शिक्षकमा दक्षता र योग्यता नभएमा, स्थायित्व र पेसागत सुरक्षा नभएमा, शैक्षिक वृत्ति, तालिम र उचित मूल्याङ्कन नभएमा पाठ्यक्रमको सही कार्यान्वयन हुन सक्दैन जुन कार्य विद्यालयको जिम्मेवारीभित्र पर्छ । विद्यालयले शिक्षकलाई अनुभव सङ्गठित गर्ने र पुनर्ताजगीकरण गर्ने मौका दिनुपर्छ । कहिलेकाही पेसाको सुरक्षा नहुँदा र सुविधा अपर्याप्त हुँदा पनि पाठ्यक्रमअनुसार अध्यापन नहुने भएकाले विद्यालयले विद्यालयको क्षमता र शिक्षकको दायित्वबोध गराउनुपर्छ ।
विद्यालयको भौतिक सुविधा पर्याप्त नभएर पनि पाठ्यक्रम कार्यान्वयनमा असर पर्ने भएकाले विद्यालयमा कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला, खेलमैदान आदिको राम्रो व्यवस्था गरी विद्यार्थीलाई कक्षा कोठाभित्र र बाहिरका शैक्षिक क्रियाकलापमा सहभागी गराउन सकिन्छ । यसर्थ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा विद्यालयको शैक्षिक वातावरण, शिक्षकका सर्त सुविधा र भौतिक सुविधाले पनि प्रभाव पारेको हुन्छ ।
३. विषयक्षेत्र वा विधा:
विषयसँग सम्बन्धित तथ्य, सूचना, धारणा तथा सिद्धान्तका भण्डारलाई विषयक्षेत्र भनिन्छ । यहीँ विषयक्षेत्रबाट विद्यार्थीको आवश्यकताअनुसार पाठ्यक्रम तयार गरिन्छ । ज्ञानको भण्डारकै आधारमा विषयवस्तुको गहनता र व्यापकता निर्धारण गरिन्छ र सोही आधारमा शिक्षणविधिहरू चयन गरिन्छ। पाठ्यक्रममा ज्ञानको नवीनतम विकासलाई समेटिन्छ । त्यसैले पाठ्यक्रममा मानवीय खोज, अनुसन्धान, सोँचाइ, सामाजिक सम्बन्ध र व्यवहारको समसामयिक धारणा समेटिनुपर्छ । यसर्थ ज्ञानको कुनै पनि विधाअन्तर्गत भएको विकासलाई पाठ्यक्रममा समावेश गरिनुपर्ने भएकाले विषयक्षेत्र वा विधाले पनि पाठ्यक्रम विकासमा असर पार्छ ।
४. सिकाइप्रक्रिया:
पाठ्यक्रममा विद्यार्थीले सिक्ने प्रक्रिया, सिकाइ दिगो राख्ने र प्रभावकारी बनाउने प्रक्रिया र स्तरीय अनुभव प्रदान गर्ने प्रक्रिया उल्लेख गरिएको हुन्छ, जसलाई समग्रमा सिकाइ प्रक्रिया भनिन्छ । सिकाइ प्रक्रियामा भएका विभिन्न प्रयोगले धेरै विषय छोटो समयमा सिकाउन सम्भव हुने हुँदा विद्यार्थीहरूलाई सिकाइप्रति रुचि जगाउन सिकाइ प्रक्रिया माथि ध्यान पुर्‍याउनुपर्छ । सिकाइप्रक्रियाका आधारमा विषयवस्तु र विधि छनोट गरिन्छ । प्रयोग गर्न सकिने शिक्षणविधि, बालकको मानसिक विकास र सामाजिक वातावरणमा अन्तरक्रियाले पाठ्यक्रमको उद्देश्य निर्माण, विषयवस्तु चयन तथा सङ्गठन र शिक्षणविधि निर्धारण गर्छन् । विभिन्न कक्षाका एउटै विषय पढाउन भिन्न विधि प्रयोग गरिए जस्तै एउटै कक्षाका भिन्नभिन्न क्षमताका विद्यार्थीलाई सिकाउन पनि विभिन्न विधि प्रयोग गर्नुपर्छ । यसरी सिकाइ प्रक्रियामा विविधता ल्याइएन भने पाठ्यक्रमका सबल पक्ष पनि कार्यान्वयन नहुने भएकाले सिकाइ प्रक्रियालाई पाठ्यक्रमको विकासमा प्रभाव पार्ने महत्त्वपूर्ण तत्त्व मानिन्छ ।
५. समुदाय:
समुदायका शैक्षिक आवश्यकता पूरा गर्न विद्यालय स्थापना गरिएको हुनाले समुदायका विभिन्न परिवारका बालबालिकाको आकांक्षा पूरा गर्न विद्यालयले सकारात्मक भूमिका खेल्नुपर्छ । पाठ्यक्रमले समुदायको परिवर्तन गर्न सक्नुपर्छ । पाठ्यक्रमको उद्देश्य समुदायको स्रोत र साधनको सदुपयोग गरी समाजको आवश्यकताअनुसार जनशक्ति तयार गर्ने हुनुपर्छ । पाठ्यक्रम समुदायको हित विपरीत भएमा त्यसलाई समुदायले नस्वीकार्ने भएकाले पाठ्यक्रममा समुदायका आवश्यकता समेटिनुपर्छ । समुदायको विकासका लागि पाठ्यक्रममा स्थानीय स्रोत र साधनको प्रयोगसम्बन्धी विषय समेट्नुपर्छ । पाठ्यक्रममा समुदायका पेसा, परम्परा, मान्यता आदिलाई स्थान दिनुपर्छ भने समुदायमा आउने परिवर्तनका आधारमा पाठ्यक्रममा पनि परिवर्तन गर्नुपर्छ । यसका लागि राष्ट्रले समाजमा आउने परिवर्तन अध्ययन गरी तिनलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ । समुदाय पनि पाठ्यक्रमको निर्माण र विकासमा प्रभाव पार्ने तत्त्व हो ।
६. समकालीन समाज:
एउटै उद्देश्यमा सङ्गठित भई व्यापक अन्तक्रियामा सहभागी हुने मानिसको समूह नै समाज हो । सामाजिक समूहसँग अन्तक्रिया गरेर मानिसले आफ्नो आवश्यकता पूरा गर्दछ । शिक्षा पनि सामाजिक संरचना भित्रको एउटा एकाइ भएकाले त्यसले बालबालिकालाई सृजनशील र उत्पादनशील बनाउँछ । शिक्षा कुनै लक्षित समाजका लागि दिइन्छ । त्यसैले पाठ्यक्रम निर्माण गर्दा समकालीन समाजको वास्तविकता, संरचना र विकास प्रक्रिया, मूल्य-मान्यता र सामाजिक-आर्थिक अवस्थालाई विचार गर्नुपर्छ । शिक्षाले समाजको परिवर्तन गर्न सक्ने भएकाले पाठ्यक्रम निर्माण गर्दा सामाजिक शक्ति, सांस्कृतिक मान्यता, आर्थिक कारक, संस्कार, अनुशासन, मौलिकता र आधुनिकता जस्ता विविध तत्त्व समेटी समकालीन समाजको परिवर्तन गर्ने उद्देश्य राख्नुपर्छ । 
जनसङ्ख्या, विज्ञानप्रविधि, औद्योगिकरण, मानव अधिकार, प्रजातान्त्रिकरण आदिले समाज जटिल बन्दै जान्छ । पाठ्यक्रममा पनि समाजलाई परिवर्तन गर्ने कारक तत्त्वको खोजी गरी आधुनिकतातर्फ उन्मुख गराउने विषयवस्तु राखिनुपर्छ । त्यस्तै समाजको परिवर्तन गरी अन्तर्राष्ट्रिय स्तरमा पुयाउन पनि समाजको परिवर्तनअनुसार पाठ्यक्रम परिवर्तन गर्नुपर्छ । समाजमा शिक्षाप्रतिको चेतना बढेमा शिक्षाका लगानी र जनसहभागिता बढ्छ । यसले शिक्षा गुणात्मक बनी उत्पादित जनशक्तिले असल व्यवसाय छनोट गर्न सक्छन् । यसका लागि पाठ्यक्रममा सामाजिक शक्ति, सामाजिक संस्कृति, सामाजिक आवश्यकता र आर्थिक विकासका पक्ष समेटिनुपर्छ । पाठ्यक्रम समाजदेखि भिन्न हुन नसक्ने भएकाले पनि समसामयिक समाजले पाठ्यक्रम निर्माण र विकासमा प्रभाव पार्छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top