पाठ ३: घनघस्याको उकालो काट्ता - तारानाथ शर्मा (नेपाली कक्षा १२)

0

पाठ ३: घनघस्याको उकालो काट्ता - तारानाथ शर्मा (नेपाली कक्षा १२)
पाठ ३: घनघस्याको उकालो काट्ता - तारानाथ शर्मा (नेपाली कक्षा १२)

(toc)

पाठ

विक्रम संवत् २०२४ पुसको अन्तिम हप्तामा म महाकाली अञ्चलमा थिएँ । मेरो जन्म मेची अञ्चलमा भएको थियो । म सुदूरपूर्वको इलामे शरीर बोकेर सुदूरपश्चिमको बैतडीबाट डँडेलधुरातर्फ हिँडेको थिएँ ।

म नेपाललाई माया गर्ने राष्ट्रवादी मान्छे हुँ र मेरो राष्ट्रको हरेक भागलाई म उत्तिकै स्नेहसित मुटुमा सँगाल्छु । म खप्तडमा वसन्त बिताउन चाहन्छु, तुम्लिङमा हिउँ खेल्न चाहन्छु र राजापुरको काँसे घारीमा झ्याउरे गाउन चाहन्छु । मलाई तिल्केनीको उकालो, घनघस्याको उकालो र चन्दनीको उकालोसित जति प्रेम छ उति नै प्रेम अघोरी गाड, पुवा खोला र टुकुचासित छ । सतबाँझको लेक होस् वा ट्याम्के डाँडो होस्, अन्तु डाँडो होस् वा चन्द्रागिरि होस् जहाँ पनि उस्तै पाराको आफ्नोपनले मेरो मुटु ढुक्ढुक्याउँछ । जीवनमा कति उकाला काटियो होला र कति ओराला झरियो होला तर थोरै व्यक्तिले मात्र घनघस्याको उकालो चढेका होलान् । यो यस्तो उकालो हो जो कठोरतामा अद्वितीय छ । अघोरी गाडदेखि उकालिन थालेको यो डाँडो सहारा मरुभूमिको तिर्खालाई बिर्साउँछु भने झैँ तपाईँतिर हेरेर खिस्स हाँस्छ । संसारले अनेकौँ काँचुली फेरिसक्यो, देशका अरू भागले हजारौँ नयाँ दृश्य देखिसके तर यो उकालो अनन्तदेखि उस्तै छ । युगहरू बिते र समयले टाप लगायो तर घनघस्याको उकालो उत्तिकै घोसेमुन्टो लगाएको लगाएकै छ ।

टाउकामा चिप्लो न चिप्लो बरफको केश फुलाएर आफ्नो अररो वृद्ध शरीरमा काला रुखहरूको जिङ्ग्रिङे भुत्ला ठड्याई यो घनघस्या गजधुम्म परेर बसेको छ । यो मान्छेसित रिसाएको छ, अग्घोरै रिसाएको छ, अघोरी गाड जत्तिकै रिसाएको छ अनि पोखरेली सेती जत्तिकै रिसाएको छ । सेती नदी पृथ्वीको पेटमा भासिँदै जाओस्, यो चाहिँ ठडिएको ठडियै छ । यसले कहिल्यै त टाउको झुकाउला कि भनेर मैले निरीक्षण गरिहेरेँ तर त्यस्तो लक्षण कतै भेटिएन । उल्टो यो झन् झन् दृढ हुँदै गइरहेको पो मैले पाएँ ।

प्रकृतिसित जुध्नु नै जीवनको रमाइलो हो भन्ने भावलाई ह्याकुलाले छोपेर नै म सुदूरपश्चिमको भ्रमणमा निक्लेको थिएँ । बैतडीको शाहीलेकमा अवस्थित विद्यालय भवनमा दुई रात बसेपछि डँडेलधुरा जान तम्सिँदा भरिया पाइएन । नौ बजे भात खाएर हिँड्न तयार भएका हामी चार जना व्यक्ति साढे दश बजेसम्म वाल्ल परेर दुई भरियाको खोजमा यता र उता दुगुर्दै नै थियौँ । 
झट्ट मलाई सहायक अञ्चलाधीशको सम्झना भयो । हामी दुगुर्दै सहायक अञ्चलाधीशलाई भेट्न माथि बैतडी बजारतर्फ गयौँ । सहायक अञ्चलाधीश यमुनाराज पौड्यालज्यूले तत्कालै दुई जना मानिसलाई बोलाएर सत्र सत्र रुपियाँमा पाटनसम्म भारी बोक्न मिलाइदिनुभयो । ११ बजे हामी दशरथ चन्दको सालिकलाई श्रद्धाका दुई थोपा आँसु चढाएर सतबाँझको लेकतर्फ उकालियौँ । 
बाटामा एउटा रमणीय ठाउँ भेटियो । देब्रेपट्टि पर्खालले घेरेको ढिस्कामा राम्रो मन्दिर थियो, जसको छानाको मर्मत हुँदै थियो । पर्खालबाहिर फलामे साङ्लीको अग्लो पिङ थियो । त्यसमा मच्चिएर मैले उत्तर पश्चिमतिरका हिमचुचुरा देखेँ । सात आठ पसल थिए, जसका वरिपरि भेडाका बथान नुन र चामलका बोरा बोकेर उग्राइरहेका थिए । ठाउँ ठाउँमा बारी थिए, वन थिए र चरनहरू थिए । गाई चराउँदै गोठाला गोठाल्नी विरहलाग्दा गीत कुर्लिरहेका भेटिन्थे । आउने जाने मान्छेका समूह पनि प्रशस्तै देखिन्थे । धेरैमाथि पुगेपछि हिउँले ढाकेको पाखो देखियो । 
नेपाल हिमाली मुलुक हो तापनि धेरैजसो नेपालीले हिउँ कुल्चन पाएका हुँदैनन् । मैले २००१ सालको विशाल हिउँ वर्षा हुँदा फिक्कलमा हिउँमा खेल्नबाहेक र दार्जिलिङमा एक दुई पटक हिउँ फुस्फुसाएको देखेबाहेक हिउँको राम्रो परिचय बेलायतमा मात्र पाएको थिएँ । बेलायती हिउँभन्दा सतबाँझका लेकको हिउँ बेग्लै थियो । यो हिउँ मेरो थियो, मेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो । 
मेरा साथी प्रेमबहादुर प्रधान र म यस हिउँमा निकै बेरसम्म खेल्यौँ । कहिले चिप्ली खेल्दै कहिले हिउँका डल्लाले एक अर्कालाई हिर्काउँदै र कहिले हिउँका रमाइला थुप्रामा आकृति बनाउँदै र लेख्दै हामीले सतबाँझमा समयलाई जिस्क्यायौँ । डाँडामा पुगेर पूर्वतर्फ दृष्टिपात गरेपछि पो हामीलाई थाहा भयो, हामीले सतबाँझलाई छोडेर धेरै टाढा जानु रहेछ । जीवन एउटा नटुङ्गिँदो यात्रा रहेछ । जतिसुकै प्यारो लागे पनि सतबाँझ जस्ता रमणीय स्थानलाई छाड्नुपर्दो रहेछ । ओरालो झरेर तेर्सैतेर्सो बाटो हामी हिँडिरह्यौँ, हिँडिरह्यौँ । 
सल्लैसल्लाको घारीको मध्य भागबाट हिँडेपछि एउटा चौतारो आइपुग्यो । झमक्क साँझ परिसकेकाले तल जङ्गलमुनिको टार अलेलि मात्र देखिन्थ्यो । पहाडबाट झर्दा मधेस पुग्ने वेलाको झैँ दृश्य थियो त्यो । वास नपाइएला भनेर भरियाहरू र दुई साथीलाई त्यहीँ छाडी प्रधान र म ओरालो दुगुर्‍यौँ वासको व्यवस्था गर्न । 
फेदीमा जङ्गल सकिएपछि रमाइलो विशाल चउर आइपुग्यो । त्यसै चउरलाई पाटन भन्दा रहेछन् । फट्याकफुटुक घरहरू देखा परे । बाटामा घरेलु विभागका एक कर्मचारीसँग भेट भयो । कास्कीतिरका ती व्यक्तिले अरूतिर बस्ने ठाउँ पाइँदैन भनेर आफ्नै डेरातिर लगे । डेरामा काठमाडौँ घर भएका दाह्री नै दाह्रीले ढाकिएका स्वास्थ्य केन्द्रका कर्मचारी पनि रहेछन् । ती दुई दयालु सज्जनका पाहुना भएर हामी उनीहरूकै दालभात खाई त्यस रात राम्ररी सुत्यौँ । 
भोलिपल्ट ती भरियाहरू डँडेलधुरा जान मानेनन् । सहायक अञ्चलाधीशले पाटनका प्रधानपञ्चलाई भरिया बन्दोबस्त गर्न लगाउनुहोला भनेकाले खोज्दा खोज्दा साढे एघार बजेतिर मात्र प्रधानपञ्चसित भेट भयो । उनले दुई जना भरिया खोजिदिए तर त्यतिन्जेलमा दिउँसोको १२ बजिसकेको थियो । घरेलु विभागका कर्मचारीले भोलि मात्रै जानोस्, आज मरे पनि डँडेलधुरा पुगिँदैन भनेर जिद्दी गरे पनि हामी १२ बजे पाटनबाट हिँड्यौँ । 
ठिक दुई बज्दा त्यस दिन हामी तेर्सैतेर्सो हिँडेर अघोरी गाड पुगेका थियौँ । अघोरी गाडमाथि अग्लो पारेर तेस्र्याएको फलेकको साँघु तरेर हामीले टोपी खस्ने उकालामा पाइला राख्यौँ । डरलाग्दो जङ्गलले घेरिएको ढुङ्गेनी बाटाले मुटु ढक्क फुल्यो । यही थियो घनघस्याको विकट उकालो । 
मेरो शरीर अलिक मोटो भएकाले उकालो देख्नेबित्तिकै सातोपुत्लो उड्छ । तेर्सो र ओरालो बाटामा म निकै छिटो हिँड्न सक्छु तर उकालो भने मेरा लागि जेमराज जत्तिकै भयावह हुन्छ । म विवश थिएँ । मैले घनघस्या नकाटी भएको थिएन । पाटनका सहृदयी व्यक्तिहरूले दिएका दुई लाँक्रा उखु पहिले टेक्तै र पछि चबाउँदै हामी एकोहोरो उकालिइरह्यौँ, उकालिइरह्यौँ । 
जोगबनीदेखि धरानसम्मको अलकत्रे बाटालाई धिक्कार्दै र भादगाउँदेखि बाह्रबिसेसम्मको फराकिलो कालो बाटालाई सराप्तै हामी ठसठस कनिरह्यौँ । सिंहदरबार अगाडिको चिप्लो बाटो त्यहाँ थिएन, न त्यहाँ भैरहवाबाट बुटवल जाँदा जस्तो तेर्सो सोझो बाटो नै थियो । त्यहाँ त चुच्चे ढुङ्गाहरू पहरामा तेर्सिएका थिए काला रुखका छायामा कच्पल्टिएर । पसिनाले निथ्रुक्क भिजेर हामी छ जना अभागी आकाशतर्फ उचालिइरह्यौँ, उचाइलिइरह्यौँ । 
निल आर्मस्ट्रङहरूलाई त्यति फिटफिटी परेन होला किनभने चन्द्रमामा पुग्दा उनीहरूसित यथेष्ट वैज्ञानिक उपकरण उपलब्ध थिए । हामी भने पानीसमेत नपाएर रोयौँ । निकै माथि पुगेपछि दुइटा पानीका कुला भेटिँदा स्वर्ग पुगेको अनुभव भयो । मरुभूमिका यात्रीले एक्कासि मरुद्यान भेटे झैँ हामी फुलेल भयौँ ।
त्यत्ति हो, अरू पानी कतै भेटिएन । धेरै धेरै माथि हिउँ प्रारम्भ हुने ठाउँमा पो एउटा असाध्यै चिसो धारो रहेछ । बाटामा एक दुई ठाउँ घर भेटिए तर तिनमा मान्छे थिएनन् । धुरामा पुग्ने वेला तीन माइल जति बाटो जमिसकेको हिउँले ढाकिएको थियो ।
चसो धारामा पानी खाएपछि दुई भरिया लागे हिउँ नै हिउँको पहरातिर । म पनि तिनको पछि लागेँ । चिप्ला हिउँका ढुङ्गा खाली खुट्टाले टेक्दै रामसिंह भरिया र उसको भतिजो उकालिए । म तिनको सहनशीलता देखेर मक्ख पर्दै ठाउँ ठाउँमा चिप्लेर लड्दै तिनीहरूसित धुरातर्फ चढेँ । रामसिंह, उसको भतिजो र म टुप्पामा पुग्दा पाँच बजेको थियो । अरू साथीहरूको पत्तो थिएन ।
पूर्वपट्टि डँडेलधुरा कुइरामा कता हो कता चन्द्रमा जस्तै टाढा भएर बिलाएको थियो । उँधोतिर कहालीलाग्दो कालो जङ्गल थियो, जसलाई छिचोलेर एउटा खोलो तरेर एउटा उकालो चढेपछि मात्र डँडेलधुरा पुग्न सकिन्थ्यो ।
डरलाग्दा चितुवा र भालु लाग्ने पट्टेर जङ्गललाई सेतै ढाकेको हिउँमा खाली खुट्टाका औँलाले मान्छेको आकृति कोरेर रामसिंहले भन्यो, “आज डँडेलधुरा पुग्न सकिँदैन, पोखरातिर राती १२ बजेतिर सम्ममा पुगिएला ।”
डरलाग्दा चितुवा र भालु लाग्ने पट्टेर जङ्गललाई सेतै ढाकेको हिउँमा खाली खुट्टाका औँलाले मान्छेको आकृति कोरेर रामसिंहले भन्यो, “आज डँडेलधुरा पुग्न सकिँदैन, पोखरातिर राती १२ बजेतिर सम्ममा पुगिएला ।”
म चाहिँ साथीहरू हिउँमा हराए कि भनेर विचलित भएर कराएँ, “प्रेमबहादुर भाइ !”
प्रत्युत्तरमा हावा मात्र सुइ्ययँ गर्‍यो ।
“जाऊँ त कसरी जाऊँ, बसूँ त जाडाले सिध्याइसक्यो !” भन्दै मैले हिउँको ढिस्को थुपारेँ ।
बल्ल साढे पाँचतिर साथीहरूले जवाफ दिए तल भिरतिरबाट, “हामीले बाटो हरायौँ !”
हाम्रो आवाजलाई पछ्याउँदै साथीहरू डाँडामा निस्किसकेपछि मैले भनेँ, “आज डँडेलधुरा त कुनै अवस्थामा पनि पुग्न सकिँदैन रे । रामसिंह पोखरासम्म पुगिहालिन्छ कि भन्छ भने उसको भतिजो चाहिँ तल गोठतिर अलपत्रै सुत्ने कुरो गर्छ । त्यसैले छिटो हिँड्न नसक्ने साथी चाहिँ दुई जना भरियासित बिस्तारै आउनुहोस् । हामी तीन जना चाहिँ दुगुर्दै पोखरा जान्छौँ अनि बासगाँसको व्यवस्था मिलाउँछौँ । जस्तै अवस्थामा पनि र जति रात परे पनि तपाईँहरू अवश्य आइपुग्नुहोला ।”
मेरो योजना सबैलाई मन परेकाले प्रेमबहादुर प्रधान, एक जना साथी र म ओरालो कुद्यौँ । लड्दै पछारिँदै धेरै हिँडेपछि बाटो तेर्सियो र फेरि उकालियो । अनेकौँ ओराला र उकाला बाटा हिँड्दाहिँड्दै अँध्याराले झ्याप्पै छोप्यो । चोर, डाँका, भूत, प्रेत र जङ्गली जनावरका आक्रमणको आशङ्काले ढक्क भएको छातीलाई दुई हातले थिचेर हामी तीन जना एक प्राण र एक मुटु भएर दगुरिरह्यौँ ।
हामी यति पछारियौँ, भनेर साध्य छैन । हामीलाई यति तिर्खा लाग्यो, भनेर साध्य छैन । भोक, डर र बाटो बिरियो होला भन्ने आशङ्काले थुर्थ‘र हुँदै दश बजे रातीतिर एउटा डाँडामाथिको गाउँमा हामी पस्यौँ । निकै घरमा बोलाएपछि एउटाबाट थाहा पाइयो, बाटो बिरिएको रहेनछ । अनेकौँ घरमा प्रयत्न गरेपछि एउटा छाप्राकी खड्किनी मकै भुट्न तयार भइन् । लोग्ने परदेश लागेको रहेछ । तल्लो तलामा गाई बाख्रा थिए र माथ्लामा ससाना भन्ट्याङभुन्टुङ छोराछोरी यत्रतत्र पसारिइरहेका थिए । 
दियालाको छेस्को बत्ती जस्तै बालेर ती आइमाईले अँगेनामा बिट नभएको ताप्के जस्तो भाँडामा कुचाले चलाएर तीन घान मकै भुटिदिइन् । पैसा पहिले दिएपछि मात्र उनले मकै हाम्रा रुमालमा हालिदिइन् । प्रशस्त पानी लोहोटाबाट खाएर त्यो अमृत जस्तै मकै खाँदै हामी पोखरातिर लाग्यौँ ।
खड्किनीले भनेकी थिई, “बाटामी गाड पडन्छ ।”
साँच्चै नै बाटामा एउटा खोलो रहेछ । त्यहाँ मन ढक्क फुल्यो । खोलो वास्तवमा मसानघाट हो किनभने मरेका मानिसलाई खोलाकै किनारमा जलाउँछन् । त्यसै हुनाले खोलो भन्ने बित्तिकै दिउँसै पनि मेरो सातोपुत्लो उड्छ भने रातीको त कुरै भएन । त्यहाँबाट केही उकालो लागेपछि नै रमाइलो डाँडो टुप्लुक्क देखापर्‍यो जसमा बाटामा दुवैतिर पन्ध्रसोर ढुङ्गाले छाएका घर थिए । घर सबै बन्द थिए । एक दुई घरका बाहिरपट्टि सिकुवामा मान्छे सुतिरहेका थिए ।
मैले सोधेँ, “पोखरा कता पर्छ ?”
“यही हो !” एउटाले ओढ्ने भित्रैबाट भन्यो ।
“दोकान सबै थुनिएका छन् नि ? यहाँ कतै पनि वास पाइँदैन कि क्या हो ?” प्रेमबहादुर प्रधानले 
सोध्नुभयो ।
“दोकानमा राती कोही बस्दैनन् । दिउँसो बेचबिखन गरेर बेलुका ती गाउँतिर आफ्ना घरमा सुत्न जान्छन् । बरु अलिक पर्तिर जानोस्, एउटा पसले त्यहीँ सुत्छ । त्यहीँ वास पाइन सक्छ ।” त्यस मान्छेले ओढ्ने झिकेर हामीलाई राम्ररी नियाल्दै भन्यो ।
हामी अघि बढ्यौँ । साँच्चै नै एउटा घरभित्र लालटिन बलिरहेको हामीले देख्यौँ । ढोका निकै घचघच्याएपछि एउटा बुढाले ढोका उघारी लालटिन उचालेर हामीलाई हेर्दै सोध्यो, “रातीहुँदो के चाहियो ?”
मैले घडी हेरेँ, रातीको १२ बजेको रहेछ ।
“हामीलाई एक रातको वास चाहियो ।” मैले भनेँ ।
“यहाँ वास पाइँदैन ।” बुढाले ढोका ढप्क्याउन लागे ।
“त्यसरी निठुरी बन्न तपाईँ पाउनुहुन्न । हेर्नोस्, हामी टाढा पूर्वबाट आएका । वास नदिए पनि केही खानेकुरा भए दिनोस्, हामी किनेर खान्छौँ ।” प्रधानले भन्नुभयो ।
बुढासित खाने कुरो केही रहेनछ । चिउरा, मकै, चामल, आलु केही रहेनछ । ससाना सुन्तलाहरूले भरिएको एक डालो रहेछ ।
“कास्की पोखराका सुन्तला रहेछन् नि त तारा दाइ !” अर्का साथीले व्यङ्ग्य गर्नुभयो । हामीले दुई दुई रुपियाँका तिस तिस दाना जति ती चिचिले सुन्तला खायौँ । बुढाले कति गर्दा पनि त्यहाँ वास दिन मानेनन् । उसकै घरअगाडिको चिसो छानु ह्वाङ्गै भएको र फोहोरी कटेरो उनले देखाए । तिनैसँग दुई रुपियाँका तीन अँगाला दाउरा किनेर हामी आगो ताप्दै साथीलाई पर्खन लाग्यौँ ।
राती दुई बजे सास मात्र बाँकी राखेर भरियाहरू र साथी आइपुगे । रामसिंह र उनको भतिजो आगाको छेउमा पातलो तन्ना ओछ्याएर र हामी चार भाइ आआफ्ना सुत्ने थैलाभित्र पसी चिसो न चिसो ढुङ्गाको सिरानी लगाएर भोलि रमाइलो डँडेलधुरा पुग्ने स्वादिलो कल्पना गर्दै साढे दुई बजेतिर कच्पल्टिलो निद्रा सुत्यौँ ।

शब्दभण्डार

१. शब्द र अर्थको जोडा मिलाउनुहोस् :

शब्द             अर्थ
सुदूर                     शरीरबाट अलग हुने सर्पको पातलो छाला
स्नेह                     कहिल्यै अन्त नहुने
सँगाल्नुु             उत्तम, अतुलनीय
अद्वितीय             खोलो
सहारा मरुभूमि     धेरै टाढाको
दृष्टिपात             पर्याप्त, चाहिँदो, पुग्दो
काँचुली             अप्ठेरो, कठिन
अनन्त             जताततै
गाड                     डरलाग्दो
ढुङ्ग्यानी             कुनै कुरा जोगाएर राख्नु
विकट             माया, प्रेम
यथेष्ट                     ढुङ्गाढुङ्गै भएको
भयावह             हेर्ने काम, आँखाले ठम्याउने काम
                            विरहलाग्दो
                            संसारको एउटा ठुलो मरुभूमि

सुदूर – धेरै टाढाको
स्नेह – माया, प्रेम
सँगाल्नु – कुनै कुरा जोगाएर राख्नु
अद्वितीय – अतुलनीय
सहारा मरुभूमि – संसारको एउटा ठूलो मरुभूमि
दृष्टिपात – हेर्ने काम, आँखाले ठम्याउने काम
काँचुली – शरीरबाट अलग हुने, सर्पको पातलो छाला
अनन्त – कहिल्यै अन्त नहुने
गाड – खोलो
ढुङ्ग्यानी – ढुङ्गैढुङ्गा भएको
विकट – अप्ठेरो, कठिन
यथेष्ट – पर्याप्त, चाहिँदो, पुग्दो
भयावह – डरलाग्दो

२. शब्दकोशको सहायताले तलका शब्दको अर्थ लेख्नुहोस् :

अररो, अग्घोर, उग्राउनु, चरन, विरहलाग्दो, कुर्लनु, आकृति, सहृदय, मरुद्यान, यत्रतत्र

अररो – जाडाले कक्रिएको, अरट्ठ परेको
अग्घोर – ज्यादै, निकै
उग्राउनु – गाई, भैंसी आदि पशुले निलिसकेको घाँस, पराल आदि फेरि मुखमा फर्काई चपाउनु
चरन – गाईवस्तु चराउने बाँझो जमिन
विरहलाग्दो – दुःख लाग्दो
कुर्लनु – रिसले कराउनु
आकृति – कुनै वस्तु वा व्यक्तिको स्वरूप, आकार
सहृदय – कोमल हृदय भएको, दयालु
मरुद्यान – मरुभूमिको रसिलो जमिन
यत्रतत्र – जताततै, सबैतिर

३. तलका कुनै पाँचओटा टुक्काको प्रयोग गरी एक अनुच्छेदमा गाउँमा रहेका आफन्त वा साथीको घर जाँदाको संस्मरण लेख्नुहोस् :

ह्याकुलाले छोप्नु, रातोपिरो हुनु, निथ्रुक्क भिज्नु, फिटफिटी पर्नु, मक्ख पर्नु, कानमा तेल हाल्नु, हुरुक्क हुनु, नाक ठाडो पार्नु, हातमुख जोर्नु, श्री गणेश गर्नु, फत्ते गर्नु, दुनो सोझ्याउनु, लखतरान हुनु
उत्तरः

साथीको घर जाँदा

कक्षा ११ मा पढ्दा परियोजना कार्यका लागि म साथीको घर गएको थिएँ । घर डडेल्धुराको एक बिकट गाउँमा भएका कारण म हिडेर लखतरान हुँदै उस्को घर गएको थिए । अचानक बाटामा मेघ गर्जंदै पानी परेर म निथ्रुक्क भिजें । म उस्को घर आएको थाहा पाएर उसले गर्वले नाक ठाडो पायो । खाजा खाएर साथी र मैले परियोजना कार्य फत्ते गयौँ ।

४. पाठमा प्रयोग भएका निम्नलिखित स्थानीय भाषिका तथा कथ्य बोलीको सही रूप लेख्नुहोस् :

बाटामी – बाटामा
गाड – खोला
पर्तिर – परतिर
पडन्छ – पर्छ
अलेलि – अलिअलि
जेमराज – यमराज


बोध र अभिव्यक्ति

३. पाठको दोस्रो अनुच्छेदमा उल्लेख भएका स्थानको सूची बनाउनुहोस् ।
उत्तरः खप्तड, तुम्लिङ, राजापुर, तिल्केनी, घनघस्या, चन्दनी, टुकुचा, सतबाँझ, ट्याम्के डाँडो, अन्तु डाँडो, चन्द्रागिरि, अघोरी गाड, पुवा खोला

४. तलको नियात्रांश पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :

टाउकामा चिप्लो न चिप्लो बरफको केश फुलाएर आफ्नो अररो वृद्ध शरीरमा काला रुखको जिङ्ग्रिङे भुत्ला ठड्याई यो घनघस्या गजधुम्म परेर बसेको छ । यो मान्छेहरूसित रिसाएको छ, अग्घोरै रिसाएको छ, अघोरी गाड जत्तिकै रिसाएको छ अनि पोखरेली सेती जत्तिकै रिसाएको छ । सेती नदी पृथ्वीको पेटमा भासिँदै जाओस्, यो चाहिँ ठडिएको ठडियै छ । यसले कहिल्यै त टाउको झुकाउला कि भनेर मैले निरीक्षण गरिहेरेँ तर त्यस्तो लक्षण कतै भेटिएन । उल्टो यो झन् झन् दृढ हुँदै गइरहेको पो मैले पाएँ । (alert-warning)

(क) सेती नदी र घनघस्याका बिचमा रहेका समानता र भिन्नता के के हुन् ?
उत्तरः सेती नदी र घनघस्याको रिसमा समानता रहेको छ । त्यस्तै सेती नदी भासिँदै गएको तर घनघस्या भने ठाडोको ठाडै रहेको कुरा यी दुई बिचका भिन्नता हुन् ।

(ख) घनघस्यालाई कसरी मानवीकरण गरिएको छ ?
उत्तरः टाउकामा बरफको केरा फुलाएको, रिसाएको, अररो वृद्ध शरीर, गजघुम्म परेको, टाउको मन मन दृढ़ हुँदै गएको जस्ता कुरा मार्फत उक्त नियात्रांशमा घनघस्यालाई मानवीकरण गरिएको छ ।

५. दिइएका नियात्रांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

टाउकामा चिप्लो न चिप्लो बरफको केश फुलाएर आफ्नो अररो वृद्ध शरीरमा काला रुखको जिङ्ग्रिङे भुत्ला ठड्याई यो घनघस्या गजधुम्म परेर बसेको छ । यो मान्छेहरूसित रिसाएको छ, अग्घोरै रिसाएको छ, अघोरी गाड जत्तिकै रिसाएको छ अनि पोखरेली सेती जत्तिकै रिसाएको छ । सेती नदी पृथ्वीको पेटमा भासिँदै जाओस्, यो चाहिँ ठडिएको ठडियै छ । यसले कहिल्यै त टाउको झुकाउला कि भनेर मैले निरीक्षण गरिहेरेँ तर त्यस्तो लक्षण कतै भेटिएन । उल्टो यो झन् झन् दृढ हुँदै गइरहेको पो मैले पाएँ । (alert-warning)

(क) घनघस्याको उकालो चढ्दा अन्य विभिन्न ठाउँका सकडलाई सराप्नुपर्ने कारण के हो ?
उत्तरः सुदूरपूर्व इलाममा जन्मेका नियात्राकार तारानाथ शर्मा वि. सं. २०२४ सालमा सुदूरपश्चिमको भ्रमण गर्ने क्रममा बैतडी हुँदै डँडेल्धुराको यात्रा गर्ने क्रममा घनघस्याको विकट उकालोको यात्रा गरेका छन् । नियात्रांशमा नियात्राकारले जोगबनीदेखि धरानसम्मको बाटो, भादगाउँदेखि बाह्रबिसेसम्मको बाटो, सिंहदरबार अगाडिको बाटो र बुटवल भैरहवाको बाटोलाई सरापेका छन् । यी बाटाहरू कालो पत्रे भएका र यातायातको सुविधा भएका थिए तर घनघस्याको बाटो त्यस्तो थिएन । अप्ठ्यारो गोरेटो बाटोमा हिँड्नुपर्दा अन्य विभिन्न ठाउँका सडकहरुलाई सम्झेर सराप्नु परेको हो ।

(ख) निल आर्मस्ट्रङहरूलाई किन चन्द्रमामा पुग्न फिटफिटी परेन ?
उत्तरः नियात्रांशमा नियात्राकारलाई जोगबनीदेखि धरानसम्मको बाटोमा तिर्खा लाग्दा पानीसमेत खान नपाएर रुँदै पसिनाले निथुक्कै भिज्दै अनि ठसठस कन्दै घनघस्याको विकट उकालो चढ्न फिटफिटी परेको थियो । तर निल आर्मस्ट्रङहरूलाई चन्द्रमा पुग्दा उनीहरूसँग प्रशस्तै वैज्ञानिक उपकरण र आवश्यक सामग्रीहरु भएकाले उनीहरु चन्द्रमामा पुग्न फिटफिटी परेन ।

६.पाठमा भनिए जस्तै अहिले पनि घनघस्या क्षेत्रको बाटाको यात्रा त्यत्तिकै कठिन छ त ? त्यस क्षेत्रका साथी अथवा शिक्षकसँग सोधखोज गरी अहिलेको अवस्था थाहा पाउनुहोस् र पहिले र अहिलेका बिचको भिन्नता लेख्नुहोस् ।

७. यात्रामा सहभागीले कस्ता समस्याको सामना गर्नुपयो, छोटकरीमा लेख्नुहोस् ।
उत्तरः सुदूर पश्चिमको यात्रामा निस्किएका नियात्राकार तारानाथ शर्मा टोपी खस्ने घनघस्याको विकट उकालो चढ्ने क्रममा मोटो शरीर भएकाले डरलाग्दो जङ्गलले घेरिएको ढुङ्गेनी बाटोले भयभित भई मुटु ढुक्क फुलेको थियो । उनको टोलीले सुदूरपश्चिमको घनघस्याको उकालो काट्ने क्रममा विभिन्न समस्याको सामना गर्नुपन्यो । उक्त समयमा त्यस ठाउँमा कुनै सुविधाहरू थिएन । उनीहरूले आफ्नो गन्तत्य पुग्न अथाह मिहिनेत गरेका थिए । धेरै अपठ्यारा परिस्थिती भोग्नु परेको थियो । हिड्ने बाटो पनि एकदमै नाजुक अवस्थाको थियो । तिखा ढुङ्गा भएका बाटोको सामना गर्नुपरेको थियो । डरलाग्दो उकालो चढ्नु परेको थियो । चितुवा, बाघ, भालुको डरै डरमा हिँड्नु परेको थियो । खाना पानि समेत नगरी तड्पिनु परेको थियो । ठाँउठाउँमा साथिहरु पनि सम्पर्क बिहिन भएका थिए । यस्तायस्तै, विभिन्न समस्याहरू भोगेर यात्रीहरू आफ्नो गन्तव्य सम्म पुगेका थिए ।

८. भाव विस्तार गर्नुहोस् :

(क) यो हिउँ मेरो थियो, मेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो ।
उत्तरः सुप्रसिध निबन्धकार तारानाथ शर्मा (वि.सं. १९९१) द्वारा संरचित ‘घनघस्याको उकालो काट्ता’ नियात्रा एक उत्कृष्ट र चर्चित नियात्रा हो । नियात्रा विधाका सुरुवातकर्ताका रूपमा तारानाथ शर्मालाई लिने गरिन्छ । सुदूर पश्चिमको यात्रामा निस्किएका नियात्राकार तारानाथ शर्मा टोपी खस्ने घनघस्याको विकट उकालो चढ्ने क्रममा त्यहाँको प्राकृतिक वातावरण र परिवेशले पारेको अमिट छाप, घनघस्यालाई मानवीकरण गरी निजात्मक शैलीमा मार्मिक तरिकाले प्रस्तुत गरेका छन् । प्रकृतिप्रेमी नियात्राकार प्रकृतिको काखमा विचरण गरी हिमालको काखमा अवस्थित सुन्दर देश नेपालमा हिउँमा खेल्ने अवसर पाएर आतुर भएको तथ्यलाई प्रस्तुत गरेका छन् ।

नेपाललाई हिमालयको देश भनेर चिनिन्छ । यहाँको हिउँ खेल्न र हेर्न विदेशीहरूसमेत आउँछन् । तर नेपालकै अधिकांशले हिउँ हेर्ने र हिउँमा खेल्ने आनन्द लिन पाएका हुँदैनन् । लेखकले बेलायतमा हिउँको राम्रो परिचय पाए पनि नेपालमा भने पहिलो पटक सतबा लेकको हिउँमा खेल्ने र रमाउने स्वर्णीम अवसर पाएका छन् । त्यो उनको आफ्नो हिउँ थियो अर्थात आफ्नो देशको हिउँ थियो । आफ्नोपनको हिउँ थियो । नेपाल जस्तो सुन्दर हिमाली मुलुकको हिउँ थियो । आफ्नै जन्मभूमिमा मनभरि हिउँमा रमाउन पाउँदा लेखकलाई अपूर्व अलौकिक आनन्दको अनुभूति भएको देखिन्छ । लेखक र उनका साथीहरु धेरै समय सम्म हिउँमा खेल्छन् । हिउँका डल्लाले एकअर्कालार्य हिर्काउँदै र कहिले हिउँका रमाइला थुप्रामा आकृति बनाउँदै सतबाँझमा समयलाई जिस्क्याउँछन् । समग्रमा माथिको नियात्रांशमा नियात्राकारले आफूमा भएको राष्ट्रप्रेमको भावनालाई हिउँझैँ सफा र चम्किलो रूपमा प्रकट गरेको पाहिन्छ ।

(ख) प्रकृतिसित जुध्नु नै जीवनको रमाइलो हो भन्ने भावलाई ह्याकुलाले छोपेर नै म सुदूरपश्चिमको भ्रमणमा निक्लेको थिएँ ।
उत्तरः सुप्रसिध निबन्धकार तारानाथ शर्मा (वि.सं. १९९१) द्वारा संरचित ‘घनघस्याको उकालो काट्ता’ नियात्रा एक उत्कृष्ट र चर्चित नियात्रा हो । नियात्रा विधाका सुरुवातकर्ताका रूपमा तारानाथ शर्मालाई लिने गरिन्छ । सुदूर पश्चिमको यात्रामा निस्किएका नियात्राकार तारानाथ शर्मा टोपी खस्ने घनघस्याको विकट उकालो चढ्ने क्रममा त्यहाँको प्राकृतिक वातावरण र परिवेशले पारेको अमिट छाप, घनघस्यालाई मानवीकरण गरी निजात्मक शैलीमा मार्मिक तरिकाले प्रस्तुत गरेका छन् ।

प्रकृतिसँग जुध्नु, खेल्नु र आनन्द लिनुलाई नियात्राकारले जीवनको रमाइलो बताएका छन् । उनले यही बुझाइलाई ह्याकुला अर्थात् छातीमा राखेर सुदूर र विकट क्षेत्रको यात्राका क्रममा निक्लेको यथार्थलाई उल्लेख गरेका छन् । उनि नेपालका विभिन्न रमणीय प्राकृतिक स्थलहरूको भ्रमण गरी प्रकृतिसित जुधेर खेलेर आनन्दानुभूति गरेर जीवनको रमाइलोपनलाई मनन गर्न चाहन्छन् । उनी खप्तडमा वसन्त बिताउन चाहन्छन्, तुम्लिङमा हिउँ खेल्न चाहन्छन्, राजापुरको काँसेघारीमा झ्याउरे गाउन चाहन्छन् । तिल्केनीको उकालो, घनघस्याको उकालो अनि चन्दनीको उकालो, अघोरी गाड, पुवा खोलो र टुकुचा, सतबाँझको लेक, ट्याम्के डाँडो, अन्तु डाँडो, चन्द्रगिरि सबैमा उनको गहिरो प्रेम र आत्मीयपन छ । प्रकृतिको काखमा रमाउँदाको आनन्दानुभूति अनुभूति गर्नकै लागि उनी सुदूपश्चिमको यात्रामा निस्केका हुन् । यसरी यस नियात्रांशमा नियात्राकार शर्माले प्रकृतिको आरोह अवरोह झेल्दै त्यसलाई आनन्द मान्दै प्रकृति जस्तै दृढ हुनुपर्ने आशय व्यक्त गरेको पाहिन्छ ।

९. दिइएको गद्यांश पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

साँच्चि नै विदेशमा नेपालीलाई परेको समस्या सुनाउने स्थान र समाधानका लागि सल्लाह लिन सक्ने एउटै मात्र थलो दूतावास नै हुन्छ । मानौँ उनीहरू सानातिनादेखि ठुला र गम्भीर समस्याहरू दूतावासमा सुनाएपछि सहज रूपमा सुल्झिन्छ भन्ने मनोविज्ञान लिएर आउँछन् । दूतावास नै आफ्नो आमाको दोस्रो रूप जस्तै ठान्छन् । विदेशमा पुगेकाले जसरी हरदुःखमा आमा भनेर पुकारिन्छ र सम्झिने गरिन्छ । हुन त यो मेरो अभिव्यक्ति हो । त्यसैले म जस्तै अरूले सम्झिन्छन् कि सम्झिदैनन् दुःखमा आफ्नी आमालाई तर म भने आपत्विपत् र दुःखमा जहिले पनि सम्झिन्छु आफ्नी आमालाई । त्यस्तै प्रकारले विदेशमा भएका नेपालीको आमाको रूपमा रहेको हुन्छ नेपाली दूतावास । दूतावासको उपस्थिति नभएका देशमा आफ्ना समस्या, पिरमर्का र मनको बह पोख्ने स्थान कहीँकतै हुँदैन । कम्तीमा आफ्नै देशका दाजुभाइलाई आफ्नै भाषामा आफ्ना समस्या सुनाउँदा मात्र पनि हलुका अनुभव हुन्छ । यिनै मानवीय कोणबाट सोचेर चुपचाप समस्या सुन्ने र सकेसम्म मलमपट्टी लगाउने खालका कुरा गरेर सम्झाउने र बुझाउने काम गर्नेतर्फ लाग्नुपर्‍यो कतारमा । यसरी कहिल्यै नभोगिएका, कहिल्यै नसुनिएका र कहिल्यै नसोचिएका विचित्र किसिमका कामबारे सल्लाह तथा सुझाव दिन बाध्य हुनुपर्‍यो कतारमा ।
जय छाङ्छा

(क) दूतावासले के काम गर्छ ?
उत्तरः दुतावासले विदेशमा रहेका नेपालीलाई परेको समस्या सुन्ने र समस्या समाधानका लागि सल्लाह दिने काम गर्छ ।

(ख) किन दूतावासलाई आमासँग तुलना गरिएको हो ?
उत्तरः जसरी आमाले आफ्ना सन्तानलाई आइपरेका हरेक आपत्विपत् तथा दुःख निवारणका लागि अहोरात्र खट्छिन् त्यसै नै दुतावासले पनि विदेशमा रहेका आफ्नो देशका नागरिकलाई परेको समस्याको समाधानका लागि सल्लाह दिने काम गर्छ । त्येसैले दूतावासलाई आमासँग तुलना गरिएको हो ।

(ग) दूतावासको उपस्थिति नभएका देशमा कस्ता समस्या हुन्छन् ?
उत्तरः दूतावासको उपस्थिति नभएका देशमा गएका नागरिकहरूले आफ्ना समस्या, पिरमर्का र मनको बह पोख्ने नपाउने जस्ता समस्या हुन्छन् ।

(घ) लेखकले कतारमा कसरी काम गर्नुपयो ?
उत्तरः लेखकले कतारमा चुपचाप समस्या सुन्ने र सकेसम्म मलमपट्टी लगाउने खालका कुरा गरेर सम्झाउने बुझाउने काम गर्नुपन्यो ।

१०. दिइएको गद्यांश पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान बढाउनका लागि स्वदेशी तथा विदेशी पुँजीको परिचालन गर्नुपर्छ । एकल बिन्दु सेवा केन्द्रका माध्यमबाट वैदेशिक लगानी प्रवर्धन गर्न आवश्यक छ । उपलब्ध स्रोतसाधन र श्रमको उपयोग गरेर औद्योगिक उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गर्न सकिन्छ । लघु, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवर्धन गरी रोजगारी सिर्जना गर्न सकिन्छ । गरिबी न्यूनीकरण, नेपाली वस्तु तथा सेवाका लागि लगानीमैत्री वातावरण सिर्जना, आयात प्रतिस्थापन र निर्यात प्रवर्धनका माध्यमबाट अर्थतन्त्रलाई सुदृढ गर्न आवश्यक छ । तुलनात्मक लाभ तथा प्रतिस्पर्धी क्षमता भएका नेपाली वस्तु तथा सेवाको उत्पादन वृद्धि गर्नुपर्छ । निर्यात प्रवर्धन तथा आयात व्यवस्थापन गरी आन्तरिक माग पूर्ति गर्न सकिन्छ । द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय व्यापार प्रणालीबाट अधिकतम लाभ लिने गरी वैदेशिक व्यापारसम्बन्धी योजना तथा कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । खाद्यान्न, औषधी तथा पेट्रोलियम पदार्थ जस्ता अत्यावश्यक वस्तुको सरल र उचित मूल्यमा सहज उपलब्ध हुने व्यवस्था आवश्यक छ । यसका लागि आपूर्ति व्यवस्थापनमा सुधार ल्याई मूल्य स्थिरता कायम गर्नुपर्छ । गुणस्तरीय वस्तु तथा सेवामा सहज पहँुच पुर्‍याई उपभोक्ताको हकहित संरक्षण गनुपर्छ । खाद्यान्न तथा अन्य वस्तुमा हुने मिसावट, ठगी, कालोबजारी, नियन्त्रण गर्न बजार अनगुमनलाई तीव्र बनाउन आवश्यक छ । यसका लागि विद्यमान ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्ने गरी कार्यक्रम कार्यान्वयन गर्नुपर्छ ।

(क) केका लागि स्वदेशी तथा विदेशी पुँजीको परिचालन गर्नुपर्छ ?
उत्तरः कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान बढाउनका लागि स्वदेशी तथा विदेशी पुँजीको परिचालन गर्नुपर्छ ।

(ख) गरिबी न्यूनीकरणका उपायहरू के के हुन् ?
उत्तरः गरिबी न्यूनीकरणका उपायहरू लघु, घरेलु तथा साना उद्योगको संरक्षण प्रवर्धन गर्नु, रोजगारीका अवसरहरू सिर्जना गर्नु नेपाली वस्तु उत्पादनमा जोड दिनु आदि हुन् ।

(ग) अर्थतन्त्रलाई सुदृढ गर्न कस्ता उपाय अपनाउनुपर्छ ?
उत्तरः अर्थतन्त्रलाई सुदृढ गर्न गरिबी न्यूनीकरण, नेपाली वस्तु तथा सेवाका लागि लगानीमैत्री वातावरण सिर्जना, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन जस्ता उपायहरू अपनाउनुपर्छ ।

(घ) उपभोक्ताको हकहितको संरक्षण कसरी गर्न सकिन्छ ?
उत्तरः उपभोक्ता हकहितको संरक्षणका लागि खाद्यान्न तथा अन्य वस्तुमा हुने मिसावट, ठगी, कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्र बनाउनुका साथै विद्यमान ऐन नियमको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने काम गर्न सकिन्छ ।

११. तलका मध्ये कुनै दुईओटा शीर्षकमा निबन्ध लेख्नुहोस् :

(क) आत्मानुशासन            

– तिलक पौडेल

सामान्य अर्थमा आत्मा भन्नाले मन, परमात्मा भन्ने बुझिन्छ । यदि मनमा कलुषण छैन, आग्रह–पूर्वाग्रहबाट पीडित छैन, समुचित/यथावश्यक विवेक छ भने यसबाट हुने उद्बोधन स्वयम्मा मात्र होइन, चराचर जगत्को भलोतर्फ निर्देशित हुन्छ । फेरि, अनुशासन भन्नाले सामान्यतः शिष्टाचार, मर्यादा आदिको पालना भन्ने बुझिन्छ । यस मानेमा कोही पनि जन्मजात विवेकपुञ्ज हुँदैन । उमेरको क्रमिक उकालोसँगै आर्जन सकेका अनुभवले विवेकको टोकरी क्रमशः भरिँदै जाने हुन्छ । ‘आफूभन्दा ठूलाको आदर गर र आफूभन्दा सानाको माया गर’, ‘दुष्टका पनि राम्रा कुराहरू ग्रहण गर र गुरुका पनि अनुचित पक्षहरू त्यागिदेऊ’ जस्ता भनाइबाट ग्रहणशील विवेकहरू प्राप्त हुन सक्दछन् । र, यिनै मर्यादाहरूको पालना गर्नु नै अनुशासन हो भन्दा अनुपयुक्त नहुनुपर्छ ।

यसरी हेर्दा आत्मा साक्षी राखी विवेकीहरूबाट प्रस्फुटित अनुशासनका व्यहोराहरू अवलम्बन गर्नु आत्मानुशासित हुनु हो भने आफूले पालना गर्नुपर्ने ठहरिएका मर्यादालाई मनमा अमिट ढङ्गले यथास्थान उपलब्ध गराउनु आत्मानुशासन हो भनिनुपर्दछ ।

वास्तवमा अनुशासनलाई विद्यार्थी जीवनकालमा बिउको रूपमा छरिन्छ । जुन आफ्नो कालपर्यन्त गहनाको रूपमा पहिरनु युक्तियुक्त देखिन्छ । बालकको पहिलो विद्यालय उसको घर हो । यस मानेमा उसका बाबु–आमालगायत घरका अग्रजहरू अनुशासनलगायतका गुरुहरू हुन् । यदि अग्रजहरूमा अनुशासित व्यवहार छैन भने निःसन्देह भोलिका कर्णधार उच्छृङ्खल, अनुशासनहीन हुन्छन् । ‘आफू आज्ञाकारी नभई अरूलाई अराउन सकिँदैन’ ‘अरूलाई व्यवस्थित बनाउन पहिले आफैँ व्यवस्थित बन्नुपर्छ’ ‘स्वानुभवबेगरको अर्ती–उपदेश कोरा काल्पनिक ठहर्न सक्दछ’ जस्ता व्यहोराहरूले अग्रजहरूमा हुनुपर्ने अनुशासनको सन्देश दिएको पाइन्छ । जसले उल्लिखित व्यहोरालाई आत्मा साक्षी राखी व्यवहारीकरण गर्दैन, स्पष्टतः त्यस घरका अनुजहरूमा समुचित शिष्टाचारको खेती मौलाउँदैन । यसकारणले गर्दा यदि अग्रजले आफूले जानेका, आर्जेका व्यहोरालाई आत्मानुशासित ढङ्गले लागू गर्दछन् भने स्वभावतः अनुजहरू त्यही व्यहोराको देखासिकी गर्दछन् र त्यो परिवार पूर्णानुशासित हुन पुग्छ ।

हुन त वर्तमान चलनचल्तीमा राम्रो, मीठो बोली र लाए–अराएको कार्य सम्पादन गर्नुलाई अनुशासित ठहर्‍याएर अनुशासनको दायरा सङ्कुचन गराएको पाइन्छ । वास्तवमा जीवनका हरेक पहलुमा मर्यादाका घेराहरू हुनछन्– समय, आहार–विहार, स्वास्थ्य, शिक्षा, घर–व्यवहार आदि । ध्यान दिनुपर्ने एउटा सत्य के पनि हो भने तत्तत् विषयवस्तुमा विशेषज्ञता हासिल गरेका अनुभवीहरू पनि छन्, जसले त्यस क्षेत्रको उत्कृष्टताका लागि सीमाङ्कन गरिदिएका छन् । अब, ती सीमाबद्ध व्यहोराहरूलाई मनको रोहवरमा लागू गराउन सकियो भने स्वकल्याण निश्चित छ र यही प्रसङ्गलाई आत्मानुशासन भन्न पनि सकिन्छ । तर, वर्तमानमा लालबुझक्कडीपनाले रजाइँ गरेको प्रतीत हुन्छ । विशिष्ट ओहोदा धारण गर्ने–गरेकाहरू कुनै पनि पक्षमा अनभिज्ञ देखिनुलाई आफ्नो इज्जतको स्खलन ठान्दछन् । परिणाम चुरोट, रक्सी स्वास्थ्यका लागि हानिकारक सिद्ध भएको व्यहोराको पूरक वस्तुका रूपमा परिभाषित गरी सेवन गर्नु अनुपयुक्त होइन/हुँदैन भन्ने व्याख्या सुन्नुपर्दछ । अनि अनुजहरूले सोही व्यहोरा अवलम्बन गर्दागर्दै आउँदा वर्तमान अवस्था विद्यमान हुन पुग्नु अस्वाभाविक देखिँदैन । र भनाइ सुनिन्छ – ‘भनेजस्तो गर, गरेजस्तो होइन’ यसले आत्मानुशासनको उपहास गरिरहेको छ । यदि कसैले पनि अवलम्बन गर्नुपर्ने सत्यतथ्य व्यहोरा थाहा पाउँछ भने त्यसलाई लागू गर्दा कसैले पनि कायरको संज्ञा दिन मिल्दैन । यदि कसैले कायरकै संज्ञा दिँदा दूरावलम्बित हुन्छ कोही भने त्यो आत्मानुशासित पनि हुँदैन । यस मानेमा आत्मानुशासनको उल्लङ्घन गर्नु स्वयम्मा ठगी गर्नु हो । तर, पथ–कुपथको ठहर हुँदाहुँदै एक हातको दूरी पेट र मुखको बीचको दूरीलाई ध्यान नदिँदा, जिब्रोको स्वादप्रियताले प्रश्रय पाउँदा, ग्यास्ट्रिक, एसिडिटीजस्ता रोगाग्रस बन्नु परेको छ – आमाशय ।

हुन पनि यसो नियाल्ने हो भने आत्माउपर अन्याय भएकै देखिन्छ । किनभने, आत्मा स्वचालित र अर्धचालित अङ्गहरूको पक्षमा वकालत गर्दछ । खैनी, चुरोटले फोक्सो बिगार्छ भन्ने विवेकको कार्यान्वयनमा लापरबाही गरेर हातले चुरोट किनी सल्काएर ओठमा च्याप्न अराउने मस्तिष्कले फोक्सोको चाहनाको समर्थन जनाउने आत्माको भावनामाथि हठात् बलात्कार गर्दछ र पनि सहनुपरेको छ– आत्माले । कतै अनुशासनको शृङ्खला तोडिन पुग्दाको अवस्था त होइन यो रु भन्ने राय पनि बेमुनासिव देखिँदैन । कारण, आत्मा, मष्तिष्क, ज्ञानेन्द्रीय, कर्मेन्द्रीय, शायद यस्तो क्रम हुनुपर्दछ, यो शरीर विशेषको हेरचाहका कार्यहरू सम्पादन गर्दा/गराउँदाको मर्यादा । तर, कलियुग लागेर चराचर जगत्को अनुशासितताको विच्छृङ्खलता सिर्जिएजस्तै कर्मेन्द्रीयको अनुकरणीय भावको तीव्रतामा ज्ञानेन्द्रीयले हस्तक्षेप नगर्दा, ज्ञानेन्द्रीयमाथि मस्तिष्कको समुचित निर्देशन नहुँदा, आत्माको स्पन्दनप्रति दिमाग बेफिक्री रहँदा अथवा मर्यादाको सीमा उल्लङ्घन हुँदा आत्माको पहरेदार शरीरका कर्मेन्द्रीयहरू स्वच्छन्द हुन पुगेको परिणाम हित/अहितको लक्ष्मणरेखा मेटिएजस्तो देखिन्छ ।

शरीर फूर्तिलो हुनुपर्दछ, जसका लागि शारीरिक व्यायाम जरुरी हुन्छ, प्रातकालको हिँडाइले प्राकृतिक समवितरणको स्वच्छ पवनपान अति हितानुकूल हुन्छ । तर स्थूल शरीर आवश्यकताभन्दा बढी सुत्न–आराम गर्न उद्यत् हुन्छ अनि अल्छीहरूमा स्थूल शरीरको विजय स्वरूप शयानागारको अवधि अधिकिन्छ । हो, यहाँ पनि आत्मैदेखि उल्लिखित अवस्था सोचिएको हुँदैन, तर भइदिन्छ त्यस्तै – आत्मानुशासनको कमी ।

यस उसले गर्दा आत्मानुशासन भनेको आफूको पथ–कुपथ, हित–अहित, योग्य–अयोग्य, उचित–अनुचित, ‘व्यहोराको सकारात्मकता अवलम्बन गर्ने भाव हो – जसको अभावमा आत्मघात हुन पुग्छ । तसर्थ, अनुशासनका पुजारीहरू अरूलाई देखाउन मात्र राम्रो काम गरेर अनुशासितमा मात्र गनिने होइन, आफ्नै आत्मा साक्षी राखेर अनुशासित बन्न सक्नुपर्छ ।

माथि दिइएको उदाहरण जस्तै तल दिइएको शिर्षकमा आफैले निबन्ध लेख्ने कोशिस गर्नुहोस् ।

(ख) पृथ्वी बचाऔँ

(ग) सामाजिक सञ्जालको सदुपयोग     

(घ) भ्रष्टाचार मुक्त देश 

सुनाइ र बोलाइ 

१. सुनाइ पाठ ३ सुन्नुहोस् र दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) यात्राको गन्तव्य कहाँसम्म थियो ?

(ख) लज कसले सञ्चालन गरेको थियो ?

(ग) तिब्बती शरणार्थी क्याम्पमा कस्तो परिवर्तन भएको रहेछ ?

(घ) अन्न कसरी लगिँदै थियो ?

२. यातायातको विकाससँगै तपाईँको गाउँ वा टोल छिमेकमा कस्तो परिवर्तन भएको छ, सुनाइ पाठ ३ का आधारमा छोटकरीमा भन्नुहोस् ।

भाषातत्व 

१. लिङ्ग सङ्गति मिलाई दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

हाम्रा बिचमा धेरै कुरा समान छन् । मेरी छोरा सानै छिन् । तिम्री छोरा पनि सानै छिन् । मेरो छोरी विद्यालयमा पढ्छन् । तिम्रो छोरी पनि विद्यालयमा पढ्छन् । मेरी एउटा भाइ छिन् । तिम्रो एउटा बहिनी छन् । मेरा एउटा दिदी हुनुहुन्छ । तिम्री एउटा दाजु हुनुहुन्छ ।

२. वचन सङ्गति मिलाई दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

डोल्मा, रामलाल, महेश र म पुस्तकालय गएँ । पुस्तकालयमा धेरै पुस्तक थियो । मैले पत्रिका पढ्यौँ । डोल्माले कविता पढे । रामलाल र महेशले उपन्यास पढ्यो । पुस्तकालयमा अरू धेरै जना विद्यार्थी थियो । सबै जना पढ्दै थियो । दराजभरि पुस्तकहरू थियो । केही पुस्तक भुइँमा थियो । एउटा पुस्तक भुइँमा झरेका थिए । त्यसको अगाडिको गाता च्यातिएका थिए । मैले त्यो पुस्तक उठायौँ र पुस्तकालय व्यवस्थापन शाखाको कर्मचारीलाई दियौँ । व्यवस्थापन शाखाको कर्मचारीहरूले मलाई धन्यवाद दियो ।

३. पुरुष सङ्गति मिलाई दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

म, तिमी र विश्वराज छिमेकी हुन् । म बिहान सबेरै उठ्छ । तिमी बिहान सबेरै उठ्छन् । विश्वराज पनि बिहान सबेरै उठ्छु । त्यसपछि हामी तीनै जना भेट हुन्छौँ । हामी आधा घण्टा दौडिन्छन् । त्यसपछि म योगध्यान गर्छन्, तिमी फुटबल खेल्छु र विश्वराज ब्याटमिन्टन खेल्छु । बिहान आठ बजे हामी आआफ्ना घर जान्छन् ।

४. आदर सङ्गति मिलाई दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

हाम्रो घरमा मेरो मामा आउँछ । मामाले मलाई राम्रा राम्रा किताब ल्याइदिन्छ । मामालाई भेटन पाउँदा मेरी बहिनी पनि धेरै खुसी हुनुहुन्छ । तिमी पनि मेरा मामालाई भेट्न आइज है ।

५. पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्गमा परिवर्तन गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

मेरो बुबा ७८ वर्ष हुनुभयो । मेरी आमा ७२ वर्ष पुग्नुभयो । मेरा तीन दाजु, दुई भाइ, दुई दिदी र एक बहिनी छन् । मेरी श्रीमती असल र दयालु छिन् । मेरा घरमा दुईओटा गाई, एउटा राँगो र केही बोका पनि छन् । मसँग एक दर्जन कुखुराका पोथी छन् ।

६. एकवचन भए बहुवचन र बहुवचन भए एकवचनमा परिवर्तन गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

ऊ घर गयो । घरमा उसका दिदीहरू थिए । उसका दाजु काममा गएका थिए । त्यही वेला उसका साथीहरू पनि टुप्लुक्क आइपुगे । उसको आवाज सुनेर गोठको भैँसी पनि करायो । बाख्राहरू पनि म्याँम्याँ गर्न थाले । कुकुरहरू पनि पुच्छर हल्लाउँदै उसका नजिकै आएर सुँघ्न थाले ।

७. तृतीय पुरुषमा परिवर्तन गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

मेरो शरीर अलिक मोटो भएकाले उकालो देख्नेबित्तिकै मेरो सातोपुत्लो उड्छ । तेर्सो र ओरालो बाटामा म निकै छिटो हिँड्न सक्छु, तर उकालो भने मेरा लागि जेमराज जत्तिकै भयावह हुन्छ । म विवश थिएँ, मैले घनघस्या नकाटी भएको थिएन । पाटनका सहृदय व्यक्तिहरूले दिएका दुई लाँक्रा उखु पहिले टेक्तै र पछि चबाउँदै हामी एकोहोरो उकालिइरह्यौँ, उकालिइरह्यौँ ।

८. मध्यम आदरमा रूपान्तरण गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

तँ मिहिनेती छस् । तेरो बानीबेहोरा पनि राम्रो छ । तेरो पढाइ पनि राम्रो छ । जोसुकैलाई विश्वास गरिहाल्ने बानीमा भने तैँले सुधार गर्नुपर्छ ।

९. सामान्य आदरमा रूपान्तरण गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

तपाईँ हिजो कहाँ जानुभएको थियो ? आज पनि कतै जानुहुन्छ कि ? अहिलेको समयमा यसरी बाहिरतिर घुम्न ननिस्कनुहोस् । घरभित्रै बसेर व्यायाम गर्नुहोस् । बरु किताब पढ्नुहोस्, लेखहरू लेख्नुहोस् ।

१०. उच्च आदरमा रूपान्तरण गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

ऊ भोलि पोखरा जान्छे । उसकी दिदी पनि ऊसँगै पोखरा जान्छिन् । उनीहरू फेवाताल घुम्छन् । उनीहरू कविता लेख्छन् । पोखरामा उनीहरूका साथीहरू पनि छन् । उनीहरू साथीहरूलाई पनि भेट्छन् । एक हप्ता बसेर उनीहरू घर फर्किन्छन् ।

११. दिइएको अनुच्छेदबाट ‘ब’ र ‘व’ को प्रयोग भएका शब्दको अलग अलग सूची बनाउनुहोस् :

गाउँ बस्तीका मानिसलाई बाहिरतिर घुम्न त्यति धेरै अवसर हुँदैन । खेत, बारी, कुलो, वन, घाँस, दाउरा, वरपर, तलमाथि गर्दै उनीहरूको समय बित्छ । हिउँद, वर्षा, जाडो, गर्मी, हावा, हुरी, बतास, बिहान, बेलुका, दिउँसो, राती आदि सबै याम, समय, मौसममा काम गर्नुपर्छ । उनीहरूले कहिलेकाहीँ जान पाउने ठाउँ भनेका नजिकैको हाट बजार हो । यसबाहेक उनीहरू कहिलेकाहीँ गाउँमा हुने बिहेबटुलो, चाडपर्व, जात्रामेला, उत्सव आदिमा जान पाउँछन् ।

१३. तल ‘ब’ को प्रयोग भएका शब्द दिइएको छ । तिनलाई उदाहरणअनुसार वर्गीकरण गर्नुहोस् :

धातु/क्रियापद

अव्यय शब्द

बि/बे लागेका शब्द

तत्सम शब्द

तद्भव तथा आगन्तुक शब्द

उदाहरण: बस्, बाहिरिन्छ

उदाहरण: अब, तब

उदाहरण: बिकाम, बिचेत

उदाहरण: बाहु, बाह्य

उदाहरण: बाहिर, बखान

ब्रह्मर्षि, बक्स, बेर्छ, ब्रह्मा, ब्रह्माण्ड, ब्राह्मण, ब्राह्मी,   बार्, बास्, बिथोल्, बुन्, बेच्, बेर्, बेहोर्, बाहिरिन्छ, जब, बित्तिकै, बुरुक्क, अब, बेग्लै, तब, बेसरी, ब्यारे, बिछोड, बिजोर, बेइज्जत, बेकार, बेवास्ता, बदनाम, बदमास, बाहिर, अम्बा, बकुल्लो, बखान, बगाल, बयान, बस्, बच्, बाँध्, बाँच्, बच्चा, बतास, बँदेल, बङ्गुर, बखत, बारुलो, बिजुली, बैँस, बोक्राे, बोसो, बखत, बन्दुक, तलब, बकस, बगैँचा, बन्दकी, पिसाब, हिसाब, बजेट, बस, बाकस, बोतल, बटुवा, बत्तिस, बाक्लो, बुच्चो, बिखालु, बन्द, तलबी, बिचरो, बर्बाद, ब्रिटिस, अम्बर, अम्बिका, कुटुम्ब, बहुब्रीहि, बाहु, ब्रह्मचारी, चुम्बन, चुम्बक, चुम्बी, सम्बद्ध, सम्बन्ध, सम्बन्धी, सम्बोधन, विडम्बना, अवलम्बन, लम्ब, बहुधा, बाह्य, बहुलता (alert-warning)
१४. उदाहरणमा दिइए जस्तै गरी दिइएका शब्दलाई वर्गीकरण गर्नुहोस् :

उच्चारण र लेखाइ दुवैमा ‘व’ हुने शब्द

उच्चारण ‘ब’ भए पनि ‘व’ लेखिने शब्द

उदाहरण: वर, वास्ता, वकिल

उदाहरण: वस्तु, वस्त्र, वाक्य


विषम, विषाणु, विषय, वीर, वृत्त, वृद्ध, वेग, वैद्य, व्यक्ति, वासलात, रवाफ, कावासोती, कावा, मेवा, वस्ताद, सवारी, वजन, वरिपरि, वाल्ल, वाक्क, देवर, पेवा, तौलिहवा, पावर, वाक्य, वायरलेस, वार्ड, वस्तु, वस्त्र, वारेस, वाल्ल, ट्वाल्ल, कछुवा, कुवा, खुवा, जुवा, वर, वास्ता, वकिल, जुवाइँ, तुवाँलो, दुवाली, धुवाँ, रुवाइ, धुवाइ, देखावट, बोलावट, ढुकुवा, फुकुवा, खोलुवा, भतुवा, बहालवाला, उमेदवार, वाचा, वाद, वादी, वाम, वायु, वाल्मीकि, वाहन, विज्ञान, विकास, विकृति, विखण्डन, विचलन, विचित्र, विजय, वंश, वक्तव्य, वक्ता, वक्र, वक्ष, वन, वन्दना, वयस्क, वातावरण, वरिष्ठ, वर्ग, वरुण, वर्गीकरण, वर्ण, वर्षा, वर्ष, विच्छेद, विज्ञापन, विदेश, विद्या, विधवा, विवाह, विभूति, विभाजन, विरह, विवेक, विशेष, विश्लेषण, दफावार, जिम्मेवार, फाँटवारी, महिनावारी, नश्वर, ईश्वर, कर्तव्य, गुणवान्, धनवान्, भगवती, पाण्डव, पार्थिव, व्यर्थ, विधि, व्यापार, व्यवहार, व्रज, विराट्, विराम, वैदिक, वैज्ञानिक, वैभव, वैष्णव, वर्ग, व्याकरण । (alert-warning)

सिर्जना र परियोजना कार्य 

१. तपाईँले गरेको कुनै यात्राका विषयमा छोटो नियात्रा लेख्नुहोस् ।
डोल्पा यात्राको संस्मरण
कर्णाली अञ्चलका ५ जिल्लाहरू मध्ये डोल्पामा हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको संगठन थिएन । करिब २ वर्ष पहिले एउटा सम्र्पक स्थापित भएको थियो । त्यही सम्पर्कको माध्यमबाट त्यस जिल्लामा संगठन निर्माण गर्नको लागि हामी प्रयत्नशील थियौँ । यस्तैमा फागुन १३ गते साझ राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा सांगठनिक काम विशेषले बर्दिया आउनु भयो र त्यही सल्लाह भयो कि हामी दुबै जना डोल्पा जाने ।

पूर्व निर्धारित योजना अनुसार म फाल्गुन २४ गते बर्दियाबाट सुर्खेत जनकजीको घरमा बस्न जाने र २५ गते बिहान सुर्खेतबाट डोल्पाको लागि प्रस्थान गर्ने योजना थियो । त्यही अनुसार हामीले तयारी गरेका थियौँ । तर २४ गते नै मधेसी जनअधिकार फोरम नेपाल लगायतका दल सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नाममा गरिएको बन्दको कारण बिहानैदेखि बाटो सुनसान थियो । यातायातका कुनै साधनहरू चलेका थिएनन् । हामीले जसरी पनि निर्धारित समयमा हिड्ने योजना बनाएका थियौँ । जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै रा.ज.मो बाँकेका उपाध्यक्ष गुणानिधी आचार्यको सहयोगमा उहाँको मोटरसाइकलमा सुर्खेत जाने सल्लाह भयो । फोनमा गरेको सल्लाह अनुसार गुणानिधी जी मलाई लिन बाँसगढी बर्दिया स्थित मेरो घरमा आउनु भयो । दिउँसो करिब १ बजे तिर बाँसगढीबाट सुर्खेतको लागि हिड्यौँ । कोहलपुर चौराहामा पुग्दा के.स. तुल्सी सापकोटा सँग भेट भयो । त्यतिनै बेला एउटा यात्रुबाहक बस कोहलपुर बसपार्कतिरबाट आएर चौराहाको पिपल चौतारा नेर अडियो । बस सुर्खेत जाँदै थियो । अब गुणानिधी जी सुर्खेत जानु नपर्ने भयो । म एक्लै सुर्खेतको लागि उक्त बसमा चढे । कोहलपुरबाट हिडेको करिब ३ः३० घण्टामै बस विरेन्द्रनगरको पिपिराचोक पुग्यो । बसबाट उत्रेपछि राजमो भेरी कर्णालीका कोषाध्यक्ष बालकृष्ण सुुनार सँग भेट भयो करिब ३० मिनेट उहाँ सँग बिताएर चिया पिई सके पछि म झोला बोकेर बस्तीपुर जनक जीको घर तिर लागें । घर पुगे पछि जनक जीको ८४ वर्षीया बुवा सहित स–परिवार सँग भेटघाट भयो । केही छिनको सञ्चो विसञ्चो र भलाकुसारी पछि जनक जी र मैले झोला मिलाउन लाग्यौँ । जनक जीलाई मेरो झोला अली गह्रौँ लाग्यो । बाटोमा खानको लागि घरबाट इन्दिरा दिदि समेतले बनाएर पठाएको नास्ताको पोको उहाँले आफ्नोे झोलामा राख्नुभयो । केही कपडा पनि त्यही छाड्ने कुरा भयो । झोला मिलाई सकेपछि बाटोमा आवश्यक पर्ने केही सामान किन्न जनक जी र म पसल तिर लाग्यौैँ । फर्केर आउँदा साँझ परिसकेको थियो ।

२५ गते बिहान करिब ३ः३० बजे तिर उठेर हात मुख धोयौँ र एक एक वटा झोला पिठ्युमा बोकेर टर्च लाईट बाल्दै सुर्खेत बसपार्क तिर लाग्यौँ । बसपार्क पुगेर सुर्खेतदेखि जाजरकोटको रिम्नासम्मको टिकट लियौँ । बिहान ५ः३० बजे सुर्खेतबाट रिम्नाको लागि गाडी हिड्यो । छिन्चु बजारमा केही मिनेट रोकिए पछि भेरी नदीको किनारै किनार गाडी अगाडि बढ्यो । भेरी नदीको किनारबाट राताचौर, जहरे, मेलकुना, बोटेचौर हुँदै गाडी गुडिरहेको थियो भने बसको झ्यालबाट हेर्दा नदीको अर्को किनारातिर दशरथपुर, लेखपर्सा, गुमी र दहचौर जस्ता टारी फाटहरू तथा अति मनोरम प्राकृतिक दृश्यहरू देखिन्थ्यो । बोटेचौर भन्दा अलि अगाडि पुगेपछि तेल सिद्धिएर गाडी रोकियो । करिब १ घण्टा पछि अर्को गाडी सँग तेल मागेर मात्र अगाडि बढ्यो । गाडीवालाहरूको पनि धेरै लापर्वाही समयमै गाडीमा तेल कति छ ? गाडीको अवस्था ठीक छ की छैन ? भनेर ख्याल नराख्ने । बाटोमा जति मान्छे भेटे पनि छतमा समेत अटाउन्जेल राख्ने । गाडी अगाडि बढ्यो । पोखरे, धारापानी, बालुवा आदि ठाउँ हँुदै सल्ली बजार (देवस्थल) आएर खाना खानको लागि गाडी रोक्यो । खाना खाने ठाउँ खोज्दै जाँदा एउटा जाजरकोटी होटेलमा पुग्यौँ । जाजरकोटी भने पछि जनक जीले अलि चासो दिएर सोधखोज गर्नु हुन्थ्यो । किन भने उहाँले हाईस्कुल लेबल पढेको र विद्याथी जीवनमा राजनीतिको शुरूवात गरेको पनि जाजरकोटबाटै रहेछ । ११ः३० बजे सल्ली बजार पुगेको गाडी त्यहाँबाट हिड्न २ घण्टा लगायो । अलि अगाडि गए पछि जामुनेबजार भन्ने ठाउँ आयो त्यहाँ भेरी नदी पार गर्नु पर्दो रहेछ पुल थिएन । किस्तीमा राखेर गाडीलाई पल्लो किनार लगियो । त्यो सूर्खेत जिल्लाको बाँदेपिपल भन्ने ठाउँ रहेछ । केही घण्टाको यात्रा पछि सुर्खेत जिल्लाकै घोरेटा गा.वि.स. को ठाटी बजार पुग्यौँ । त्यसको केही अगाडि गएपछि सूर्खेत जिल्लाको सिमा समाप्त भएर जाजरकोट जिल्लाको सिम गा.वि.स. मा प्रवेश ग¥यौ । फेराबजार छेडाखोला हुँदै अगाडि बढ्दा एउटा सुन्दर टार भएको ठाउँमा पुग्यौँ । भर्खरै तोरी फुलेर पहेलै भएको त्यो ठाउँको नाम भुत्चौर रहेछ । त्यहाँबाट दक्षिणतिर भेरी नदी पारी हेर्दा तोरी फुलेको सुन्दर टार देखियो । त्यो रूकुम जिल्लामा पर्दो रहेछ । त्यस पछि क्रमशः रात पर्दै गयो वारी पारी देखिन छाड्यो । साँझ करिब ८ः३० बजे तिर जाजरकोटको सदरमुकाम खलड्डा पुग्यौँ । हामी आएको गाडी त्यो भन्दा अगाडि नबढ्ने भयो । तर हामीले रिम्नासम्मको टिकट लिएका थियौँ । त्यसकारण अर्को गाडीमा चढेर १० बजे राती मात्र हामी रिम्ना पुग्यौ । त्यो रिम्ना भन्ने ठाउँ उत्तरतिरबाट आएको ठूली भेरी र दक्षिण पूर्वतिरबाट आएको सानी भेरीको संगम स्थल रहेछ ।

२६ गते बिहान करिब ५ बजे तिर होटेल मालिक्नीलाई खाना र बासको पैसा बुझाएर त्यहाँबाट हिड्यौँ । रिम्ना बजारको छेउमानै भेरी नदी पार गर्न एउटा झोलुड्डे पुल तर्नु पर्ने रहेछ । त्यो पुल तरेपछि हामी रूकुम जिल्लामा प्रवेश ग¥यौँ । करिब ३० मिनेट पैदल हिडेपछि छेपारे भन्ने ठाउमा पुग्यौँ । जहाबाट राडी ज्यूला भन्ने ठाउँसम्मका लागि जिप लाग्दो रहेछ । तर हामी त्यहाँ पुग्दा पहिलो नम्बरको जिप छुटि सकेको थियो । दोश्रो जिपको लागि हामी २ घण्टा पर्खनु पर्ने भयो । त्यतिन्जेल हामीले चिया र घरबाट बनाएर लगेको नास्ता खायौँ । त्यहाँ वरिपरि रहेका ठाउँगाउँको बारेमा जानकारी लियौँ । अनि राडी ज्यूलासम्मको जिपमा चढेर भेरी नदिको वारीपारी हेर्दै अगाडि बढ्यौँ । हामी हिंडिरहेको भेरीको किनारा रूकुममा पथ्र्यो भने अर्को किनारा जाजरकोटमा । अलि अगाडि गएपछि दल्ली भन्ने ठाउँ आयो जहाँ उत्तर तिरबाट बारकोटे नाम को एउटा खोला आएर भेरी नदीमा मिसिदो रहेछ । बिहान १० बजे राडीज्यूला पुग्यांै । त्यहा स्थानीय भाषामा खेतलाई ज्यूला भनिदो रहेछ । राडी जस्तो आकारमा मिलेको खेत भएको हुनाले त्यो ठाउँको नाम राडीज्यूला रहन गएको रे । त्यहा खाना खाने ठाउँमा हामी सँग सुर्खेत जिल्लाको कुनाथरी गा.वि.स चेपाङका तहल सिह बलामी भेटीनु भयो । उहाँले डोल्पाको जिल्ला प्रहरी कार्यलयमा परिचरको काम गर्नुृ हुदोरहेछ । उहा पहिले पनि त्यो बाटो डोल्पा जाने आउने गर्नु भएको रहेछ । उहाँ साथमा भएपछि हामीलाई बाटोको लोकेसनबारे कसैलाई सोध्नु पर्ने चिन्ता रहेने त्यहाँबाट डोल्पाको दुनै सम्म लगातार ३ दिनको पैदल यात्रा गर्नु थियो । ठीक १२ बजे हामी राडी ज्यूलाबाट हिडयौँ। भेरी नदीको झोलुड्डे पुल तरेर पुन हामी रूकुम वाट जाजरकोट जिल्लामा प्रवेश ग¥यांै । जाजरकोटकै खगेनकोट, रग्दा र भगवती गा.वि.स पार गदै भेरी नदीको झोलुड्डे पुल तरेर पुनः फेरि रूकुम जिल्लाको गोतामकोट गा.वि.स प्रवेस ग¥यांै । साँझ ६ बजे दामाचौर भन्ने ठाउँमा पुगेर बास बस्यौ । खाना त राम्रो थिएन नै बिस्तारा पनि फोहोर थियो तर पनि दिन भर पैदल हिन्दा थकित भएकोले होला चाँडै निदाइएछ ।

२७ गते बिहान ६ बजे दामाचौरबाट हिड्यौं । हिड्दै जाँदा यति अप्ठ्यारो ठाउँमा पुग्यौ कि पहराको भित्ता खोपेर बनाईएको साँघुरो खुट्टा मात्र अटाउने गोरेटो बाटो त्यसको करिब ५० मिटर माथिबाट जाजरकोट डोल्पा सडकको ट्रयाक खन्दै रहेछ । त्यहाँबाट बगेर आएको माटोले त्यी गोरेटो बाटो पनि पुरेकोछ । तल हेर्दा छाँगो भेरी नदी पनि एकै ठाउँबाट डोलिएर बगेकोमाथि हेर्दा भिर मात्रै देखिन्छ । छोप्ने ठाउँ पनि छैन । त्यस्तो खतरनाक ठाउँमा सबभन्दा पहिले जनक जी अगाडि लाग्नु भयो । उहाँले जहाँ जहाँ टेक्नु हुन्छ तिनै ठाउँमा टेक्दै म लागे । मेरो पछाडि वलामी जी । टेकेको माटो थोरै पनि लर्केको भए सिधै भेरी नदिमा । अहिले पनि सम्झदा आङ जिरिङ हुन्छ । त्यो भिर पार गरेपछि बल्ल लाग्यो साँच्चै दुस्साहस गरिएछ । दिउँसो ठिक १२ बजे त्रिवेणी भन्ने ठाउँमा पुग्यौं । त्यो ठाउँ कस्तो रहेछ भने तीन जिल्ला र तिन अञ्चलको संगम भेरी अञ्चलको जाजरकोट, कर्णाली अञ्चलको डोल्पा र राप्ती अञ्चलको रूकुम त्यहाँ उत्तरतिरबाट काँय गाउँ हुँदै एउटा खोला भेरीमा मिसिन आएको रहेछ । त्यसले डोल्पा र जाजरकोटको सिमाना छुट्याउँदो रहेछ ।

त्यस्तै अलि अगाडी पुग्दा दक्षिण पूर्वबाट तोषारे खोला भेरीमा मिसिन आएको रहेछ । त्यसले डोल्पा र रूकुमको सिमाना छुट्याउदो रहेछ । त्रिवेणीमा खाना खाएर तोषारे खोला तरे पछि हामी डोल्पा जिल्लाको ल्हाँ गा.वि.स मा प्रवेश ग¥यौं । हिड्दै थियौ साझ ४ः३० बजेतिर पानी प¥यो । छिटो छिटो हिडेर श्रीबिन्दि भन्ने ठाउँमा गएर बास बस्यांै त्यहाँबाट माथि अग्ला अग्ला पहाडहरू त हिउँ परेर सेतै ढाकेको देखिन्थ्यो ।

२८ गते बिहान करिब ६ बजे श्रीबिन्दि भन्ने ठाउबाट हिड्यौँ र १० बजे त्रिपुराकोट भन्ने ठाउँमा गएर खाना खायौँ । त्यहाँ बाला त्रिपुरासुन्दरी नामको मन्दिर रहेछ । त्यो त्यस क्षेत्रकै प्रसिद्ध तिर्थस्थल मानिँदो रहेछ । विजयादशमीको बेला सप्तमीदेखि नवमीसम्म र चैत्र अष्टमीमा पनि मेला लाग्दो रहेछ । करिब ११ बजेतिर खाना खाइसकेपछि दुनैको लागि हिड्यौ । करिब १ घण्टा हिँडेपछि डोल्पाको जुफाल एयरपोर्टको फेदीमा पुग्यौँ । जिल्ला सदरमुकाम दुनै र जुफाल एयरपोर्टबीचको दुरी करिब ३ घण्टाको पैदल यात्रा रहेछ । घरबाट हिडेदेखि नुहाउन धुन पाइएको थिएन । त्यही भेरी नदीमा नुहायौँ, कपडा धोयौँ र केही समय आराम गरेपछि हामी फेरि अगाडि बढ्यौँ । १ घण्टा जति हिडेपछि रूपागार्ड भन्ने ठाउँमा पुग्यौँ । त्यसको करिब ५०० मिटरमाथि दक्षिणतिर प्राकृतिक रूपमै तातो पानी बग्दो रहेछ । थुपै्र आन्तरिक र बाह्य पर्यटकहरू त्यहाँ नुहाउनका लागि आउँदा रहेछन् । दुनै सदरमुकाम पुग्नुभन्दा करिब १ किलोमिटर पहिले सुलीगार्ड भन्ने ठाउँ आयो । त्यहाँ उत्तरतिर से–फोक्सुन्डो तालबाट निस्केको सुलीगार्ड भन्ने खोला भेरी नदीमा आएर मिसिँदो रहेछ । यसरी हिँड्दै जाँदा हामी साँझ करिब ५ बजेतिर दुनै पुग्यौ । त्यहाँ पुग्दा त हर्कबहादुर आर.सी. (जसको सम्पर्कमा हामी डोल्पा आएका थियौँ), ७÷८ जना साथीहरू सहित हाम्रो स्वागतका लागि बजारको छेउमै आएर पर्खनु भएको रहेछ । भेट हुँदासाथ जनकजी र मलाई सेतो खादा ओढाएर हामी अघिअघि उहाँहरू पछिपछि बढो सम्मानसाथ दुनै सदरमुकाम घुमाउँदै वासस्थानमा लैजानु भयो । हामीसँगै जानु भएका प्रहरी कार्यालयका परिचर वलामीजी पनि त्यो देखेर दङ्ग परिरहनु भएको थियो । बजारवासीहरूले पनि अचम्म मान्दै हामीलाई नै हेरिरहेका थिए । साँझ खड्कबहादुर बुढाको घरमा बास बस्याँै । जुन घर हर्कबहादुर आर.सी. जीको ज्वाइँको रहेछ । काम विशेषले उहाँ नेपालगञ्ज जानु भएको थियो तर उहाँको श्रीमती लक्ष्मी बुढाले बढो सम्मानसाथ खान बस्न दिनु भयो ।

२९ गते बिहान खाना खान हामि हर्क ब. गुरूङ जीको घरमा गयौँ । उहाँ भर्खर निर्वाचन आयोगको कार्यालय डोल्पाबाट रिटायर्ड कर्मचारी हुनु हुँदो रहेछ । दिउँसो अरू साथीहरू पनि आउनु भयो । उहाँकै आँगनमा राजमो, डोल्पा जिल्लाको प्रथम भेला सम्पन्न भयो । भेलाबाट हर्कबहादुर आर.सी. जीको अध्यक्षतामा जिल्ला सङ्गठन समिति गठन गरियो । डोल्पा एफ.एम. ले प्रमुखताका साथ हाम्रो समाचार प्रसारण ग¥यो । साँझ त्यहीँ खाना खाएर राति करिब १० बजेतिर नजिकै रहेको खड्कबहादुर बुढाकै घरमा सुत्न आयाँै । अर्को दिन ३० गते राजमो जिल्ला सङ्गठन समितिका नवनिर्वाचित साथीहरू सहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला विकास समिति लगायतका डोल्पा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरूसँग भेटघाट गर्ने र नवनिर्वाचित समितिका साथीहरूलाई परिचय गराउने काम भयो । बजारभरि राष्ट्रिय जनमोर्चाको जिल्ला सङ्गठन समिति बनेको चर्चा थियो । बीचबीचमा साथीहरूलाई वधाई मिलिरहेको थियो । अघिल्लो दिन भेलामा आउन नसकेका केही साथीहरू पनि आउनु भयो । करिब २ घण्टा उहाहरूसँग पनि राष्ट्रिय जनमोर्चाको नीति तथा कार्यक्रम र देशको तत्कालीन राजनीतिक परिस्थितिबारे छलफल भयो । साँझ पनि विभिन्न विषयमा छलफल भयो । केही योजनाहरू पनि बने त्यसपछि भोलि बिहानै फर्कने कुरा गरेर हामी सुत्यौँ ।

चैत्र १ गते बिहान ६ बजे को सी.आई.एन. को साझा खबर सुन्याँै । त्यसमा प्रधान न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रीपरिषद् गठन भएको र त्यस क्रममा जन्मको आधारमा नागरिकता लिएकाहरूका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने, नागरिकताको प्रमाण पत्र बिना पनि मतदाता परिचय पत्र दिने, गम्भीर मानव अधिकार उल्लङ्घनकोे घटनामा संलग्न रहेकाहरूलाई आम माफी दिने गरी तयार पारिएको सत्य निरूपण तथा मेलमिलाप आयोगको प्रस्तावलाई मान्यता दिने लगायतका अत्यन्तै राष्ट्रघाती र जनविरोधी विषयहरूमा समेत ठूला चार दलको बीचमा सहमति भएको कुरा सुनियो । त्यहीँबाट पार्टीको केन्द्रीय कार्यालयमा सम्पर्क ग¥यौँ । त्यस निर्दलीय कदमका विरुद्ध जिल्ला सङ्गठन समितिको तर्फबाट एउटा विज्ञप्तीको ड्राफ्ट तयार पा¥यौँ र साथीहरूलाई व्यापक रूपमा त्यो विज्ञप्ती वितरण गर्न भनेर हामी हिड्योै । हामीलाई विदाइ गर्न बजारको छेउसम्म नै साथीहरू आउनु भयो । हामीले बिहान करीव ८.३० बजेतिर दुनै बजार छाड्यौँ ।

यसरी डोल्पा जिल्लामा अत्यन्तै भरपर्दा र जनस्तरमा स्थापित साथीहरूका बीचमा प्रथम जिल्ला सङ्गठन समिति निर्माण गर्न सफल भएकामा हामी अत्यन्तै हर्षित थियौ । बाटोमा थुप्रै कुराकानी गर्दै साँझ ६ बजे करवगार्ड भन्ने ठाउँमा आएर बास बस्यौँ, जुन ठाउँमा २०६७ साल श्रावण ३ गते राति १ बजे पहिरो आएर सङ्क्रान्ति मान्न आएका छोरीज्वाइँ सहित एकै परिवारका १० जनाको मृत्यु भएको रहेछ । खाना खाएर सुत्यौँ । एक छिनपछि खुबै चिलाउन थाल्यो । जनकजीलाई पनि त्यस्तै । उठेर लाइट बालेर हेर्दा त विस्तराभरि उडुस रहेछ । जनकजीले त लाइट बालेर उडुस मार्न थाल्नु भयो । रातभरि निद्रा लागेन । त्यो रात बिताउन साह«ै गाह्रो भयो ।

चैत्र २ गते बिहानै ५ बजे उठ्यौँ । सामान लिन जाने र सामान लिन आउने खच्चडहरूको लाइन सुरू भइसकेको थियो । हामी पनि खच्चडको हुलका पछाडि पछाडि लाइट बाल्दै हिड्यौँ । मेरो दाहिने खुट्टाको घुडानिर अघिल्लो दिन अलि अलि दुखिरहेको थियो । सो दिन करिब ४ घण्टा जति हिडेपछि मेरो खुट्टामा अत्यन्तै पीडा भयो । बाँया खुट्टाको पैतलानेर जुत्तामा प्वाल परेछ र त्यहीँनेर फोका पनि उठेछ । त्यसले भन्दा पनि दाहिने खुट्टाकोे घुडाको पीडाले हिँड्न नसकने भए । जनकजीले एउटा लौरो कताबाट खोजेर ल्याउनु भयो । त्यही लौरोको सहायताले अत्यन्तै मुश्किलले करिब १ बजेतिर दामाचौर भन्ने ठाउँमा आयौँ । त्यहाँ मेडिकलबाट पेन किलर खाएको करिब २० मिनेटपछि पीडा अलि कम हुँदै गयो । हामी लौरो टेक्दै अगाडि बढिरहयौँ । जाजरकोट डोल्पा सडकको बीचबीचमा पर्ने पहराहरू फुटाल्न बम व्लाष्ट भैरहेका थिए । त्यसका लागि ठाउँठाउँमा रोकिनु पथ्र्यो । फेरि व्लाष्ट भैसकेपछि अगाडि बढ्थ्यौँ । यसो गर्दै साँझ ६ बजे तेत्रगार भन्ने ठाउँमा आएर बास बस्यौँ । म थाकेर आराम गरिरहेको थिएँ । खुट्टा पनि अलि दुखिरहेको थियो । त्यहाँ बास बस्न आएको अर्को एक जनासँग जनकजीले कुरा गरिरहनु भएको थियो । कुरा गर्दै जाँदा त खुल्यो– त्यो त दलाई लामाको मान्छे रहेछ । उसका अनुसार “फ्रि तिब्बत” का लागि भारतले ठूलो लगानी गरेको रहेछ । त्यो मान्छेले पनि दिल्लीमा बसेर तिब्ब्ती भाषाको अध्ययन गरेको रहेछ । सो मानिसको भनाइ अनुसार तिब्बतबाट भागेर नेपालमा आएका तिब्बतीहरूमध्ये, जसले नेपाल सरकारसँग आत्मसमर्पण गरे, तिनीहरूले नेपालको नागरिकता पाएका रहेछन् । जसले आत्मसर्मपण गरेनन्, तिनीहरू नागरिकताविहीन रहेछन् । त्यो मानिस पनि नागरिकताविहीनमध्येको एउटा रहेछ । ३ गते बिहान उठेर फेरि एउटा पेन किलर औँषधी खाएर ६ बजेतिर त्यहाँबाट हिडयौँ र ८ः३० बजे राडीज्यूला पुग्यौँ । त्यहाँ पुग्दा जिप लागिरहेको रहेछ । त्यसमा चढेर छेपारेसम्म आयौँ र रिम्नामा आएर खाना खायौँ र त्यहाँबाट सल्ली बजारसम्मको टिकट लिएर बसमा चढयौँ । राती करिब ९ बजे सल्ली पुग्यौँ । उही पहिले डोल्पा जाँदा खाना खाएको जाजरकोटी होटेलमा बास बस्यौँ । ४ गते बिहानै ५ बजे सल्ली बजारदेखि नेपालगञ्ज जाने बसमा चढ्यौँ । छिञ्चु आएपछि जनकजी उत्रेर विदाइका हात हल्लाउँदै सुर्खेततिर लाग्नु भयो । म भने त्यही गाडीमा कोहलपुरसम्म आएँ ।

डोल्पा यात्रामा देखियो– नेपाली जनताको जीवनस्तर त कष्टकर छ नै, अझ त्यसमा पनि डोल्पावासी जनताको जीवनस्तर झनै कष्टदायी रहेछ । हामी सुर्खेतको छिञ्चुबाट भेरी नदी नछोडिकन कहिले वल्लो किनार कहिले पल्लो किनार हुँदै डोल्पाको सदरमुकाम दुनैसम्म पुग्यौँ । तर रुकुमको राडीज्यूला भन्दा माथि गएपछि भेरी नदी यति गहिरिएर बगेको रहेछ कि त्यसको दुवै किनारामा खेतीयोग्य जग्गा खासै देखिएन् । पर्याप्त मात्रामा बोटबिरूवाहरू पनि थिएनन्, दुवैतिर पहरैपहरो र दारे भिर मात्र । डोल्पाको ल्हाँ गाविस प्रवेश गरेपछि दुनैसम्म पुग्दा भेरीको किनारामा मुश्किलले २० कुन्टल खाद्यान्न फल्ने जग्गा पनि नभएको ठहर देखियो । जाजरकोट, डोल्पा सडक बन्ने कुराले डोल्पावासीमा केही आशाको सञ्चार गरे पनि अहिले खच्चड एक मात्र यातायातको साधन बनेको रहेछ । हवाई यातायात त छ तर अत्यत्तै महङ्गो सर्वसाधारणको पहुँचभन्दा बाहिर करिब १ हप्तासम्म लगाएर खच्चडले बोकेको सामान अत्यत्तै महङ्गोे दुनैमा १ कि.लो. चिनीलाई २०० र एक किलो सामान्य चामललाई १०० रुपैयासम्म पर्दो रहेछ । सहुलियतको खाद्यान्न पर्याप्त छैन । त्यसमा पनि टाँठाबाठा राजनीतिक दलका नेता÷कार्यकर्ताहरूले राजनीति गरेको पाइयो । त्यहाँको एउटा महत्वपूर्ण आय स्रोतको साधन यार्सागुम्बा रहेछ । त्यसको व्यवस्थित सरकारी नीति र उचित संरक्षण हुन नसक्दा केही वर्षमै लोप हुने त्यहाँका जानकारहरूले बताए । डोल्पाको धेरैजसो ठाउँहरूमा रेडियो नेपालले पनि टिप्दो रहेनछ । भर्खरै स्थापित डोल्पा एफएमले सञ्चारको क्षेत्रमा केही राहत दिएको रहेछ । जनताको राजनीतिक स्तर पनि अत्यन्तै पछाडि रहेछ । लोकतन्त्र, सङ्घीयता, राष्ट्रियता, संविधान सभा, दन्डहीनता जस्ता विषयमा करिब ९० प्रतिशत डोल्पालीहरू अनभिज्ञ रहेको बुझियो । भ्रष्टाचार पनि त्यहाँको प्रमुख समस्या बनेको देखियो । एउटा सडकका लागि छुट्याइएको २२ करोडमध्ये जम्मा २ करोड मात्र खर्च भएर २० करोड भ्रष्टाचार भयो भनी अख्तियारमा मुद्दा परेको रहेछ । डोल्पाली जनताको यस्तो अवस्थाप्रति सचेत नागरिक र सरोकारवालाहरूको अलिकति पनि ध्यान जान सके राम्रो हुन्थ्यो कि ?
~बासुदेब पोख्रेल (sahityasangraha.com)

२. साहित्यिक पत्रिकाहरूमा प्रकाशित नियात्रा सङ्कलन गरी त्यसका आधारमा एउटा नियात्रा लेख्नुहोस् ।
नेपालको हरिद्धार त्रिवेणी धाम
च्वाट्ट भन्ने बित्तिकै फ्याट्ट हिड्न कहिल्यै पाइएन । मनले चाहेर मात्रै पनि नहुने । हुन त मन न हो के के चाहन्छ चाहन्छ ? मनले चाहना गरेका सबैका सबै कुरा पुग्ने भए यो संसार नै अहिलेको जस्तो हुदैनथ्यो । न त समाज रहन्थ्यो न त संस्कृति नै । सबैले आफूलाइै राजा मात्रै होइन भगवान नै घोषणा गर्थे होला । जे होस् मान्छे कुनै न कुन बन्धनमा बाँधिनुको बाध्यता केवल आसा हो । आफ्ना इच्छा आंकाक्षा पूरा गर्ने लालसामा मान्छेले अर्कोले अस्थित्व स्वीकार्ने गरेको छ ।

मनले त अघिल्लो साल पनि इलामको सेरोफेरो नघुमेको होइन तर तनले पो घुम्न पाएन र । यो वर्ष दार्जीलिङ सिलुगढी, तातोपानी वा डोटी सिलगढीको चर्चा चल्दा तातोपानीलाई नै प्राथमिकतामा पारेको थिएँ मैले । तातोपानीलाई प्राथमिकतामा पार्नुका कारणहरु धेरै थिए । सबैभन्दा महत्वपूर्ण कारण त चीनमा खुट्टा टेक्नु थियो । नेपाल भारतको सिमानामा हुर्के बढेको म चीनको नामले मात्रै पनि उद्देलित हुन्थें । समाचार पत्रमा पढेको कुरा र टेलिभिजनमा देखिएका दृष्यहरुले मात्रै मन तृप्त हुन सकेको थिएन ।

हरेक भ्रमण स्वतन्त्र हुनु जरुरी हुन्छ । यस पटकको भ्रमण स्वतन्त्र हुने नहुने कुरामा मलाई दुबिधा भइरहेको थियो । केही वर्ष पहिला बाध्यताका भ्रमणहरु पनि गरेको थिएँ । मा वि तहका विद्यार्थीहरुको गोठालो जस्तै बनेर पाँच छ दिन दुई चार पटक तनाव खेपेको पनि थिएँ । त्यतिबेलाका घुमाइ घुमाइ नबनेर गुमाइ बन्ने गरेका थिए । भए भरका बिद्यार्थीहरुलाई भेडाबाख्रा हुले जस्तै सकिनसकी खाँजेर भिरको बाटो दौडाएपछि के हुन्छ ? सजिलै अनुमान लगाउन सक्नु हुन्छ ।

यस पटकको यात्रा कठिन हुदैन भन्ने पूर्व अनुमान लगाइसकेको थिए । उमेरको हिसावले भ्रमण दलको जेष्ट नागरिक म नै थिएँ । संख्यात्मक रुपले भिडभाड पनि थिएन । कसैको जिम्मेवारी वहन गर्नै पर्ने बाध्यता पनि थिएन । साँक्षीसम्म बस्नु पर्ने आवश्यकता भए पनि साँक्षीको जिम्मेवारी वहन गर्ने प्रकाश अर्याल सर र संगिता मिस सङ्गै भएपछि म ढुक्क थिएँ । उमेरले जेठो हुनु कतिपय ठाउँमा घाटा भए पनि कतै न कतै त फाइदा नै हुदो रहेछ । यस पटक मैले जेष्ठ उमेरको फाइदा उठाउनै पथ्र्यो ।

तातोपानी भम्रणका लागि मङ्सिर महिना उपयुक्त हो वा होइन ठ्याक्कै थाहा भएन । हिमाली प्रदेश अन्र्तगत पर्ने भएकोले केही चिसो पक्कै हुन्छ भन्ने अनुमान लगाउन कठिन थिएन मलाई । मङ्सिर दुई गते नै भ्रमणका कतिपय तयारीहरु पूरा भइसकेका थिए । कक्षा १२ का विद्यार्थी सहित जम्मा जम्मी बत्तिस जना भ्रमण टोलिमा सामेल हुने फिक्स भइसकेको थियो । मङ्सिर तीन, २०७६ को साँझपख हाम्रो यात्रा सुरु हुने भयो । म बाहेक सबै बर्दिया बाँसगढीको ने रा मा वि लक्ष्मणपरुबाट गाडी चढ्ने भए म भने बाँकेको कोहलपुरबाट । बिस बिस किलो मिटर उल्टो बाटो हिड्नुको पनि त अर्थ थिएन ।

राति दश बजे दाङको रिहार पुगेको हाम्रो गाडीले एक्कासी आँखा चिम्लियो । औंसीको रात, गाडीका आँखा बन्द भएपछि हाम्रै आँखा बन्द भए जस्तो भयो । जङ्गलको बाटो न खानु, न सुत्नु ? न त हिडेर नै अगाडि बढ्न सक्ने अवस्था ? संसार नै अन्धकार भए जस्तो भयो । हरेक बिकल्पहरु खोजे गाडीका स्टाफहरुले । सबै बिकल्पहरुले फेल खाए । गाडीकै डाक्टरलाई देखाउनु पर्ने देखियो । रातिको समयमा यो पनि सम्भव नै देखिएन । कनेक्सन मात्रै छुटेको हो कि भनेर स्टाफहरुले नै प्रयास गरिरहेका थिए । तर रहेन छ । लाइटको मुख्य भाग नै बिग्रिएको भन्नेसम्म पत्ता लाग्यो । कुनै उपाय नदेखिएपछि टर्च लाइटको सहयोगमा मुस्किलले सतबरियासम्म पुगियो । पहिलो दिनको यात्राले हामीलाई निरास बनायो ।

बिग्रेको गाडीमा रात काट्नु कम पीडादायक हुँदो रहेनछ । एघार बजेतिर मित्र केशव निमेषलाई फोन गरें रिचार्जका लागि । राति होस् वा दिन जतिबेला र जहाँ भए पनि केशवजीबाट सहयोग हुने गरेको थियो मलाई । ‘कहाँ पुग्यौ ? खाना खायौ ? बस्ने ठाउँ कस्तो छ ? साथी को छ ?’ जस्ता तमाम प्रश्नहरु धेरैलाई धेरैले सोधेको सुनिन्थ्यो । गाडीले दिएको समस्या सुनाएर घरमा समस्या पार्न मन लागेन । मनमा छटपटि त थियो नै । मनको छटपटि लुकाउनु पर्ने बाध्यता थियो प्रकाश सर, संगिता मिस र मलाई । हामी नै आत्तिए उनीहरु झन छट्पटाउने निश्चित थियो । प्रकाश अर्याल सरले बिभिन्न प्रसङ्ग निकाल्दै रमाइलो गरिहनु भएको थियो । उहाँमा हँसाउने कला राम्रै थियो ।

केटाकेटीहरु जो जहाँ बसे पनि छुट थियो । रोजेका र मन मिल्ने साथीहरुसँग बस्न पाउँदा रमाएका थिए । कोही कोही अगाडि बस्न मन गर्थे भने कोही पछाडि एकान्त पर्ने गरी बस्ने चाँजोपाजो मिलाउने धुनमा देखिन्थे । उमेरले बीसको हाराहारीका थिए सबै । यो उमेरका बिद्यार्थीको पछि लागिरहनु उपयुक्त पनि थिएन । आफ्नो बारेमा आफै सोच्न सक्थे उनीहरु ।

मङ्सिर महिना भएकोले रात छिप्पिदै गएसँगै जाडो पनि बढ्दै गएको थियो । सबैले आ आफ्ना जकेट र कम्बलहरु ओढ्न थालेका थिए । रातको साढे बाह् बजे (पि के) प्रेम खत्रीलाई खै के भयो थाहा भएन एकाएक सेन्डो समेत खोलेर ‘गर्मी लाग्यो’ भन्दै गाडी बाहिर निस्कन खोजे । हामीलाई अचम्म लाग्यो । बढ्दो यौवन, उसकुसमुकुस र छटपटी भयो होला भन्ने लाग्यो । यो दृश्य देखेर हामीलाई निकै हाँसो उठ्यो पनि ।

उज्यालो भएपछि गाडीलाई आँखा चाहिएन । हामी लमही पुग्यौं । अटोपार्ट खोज्दा खोज्दै आठ बज्यो । गाडीको लाइट कनेक्सन गर्ने सबै बक्स नै फेर्नु पर्ने भएछ । अण्डा, चना र चिया खाएर गाडीको पर्खाइमा बस्यौं । दशबजेसम्म काठमाण्डौ पुग्ने हिसावले हिँडेका हामी लमहीबाट पौने दशमा मात्रै प्रस्थान गर्‍यौं ।

गाडीले धोका दिएसँगै हाम्रो भ्रमणको रुट परिवर्तन भयो । फर्कदा घुम्ने भनेको त्रिवेणिधाम जाँदा जादै घुम्ने सोच बन्यो । हिड्दा हिड्दै जिन्दगीको यात्रामा पनि ठक्कर लाग्यो भने विकल्प त खोज्नै पर्छ भन्ने ज्ञान दिदै थियो यो भ्रमणले । बर्दघाट चिसापानीमा पौने तीनबजे अधिकारी स्टाफ भोजनालयमा खाना खाएर वर्दघाट हुँदै त्रिवेणितिर मोडियौं । कतै चौडा कतै साँघुरो, कतै सिधा कतै घुमाउरो, कतै खाल्टाखुल्टी त कतै सिलिक्क परेका बाटाहरु पार गर्दै हामी अगाडि बढ्यौ ।

त्रिवेणिधाम पुग्न वर्दघाटबाट करिव सत्राइस कि.मि. दक्षिणतिर जानु पथ्र्यो । बाटामा अनेक दृश्यहरु हेर्दै हामी अगाडि बढिरहेका थियौं । दायाँ बायाँ पहेंलै देखिने तोरी बारी । हरियै देखिने गहुँ र उखुबारीले नेपाल साँच्चिकै कृषि प्रधान देश हो भन्ने प्रमाणित गर्दै थिए ।

सुनवल चिनी मिलका लागि तयार गरिएको उखु खेती थियो यो । कृषकहरुले ऋण सहयोग गरी लगाएका । उखुको मुल्य नमिलेर कृषकहरु आन्दोलित भएका थिए । सिंहदरवारमा धर्ना दिएको महिनौं बितिसक्दा पनि सरकारले समस्या सामाधान गर्न सकिरहेको थिएन । ‘ज्यान दिन तयार छौं रित्तो हात फर्कन्नौं’ कृषकहरुको मुख्य नारा नै थियो यसपटक । यो आन्दोलनले राष्ट्रिय रुप नलिओस भन्ने थियो हामीलाई ।

प्रतापपुर गोपिगन्जबाट बायाँ मोडियौं र फेरि दक्षिण लाग्यौ हामी । बाटो वरिपरि विभिन्न प्रकारका निर्माण कार्यहरु हँुदै थिए । स्थानीय तहलाई बढी अधिकार दिएपछि हरेक ठाउँमा विकासले गति लिन थालेका थिए । बाटोमा कालो वालुवा थुपारिएको देखिन्यो । हाम्रोतिर सेतो वालुवा हुन्थ्यो यता कालो हुँदो रहेछ ।

खजुरा पुल तरेर केही अगाडि गएपछि गण्डक नहर देखियो । सप्तगण्डकीमा बाँध बाँधेर भारतले नेपालमा नामको नहर र भारतमा कामको नहर बनाएको थियो । नहर गहिरो र चाक्लो थियो तर पानी थिएन । नारायणीमा बढी पानी हुँदा मात्रै खोल्ने उद्देश्यले बनाए जस्तो । नेपालमा भारतले निर्माण गरेको कोशी ब्यारेज होस् वा महाकाली ब्यारेज या त गण्डक ब्यारेज नै कुनै पनि नेपालको हितमा देखिएका थिएनन् । यिनै ब्यारेजहरुको आड लिएर भारतले धेरै पटक नेपाली भू–भाग माथि ठाडो हस्तक्षेप गर्ने गरेको थियो । सुस्ता माथिको भारतीय हस्तक्षेप एउटा ज्वलन्त उदाहरण थियो ।

२०५२ तिर कोशी ब्यारेकमा पुगेको थिएँ भने २०७१ ताका महाकाली ब्यारेजमा । के नेपालले भारतसँग यस्तै सम्झौता गरेको होला ? कि भारतले सम्झौता एउटा काम अर्को गर्छ ? हाम्रा सासकहरु किन यति निरिह बनेका होलान् ? छिमेकीको सानो घर छ भन्दैमा हेप्नु त भएन नि ? कोशीमा धोका खाएका हाम्रा शासकहरु गण्डकीमा किन फसे ? के को लोभमा महाकाली नदी भारतलाई कुश समातेर सुम्पिए ? भारतीयहरुको इच्छा बमोजिम नहरका ढोका खोल्ने सर्तमा किन हस्ताक्षर गरे ? यी र यस्तै तमाम प्रश्नहरु देशभक्त नेपालीको मनमा उहिलेदेखि अहिलेसम्म खेलिरहेका छन् । मातृकाको पालामा कोशी सम्झौता, विपी कोइरालाको पालामा गण्डक सम्झौता र गिरिजाको पालामा महाकाली सम्झौता भएको पाइन्छ । भारतले किन यी यस्ता सम्झौताहरुमा कोइराला परिवारलाई नै रोज्यो ? मेरो मनमा खेलेको अनुत्तरित प्रश्न हो यो । यात्रामा हौँसिएको मन नहरको पानी देखेर मलिन भयो । चित्त दुखाउनु बाहेक कुनै बिकल्प थिएन हामीसँग ।

नहर तरेर फेरि नहरको ढिकैढिक पूर्व दक्षिणतिर हानियौं । बाटामा साना–साना टहरामा पसलहरु देखिए । जतिजति दक्षिण हानिदै थियांैं उतिउति भारततिरै हिडेका पो छौं कि जस्तो पनि लाग्दै थियो । भारतीय नम्बर प्लेटका गाडीहरु निर्वाध रुपमा गुडेका थिए । हेल्मेट बिनाका र तीन तीन जना बोकेर बेतालले हुइँकिएका मोटरसाइकल देखेपछि भारत जस्तो लाग्नु स्वभाविकै पनि हो ।

चारबजे त्रिवेणि धाम पुगियो । सुन्दरताको हिसावले मनमोहक थियो यो क्षेत्र । सोना भद्रा, तपसा नदी र नारायणी नदीको संगम स्थल भएकोले यो क्षेत्रलाई त्रिवेणी भनिएको थियो भने यस स्थानको नजिकै हरिहर क्षेत्र, वाल्मिकी आश्रम र देवी घाट जस्ता प्राचिन धार्मिक स्थलहरु रहेकोले पनि यो क्षेत्र प्रसिद्ध त्रिवेणि धामका नामले परिचित हुन पुगेको मानिन्छ । तत्कालिन सुस्ता गा.वि.स.अन्र्तगत पर्ने यो क्षेत्रको उल्लेख कालिदासले रघुवंशमा समेत गरेको पाइन्छ । जनकवंश, वराहा र स्कन्द पुराणमा समेत चर्चा गरिएको यो रमणीय स्थानमा स्वर्गबाट अप्सराहरु स्नान गर्न आउँथे रे भन्ने किम्वदन्ति सुन्न पाइन्छ ।

गजेन्द्र मोक्ष धाम, भक्तिश्वर शिव मन्दिर, नागा बाबा कुटी, कोटी होम, राधाकृष्ण मन्दिर लगायतका थुप्रै धार्मिक स्थलहरुका कारण त्रिवेणि धाम तिर्थालुहरुका लागि स्वर्गको एक टुक्रा जत्तिकै प्रिय रहेको मानिन्छ । पितृश्राद्ध, तर्पण, चुणाकर्म, उपनयन जस्ता कर्मको लागि विशेष महत्व रहेको मानिने यस क्षेत्रमा होली, बुद्ध पूर्णिमा, कार्तिके मेला, कुम्भ मेला जस्ता विशेष मेला तथा पर्वहरु लाग्ने गरेको कुरा स्थानीयहरुले बताए । हामी कुनै मेलाको बेलामा भने परेनौं । यी हरेक मेलाहरुमा नेपालीहरुको भन्दा भारतीयहरुको उपस्थिति रहनु यस क्षेत्रको बिशेषता मानिदो रहेछ । मौका मिलेमा कुनै न कुनै मेलामा सहभागी हुनु पर्ला भन्ने लाग्यो ।

संस्कृत विश्वविद्यालयले त्रिवेणि धामलाई प्राचिन ऐतिहासिक धार्मिक स्थलकारुपमा प्रचारप्रसार गर्न सहयोग गरिरहेको थियो । विभिन्न स्थानबाट वटुकहरु अध्ययन गर्न आउने गरेको कुरा दश वर्षदेखि गजेन्द्र मोक्ष धाम नजिकै किराना व्यवसाय सञ्चालन गर्दै आएका पर्वतका गणेश पौडेलले बताए । अध्ययन गर्ने सिलसिलामा आफू यस स्थानमा आएको उनको भनाइ थियो ।

त्रिवेणि पारि अर्थात नारायणी नदी पारि चितवन राष्ट्रिय निकुञ्जको अन्तिम भाग देखिन्यो । जङ्गलभित्र प्रसिद्ध वाल्मिकी आश्रम पर्दथ्यो । वाल्मिकी आश्रमलाई त्रेतायुगको मानिन्छ । लभ कुशको जन्म स्थान, सीता पृथ्वीमा विलिन् भएको स्थान र ऋषि वाल्मिकीद्धारा पहिलो पटक रामायण लिपिवद्ध गरेको स्थानदेखि यश्मेघ यज्ञका लागि भगवान रामद्धारा छोडिएका घोडाहरुलाई लभ र कुशले बन्धक बनाएको स्थानका रुपमा परिचित थियो यो स्थान । डुङ्गा तरेर नारायणी पार गरी करिब आधा घण्टा हिडेपछि मात्र यो आश्रम आउने भएकोले यहाँसम्म पुग्न हामीलाई समयले साथ दिएन ।

हामी गजेन्द्र मोक्ष धामतिर लाग्यौं । गजेन्द्र मोक्ष धाम निकै सुन्दर थियो । दुबैतिर उभिएका अशोकका रुखहरुले गजेन्द्र मोक्ष धामलाई झनै सुन्दर बनाएका थिए । संस्कृत पिठ विद्याश्रम पनि गजेन्द्र मोक्ष धामकै परिसरभित्र रहेछ । बाटामा बटुकहरु देखिए । यो धाम पुग्नु पूर्व नै सिसमहल आउँथ्यो । प्रति व्यक्ति रु १० का दरले टिकट काटी सिसमहल हेरियो । सिसैसिसाबाट कलात्मक तरिकाले निमार्ण गरिएको यो महलभित्र छिरेपछि सबैजना खुब रमाए । एकले अर्कालाई हेरेर फोटा खिचाए ।

गजेन्द्र मोक्ष धामको अगाडि दुई ठूला हात्तीहरु थिए । हात्तीले धामलाई तानेजस्तो लाग्थ्यो । धामभित्र विभिन्न कलाकृतिहरु थिए । त्रिवेणी क्षेत्रको सबैभन्दा महत्वपूर्ण क्षेत्रका रुपमा गजेन्द्र मोक्ष नारायण मन्दिरलाई मानिन्छ । यो मन्दिर सुन्दर कलाकृतिबाट निर्माण गरिएको छ । गजेन्द्रमोक्ष धामको भित्रि भाग दक्षिणी भारतीय कलाकृतिबाट निर्माण गरिएको छ भने बाहिरी भाग नेपाली कलाशैली प्यागोडा शैलीमा निर्माण गरिएको छ ।

त्रिवेणी धामलाई नेपालको हरिद्धार पनि भनिन्छ । ऐतिहासिक, पुरातात्विक, धार्मिक स्थलका रुपमा रहेको यो मन्दिरको बारेमा श्रीमद् भागवतको आठौं स्कन्दको दुई, तीन र चार अध्यायमा चर्चा गरिएको छ । हात्तीहरुका राजा गजेन्द्र आफ्नै ढोई सहित जलक्रिडामा आएको बेला नदीमा रहेको गोहीले गजेन्द्रको खुट्टा समातेर नछोडेको, गोही र हात्तीको बिचमा युद्ध चलेको, अन्तिममा कुनै पनि उपाय नलागेपछि गजेन्द्रले विष्णुको शरण परेको र भगवान विष्णु गरुडमा सवार भई गोहीको सिर छेदन गरी गजेन्द्रको संकट मोचन गरेको प्रसंग विभिन्न पुराणहरुमा समेत उल्लेख गरिएको पाइन्छ ।

विनयी त्रिवेणी गाउँपालिका वडा न. ६ परासीमा रहेको त्रिवेणी क्षेत्रको उत्खनन्बाट गक्षशिला, गोही र हात्तीको खुट्टाको छाप प्राप्त भएको मानिन्छ । त्रिवेणी धाम गजेन्द्र मोक्ष दिव्य धामले समेत चिनिन्छ । जहाँ भगवान विष्णु स्वयम् प्रकट भएको किम्वदन्ति रहेको छ । मन्दिरको परिसर, मन्दिरभित्र र बाहिर कुँदिएका विभिन्न आकृतिहरु, मन्दिरको सौन्दर्यता र हात्तीद्वारा गजेन्द्रमोक्ष धामलाई नै तान्दै गरेको जस्तो दृष्य निकै लोभलाग्दो देखिन्छ ।

नारायणी नदीको तटमा रहनु, पहाड, तराई र वनजंगलीय वातावरण रहनु यो क्षेत्रको लागि एउटा महत्वपूर्ण पक्ष हो । नारायणी नदीको किनारमा रमाउनेहरुको संख्या प्रचुर मात्रामा देखियो । विभिन्न मन्दिर तथा कलाकृति एवम् नदीलाई पृष्ठभूमिमा राखेर विभिन्न तस्वीरहरु खिचियो । रमाइयो र समय बिताइयो । सूर्यको प्रकाश पृथ्वीमा रहँदासम्म निकै रमाए हाम्रा विद्यार्थीहरु पनि । अघिल्लो दिन गाडी बिग्रिएर पाएको दुःख यो धाम हेरिसकेपछि फ्रेस भएका थियौं हामी ।

मितेरी पुलमा मितेरी

साँझको आठ बजे मात्र शास्वत धाम पुगियो । पुग्नुपर्ने ७.३० भित्रै रहेछ । १४ वर्ष लगाएर निर्माण गरिएको शास्वत धामको निर्माण शैली निकै कलात्मक देखियो । शिव मन्दिर यस शास्वत धामको प्रमुख आर्कषक हो । शास्वत धामको परिकल्पना जगतगुरु शंकराचार्यबाट भएको थियो । पूर्वीय सनातन धर्मप्रति आस्थावान शास्वत धाममा मानिसले आध्यात्मिक उर्जा प्राप्त गर्नसक्ने बताइन्छ । शास्वत धाममा १२ राशी र २७ नक्षत्रको प्रतिनिधित्व हुने गरी वरपिपल र अशोकका रुखहरु लगाइएको छ । साँझको बेलामा अत्यन्तै मनमोहक देखिने यो धामभित्रलाई पृष्ठभूमिमा पारेर प्रमाण स्वरुप केही थान फोटाहरु खिचियो रअगाडि बढियो ।

यात्रा जारी थियो । रातको १२ बजे गजुरीमा गाडी रोकियो । चिसो बढेकोले चिया पिउन मन लाग्यो । अन्यत्रभन्दा केही महङ्गो पैसा तिरेर चिया पियौं । ‘नाच्बु छमक् छमक्…’ भन्ने गीत सुनेर सबै जुर्मुराए । गाडीमा निदाएकाहरु पनि जर्‍याक जुरुक उठे । थारु गीतमा छुट्टै मौलिकता पाइन्छ । चर्को चर्को स्वरमा वाजाहरु बझाउनु थारु गीत र थारु समुदायको बिशेषता नै हो । हामीसँग थुप्रै थारु समुदायका विद्यार्थीहरु थिए । पूजा रावत, विना थारु र रमिता थारु लगायतको टोली गाडीभित्रै नाच्न थाले । अरु विद्यार्थीहरुले ताली पिटेर हौस्याइरहेका थिए । यो नाच झन्डै एक घण्टा बढी नै चल्यो ।

रातको दुई बजे हामी काठमाडौं पुग्यौं । सोमनाथबाट गाडीको स्ट्रिङ्ग रोशन गुरुङ्गको हातमा पुग्यो । बाग्मती आयल सप्लार्यसमा तेल भरी भक्तपुरतिर लागियो । हाम्रो यात्रा तातो पानीसम्मको थियो । मितेरी पुलसम्मको थियो । अझ भनौं चीनको स्वसासित क्षेत्र तिब्बतको ल्हसासम्मको थियो । बिहानसम्म जसरी पनि मितेरी पुल पुग्ने मनसायले गाडीले यात्रालाई निरन्तरता दिएको थियो । हामीसँग रहेका बिद्यार्थीहरु जाडोले गुडुल्की परेका थिए । ओढ्ने बन्दोबस्त गर्न नसकेका बिद्यार्थीहरु काइँ र कुइँ गरेको सुनिन्थ्यो ।

पछिल्लो समय नेपालको विकासले गति लिएको थियो । बाटाघाटा चौडा हुन थालेका थिए पुराना बाटा र रुटहरु परिवर्तन भएका थिए । बनेपा पुगेपछि गुरु अल्मलिए । कस्लाई सोध्नु ? धन्न संचारले निकै सजिलो बनाएको छ यात्रालाई । गुरुको नजिकै बसेका कृष्ण बि सि ले मोवाइलमा एप खोलेर बाटो हेनै थाले । नक्साले १२ किलोमिटर ३० मिनेट भनेर पाँचखाललाई देखायो । मलाई भने शंका लाग्यो । एपले देखाएको बाटो समातेर केही अगाडि पुगेपछि ‘बाटो बन्द छ’ भन्ने बोर्ड लगाएको भेटियो । अब पुनः फर्कनुको विकल्प रहेन । धन्न एकजना स्थानीय भेटिए । ‘यो बाटो जाँदैन, अगाडि चोकमा पुगेर बाँया मोडिनु होला’ भने हामीेले उनैको निर्देशन मान्यौं ।

पाँचखाल आउन पाँचै किलोमिटर बाँकि थियो । बेगम थापालाई फोन लगाएँ । तीन साढे तीन जति भएको थियो । निद्रादेवीले कुन दुनियामा घुमाउँदै थिइन् । मेरो फोनले गुहार पाएन । चार वर्ष पहिला यिनै मित्रको सहयोगमा पलान्चोक भगवतीको मन्दिरसम्म पुगेको थिएँ । पाँचखालमा बास बसेको थिएँ । पलान्चोक मा वि का प्रधानाध्यापक मेरा मित्र बेगम थापा कोहलपुरका स्थायी वासिन्दा थिए । त्यसैले पाँचखालमा बस्ने मौका जुरेको थियो । चीनबाट ल्याइने पेट्रोलियम पदार्थको भण्डार गर्ने डिपो पाँचखालमा निर्माण गर्ने हल्ला भारतले नेपालमा नाकाबन्दी गरेको वेला चलेको थियो । निर्माण कार्य के भयो भनेर बेगम सरसँग सोध्न मन थियो फोनै उठेन । मनको कुरो मनमा नै रह्यो ।

सुनकोशीको तिरैतिर कतै कच्चि त कतै पक्की बाटो पार गर्दै हामी अगाडि बढिरहेका थियौं । चिनको मुख्य भन्सार जाने बाटोको यस्तो हविगत देख्दा दुःख लाग्यो । अन्य स्थानको वजेटलाई कटौति गरेरै भए पनि त यो बाटो बनाउनु पर्ने । चिनबाट ढुवानी सहज हुने बित्तिकै नेपाललाई भारतको अगाडि लम्पसार पर्नु पर्दैनथ्यो । भारतको अगाडि सधैँ लम्पसार पर्ने बानी परेका नेपालका नेताहरुले कहिले सोच्लान् खै यो कुरा ? दुरीको हिसावले भारतभन्दा चिन नजिक पनि त थियो काठमाण्डौंबाट ।

३६ किलोमिटर बाँकी देखाएको थियो बाह्विसे पुग्न । मिर्मिरे उज्यालो हुने तरखरमा थियो । चकमन्न रातमा आकाशभरि तारा लागे जस्तै पाखाभरि बत्तीहरु बलेका देखिन्थे । कति सुन्दर देखिएका पाखाहरु ? तराइमा हुर्के बढेकालाई यत्तिको देखेपछि के नै चाहियो र ? केटाकेटी जस्तै झ्यालबाट टाउको तानी तानी हेरें निकै बेरसम्म । कहाँको पाखो होला यो ? के भनिन्छ होला यो पाखोलाई ? यी पाखाहरुमा कुन समुदायका मान्छेहरु बस्छन् होला ? विद्युतको सुविधा त देखियो खाने पानी र यातायातको सुविधा छ कि छैन होला ? मनमा थुप्रै जिज्ञासाहरु थिए तर यी जिज्ञासाहरु पुरा हुने पक्षमा थिएनन् ।

हाम्रो गाडी बाह्बिसे प्रहरी चौकीबाट उत्तरतिर मोडियो । सोमनाथले गाडी चलाउन सुरु गरे । साँगुरो बाटोलाई पच्छ्याउँदै हामी भोटेकोशीको मुहानतिर लम्कदै थियौं । बाटो ठाउँठाउँमा भत्किएको थियो । २०७२ को भूकम्पमा भत्किएको रे । भूकम्प गएको पनि चारचार वर्ष भइसकेको थिथो बाटो बन्न अझै कति चार वर्ष पो लाग्ने हो ? गौडो बन्द भएपछि सबै बन्द हुन्छ भन्छन् बुज्रुकहरु, हाम्रा बन्द भएका गौडाहरु कहिले पो खुल्ने हुन् खै ?

चिया पिउन मन लागेको थियो । जिर्ण पुल र बिग्रिएको बाटोले हैरान थिए गुरु पनि । ‘यस्तो बाटो छ भन्ने जानेको भए रामराम आउने थिइन ।’ गुरुको कुराले मनमा चस्को पस्यो । बाटो साँच्चिकै साँगुरो र डर लाग्दो हुँदै थियो । ‘कतै……..?’ मनले सोच्ने नसोच्ने सब सोच्यो । अनेकानेक प्रश्नहरु मनभित्र बुर्कुसी मार्न थाले । मनलाई जसरी पनि सम्हाल्नु पथ्र्यो । हुन पनि आजसम्म गाडी दुर्घटनाबाट हजारौं मान्छेहरु मरेका छन् तर गाडीमा चढ्न त कोही छोडेका छैनन् ? हवाइ दुर्घटनाबाट आजसम्म कति मरे मरे तर प्लेन चढ्न कसले पो छोडेको छ र ? ‘हुने हार दैव नटार भन्छन्’ भविष्यको कुरा कसलाई पो थाहा छ र ? मन दहे बनाउनुको कुनै विकल्प पनि त थिएन ।

बाटो बाहेक वारिपारि त घरिघरि मात्रै हेर्न भ्याइयो । गुरु नै डराएपछि त सक्कि गो नि ? जस्तासुकै पाखा पखेरा र खोल्सा खोल्सीमा रमाउने मान्छे हुँ म । तर जतिपछि उति बिग्रिएको बाटो हिड्नु पर्दा मन चङ्गा हुन सकेको थिएन । उज्यालोसँगसँगै साँगुरो र भिरको बाटो देखेर आधा जसो बिद्यार्थीहरु निउरीमुन्टे न बनाएर आँखा चिम्लिसकेका थिए ।

हामी कोदारी राजमार्गमा थियौं । बाटामा सुन्दर झरना देखियो । बेतालसँग हाम फालेको पानीले सबैको मनलाई खुशी बनायो । गाडी स्लो गर्न लगाइयो । केही बेर हेरेपछि यात्रा अगाडि बढ्यो । बाटामा पर्ने विभिन्न खोलामा पुलहरु पुनःनिमार्ण हुदै थिए । कतै खोलाबाट त कतै जिर्ण रहेका पुल पार गर्दै हामीले हाम्रो यात्रालाई निरन्तरता दिइरहेका थियौं । २०७२ को भूकम्पको कारण लामो समयसम्म चीनसँग जोडिएको कोदारी राजमार्ग पूर्णरुपले बन्द थियो । अहिलेसम्म पनि काम चलाउकै रुपमा थियो यो बाटो ।

हामी चीनको सीमाना नजिक पुगिसकेका थियौं । तातोपानीको दश किलोमा उपल्लो भोटेकोशी जलविद्युत आयोजनाको बाँध थियो । यो बाँध पारिको भूभाग चीनको थियो । मैले पहिलो पटक तातोपानीबाट चीनको भूभाग देखेको थिएँ । दश औला जोडी नमन गरें । हुन पनि त छिमेकीलाई सम्मान गर्ने देशका नागरिक हौं हामी । निभेको आगो लिन हामी छिमेकमा नै त जाने गर्छौं । अर्मपर्म र सरसापट छिमेकीबाट नै त हुने गर्छ । मर्दापर्दा छिमेकीको मन नखाएर अरुको खाने कुरा पनि त हुदैन । धेरै पटक सुनेको र केही पटक पढेको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनामा चिनीयाहरुबाट पुनः निमार्णको काम जारी थियो ।

उपल्लो भोटेकोशी जल विद्युत आयोजना नीजि क्षेत्रबाट सञ्चालित नेपालकै दोस्रो जल विद्युत आयोजना थियो । प्राकृतिक प्रकोपबाट पटकपटक थलिएको यो आयोजना झण्डै आधा दशकदेखि उठ्न सकेको थिएन । निजी क्षेत्रको भोटेकोशी पावर कम्पनी द्वारा सन् २००१ देखि विद्युत उत्पादन शुरु गरेको उपल्लो भोटेकोशी जल विद्युत आयोजनाले ४५ मेघावाट क्षमताको विद्युत उत्पादन गर्दथ्यो । दैनिक असी लाख आम्दानी गर्ने यो आयोजना कहिले भोटेकोशीको बाढी, कहिले जुरे पहिरो, कहिले चाकु खोलाको बाढी त कहिले भुकम्पले थिलथिलिएको थियो ।

तातोपानीको १० किमीमा बाँध बाँधेर ३.५ किमीको सुरुङ बनाई फुलपिङ कट्टी झिर्पु स्थित विद्युत गृहमा पानी खसालिएको थियो । कहिले बाँध, कहिले गेट, कहिले डिसेन्डर पर्खाल, कहिले ट्रान्समिसन लाइनको टावर भत्किएर क्षती पुगेको यो जलविद्युत आयोजनाको पुनःनिर्माण चीनको सिनो हाइड्रो व्युरो कम्पनीले झण्डै सात अरब लगानीमा पुनःनिर्माणको काम सम्पन्न गर्दै थियो । बाँधभित्र रोकेर राखिएको पानी अत्यन्तै सफा र सुन्दर थियो । पानी देखेर मोहित भयो मन ।ं

बाटोमा चिनियाहरु बाक्लै देखिन थालेका थिए । यो देख्दा लाग्थ्यो हामी मितेरी पुल नजिकै आइपुगेका छौं । चाकुबजार सिन्धुपाल्चोकबाट उत्तरपश्चिम हुँदै हामी चीनको स्वसासित क्षेत्र तिब्बतको खासा बजारतिर लम्कदै थियौं । तराइमा हुर्के बढेका हामीलाई पहाड र हिमालका दृश्यहरुले नलोभ्याउने कुरै भएन । बाटामा देखिएका हरेक दृश्यहरु हाम्रा लागि नौला थिए । पश्चिम तराइको एउटा कुनाबाट पहाड छिचोल्दै हामी हिमाली प्रदेशमा पुगेका थियौं । अझ भनौं भारतको सीमा नजिकको माटोको गन्ध बोकेर हिमाली सुगन्ध खोज्न निस्किएका थियौं ।

बिहान ८ः०० बजे हाम्रो गाडीले विश्राम लियो । हामी नेपाल चीनको सीमानामा थियौं । मितेरी लिपिङ पुलले दुई देशलाई छुट्टाएको थियो । भोटमा जन्मिएको भोटेकोशी मितेरी पुलमा मित लगाउन आइपुगेको थियो । जसरी तराइमा बसोबास गरिरहेका हामी मितेरी पुलमा मितेरी लगाउँदै थियौं । लाग्थ्यो मीठो सङ्गितमा गीत गाउँदै नाच्दै छ भोटेकोशी । नेपालमा समाहित हुन पाएकोमा फुरुङ्ग भएको छ ऊ । नेपाल मन पर्छ उसलाई । नेपालीको मायाले लोभ्याएकोले त हिडेको हो ऊ कतै नरुकेर । अब आँखा दिनेछ उसले हेर्नका लागि । प्राण दिनेछ उसले जिउनका लागि । जिन्दगीको परिभाषा दिनेछ नबोलेर नै । पुलमुनी उफ्रिएको पानी पुरै सेतो थियो सफा थियो ।

मितेरी लिपिङ पुलको पश्चिमी कुनामा चन्द्र सूर्य झण्डा फहराइरहेको थियो भने पूर्वी कुनामा चिनिया झण्डा । मितेरी पुल आधा आधा रहेछ । आधा पुलसम्म हामीलाई नाँच्न, गाउन र उफ्रन कसैको अनुमति चाँहिदैनथ्यो । फोटो खिच्न र भिडियो बनाउन कसैले रोक्दैनथ्यो । तर आधा पुगेसङ्गै हरेक पाइला चाल्न हामीलाई अनुमति लिनु पथ्र्यो । आज्ञा पर्खनु पथ्र्यो । पुलको पूर्वतिर सेता कपडा लगाएका सेता मन्छेहरु ओहोर दोहोर गरिरहेका थिए ।

पुलको बीचमा उभिएर दुबैतिर पालैपालो हेरें । पश्चिम फर्केर हेरें फेरि एक पटक । नेपाली पखेराहरु अझै उजेलिन सकेका थिएनन् । भूकम्पले थिलोथिलो पारेको अनुहारमा उज्यालो देखिएको थिएन । न मर्मत गरिएका थिए घरहरु न त नयाँ निर्माण नै । वषौं पहिला लगाइएका घरहरुका रङ्गहरु उढेर फुङ्ग उढेका थिए । लोप्रा उक्किएका बाटाहरुमा कालो पट्टी लागिसकेको थिएन । भित्ता खसेर कुरुप बनेका पाखाहरुमा जीवनरुपी घाँस पलाइसकेको थिएन । नेपालले कहिले पुर्नजीवन पाउला ? नेपालीहरुको मुहारमा कहिले उज्जेलिने होला ? हामी धनका गरिव हौं कि मनका ? मनमा प्रश्नहरु खेल्न थाले । पूर्व फर्केर हेरे पुन एकपटक । चिनियाहरु देशको सुरक्षामा निकै सतर्क देखिन्थे । उनीहरुलाई अधिकार, कर्तब्य र जिम्मेवारी कसैले सिकाउनु पर्दैन । सिमानामा बनेका सेता घरहरुमा बसेर सेता मान्छेहरुले सेतो दुर्बिनबाट संसार चिहाइरहेका छन् । ठूलो देश हुनुमा गर्वानुभूत हुने गरेको उनीहरुलाई ।

बिहानको सूर्यको पहिलो किरणले खासा बजार उज्यालो देखिएको थियो । बाटाहरु उज्यला देखिएका थिए । हरियो पाखामा देखिएका सेता घरहरु निकै सुन्दर देखिएका थिए । लाग्थ्यो यो सेता गुलावहरुको बगैंचा हो । यो बगैंचाले कहिल्यै कालो पानी र काला किराहरुको सामना गर्नु परेन । मनमा जिज्ञासा उठ्यो । चीनमा जन्मिएको भोटेकोशीको पानी सेतो छ । चीनको खासा बजार सेतो छ । चीनका बाटाघाटा उज्याला छन् । चिनिया भूमिमा रमाउने चिनियाहरु सेता छन् तर यिनीहरुको मन सेतो छ कि छैन होला ? सीमाका नेपालीहरुलाई गर्ने व्यवहार सफा छ कि छैन होला ? छिमेकीको अनुहार उज्यालो हुदाँ मुस्कुराउन सक्छन् कि सक्दैनन् होला ?

खासा बजार देखेर लोभ लाग्यो । त्यो सेतो गुलाव नेपालमा पनि त फुले हुन्थ्यो नि भन्ने लाग्यो । खासा बजार हुदै अग्लिएका पहाडलाई पच्छाउँदै पच्छाउँदै परपरसम्म पुग्यो मन । आफू नर्फकदासम्म अँह पटक्कै फर्कन मानेन मन ।

नसोचिएको जन्मोत्सव

थुक्पा मैले पहिलो पटक सुनेको नाम हो । चीनको लोकप्रिय खाजा रहेछ यो । तराइका सीमाहरुमा छोला, पराठा र समसा बढी खाइन्छ । पीरो, अमिलो, चिल्लो र मसालेदार खाना हामीले दक्षिणी सीमाबाट नै सिकेको हुनुपर्छ । मित्रे होटल लेपिङमा पकाइएका नास्ताका परिकारहरुमा यी गुणहरु कम पाइए । थुक्पा धेरैले खायौं । केही महङ्गो भने मानेकै हुन् साथीहरुले । तराइमा खान्छु भनेर कहाँ पाइन्थ्यो र थुक्पा ? कसैकसैले थुक्पा छोडेर रोटी, तरकारी र चिया पनि खाए ।

बिहानको नास्ता मितेरी लिपिङ पुलमा पुल नजिकैको मित्रे होटलमा खायौं । नेपाली सिमानामा सञ्चालन थियो । थकालीको होटल थियो यो । नेपालका थकालीहरु होटल व्यवसायमा बिशेष कहलिएको जाति पनि हो । अतिथि सम्मान गर्ने तरिका नै फरक हुनछ उनीहरुको । हामीलाई जानकारी नभएका र नेपाल चीन सीमा सम्बन्धि कतिपय जिज्ञासाहरु होटल साहुनीले नै बताइ दिइन् ।

गन्तव्यमा पुगेपछि फर्कनु त छँदैथियो । केही बिद्यार्थीहरु गाडीमा बसे भने केही पैदल झर्दै थिए । कोदारी बजार सुनसान थियो । भूकम्पले तहस नहस पारेको थियो यो बजारलाई । कयौं व्यापारीहरु विस्थापित भएका रहेछन् स्थानीय एक व्यापारीले बताए । बजारमा रोकिनुको कुनै अर्थ देखिएन । किनमेलका लागि बोकेका पैसाहरु लुरुलुरु घरै फकर्ने लक्षण देखियो । ‘धनै रह्यो मनै रह्यो’ भन्नुको बिकल्प देखिएन ।

कोदारी बजारको नजिकै एउटा झरना रहेछ । यो झरना चिनिया भूमिमा थियो । भोटेकोशी पारि रहेको यो सुन्दर थियो । चिनिया भाषामा यो झरनाको नाम के थियो ठ्याक्कै थाहा भएन । यताउता वोर्ड नहेरेको त होइन तर देखिएन । पर्यटकहरुलाई मध्य नजर गरेर फोटो खिच्न र भिडियो बनाउन सजिलो हुने गरी अग्लो थुम्कोसम्म जान सिढींको व्यवस्था गरिएको थियो । थुम्कोमा चारैतिर रेलिङ्ग लगाइएकोले दृश्यावलोकनका लागि सहज बन्यो ।

संयोग भन्नुपर्छ मङसिर पाँच मेरो जन्मदिन थियो । जन्मदिनको शुभकामना दिन पनि सबैले मसङ्गै बसेर फोटो खिचाउने रहर गरे । डाटा तानेर फेसबुकमा भकाभक पोष्ट गर्न थाले । २८ जना विद्यार्थीहरु मध्ये देव रावत, नविन खड्का र शेरबहादुर गुजार देखा परेनन् । हल्लीखल्ली भयो । कसैको फोन लागेन । नेटवर्कले काम गर्दो रहेनछ यहाँ । हामीभन्दा पहिला नै ओरालो झरेका उनीहरु बाटामा किन फेला परेनन् ? उनीहरुले पनि त ख्याल गर्नु पर्ने । पछि थाहा भयो कोदारी बजारमा अल्मलिएछन् उनीहरु ।

तातोपानी भन्ने ठाउँमा जमिनमुनिबाट उमालेको पानी आउँछ भन्ने सुनेको थिएँ । यहाँसम्म आइसकेपछि तातो पानीको स्पर्स नगरी फर्कनु पनि त भएन । हामी तातो पानी खोज्दै हिड्यौं । वोर्ड लगाएको स्थानबाट माथि जाने बाटो थियो । सिढीं समेत बनाएको यो बाटोबाट केही माथि गएपछि सानो मन्दिर भेट्टियो तर पानी भेट्टिएन । बाटो मन्दिरसम्म मात्रै थियो । अब भने हामी अलमलमा पर्‍यौं । बजारमा फक्र्यौं । पछि थाहा भयो तल झर्नु पर्ने हामी उकालो पो चढेछौं ।

तातो पानी स्पर्श गर्न रु १०÷– को टिकट काट्नु पर्दो रहेछ । बजारबाट केही तल भोटेकोशीतिर झरेपछि तातो पानी आउँदो रहेछ । मन्दिर मुनी गोमुखे धाराहरुबाट वाफ छोड्दै पानी बगिरहेको थियो । पुरुष र महिलाका लागि छुट्टाछुट्टै स्नानकक्ष मनाइएका रहेछन् । तातो पानीसँगै चिसो पानी आउने पाइपको व्यवस्था पनि रहेछ । तातोपानी खप्न नसक्नेहरु चिसो पानीको सहायता लिन्थे ।

तातोपानीमा स्नान गर्न केही गाहे भने भयो । कपाल लुलो बन्दै गयो, शरीरबाट छाला निस्कन्छ कि जस्तो हुन थाल्यो । पुरै एक घण्टा नुहाइधुवाइ गरियो । के बिद्यार्थी के शिक्षक सबै हनुमान कट्टु लगाएर हनुमान जस्तै बुर्कुसी मारे तातो पानीमा । केटाहरु जस्तै सङ्गीता मिस लगायतका केटीहरुको चाला पनि उस्तै थियो । बीचमा सानो पर्खाल भए पनि हरेक क्रियाकलाप सुनिन्थ्यो । भर्खरै जवानी भरिदै गरेका केटाहरुलाई यति पाए पछि के चाहियो र ? लुकीलुकी पर्खालपारी भिजेका कपडा चियाइरहेका थिए । कोही ले त भिडियो नै बनाइदिए । मिलन थारु र देव रावतले सबैभन्दा धेरै भिडियोहरु बनाएका रहेछन् । शिक्षकहरु सँगसँगै भएपनि उनीहरु लुकेरै सबै काम गर्न भ्याएछन् । पछि फर्किएपछि थाहा भयो । सबै हाँसियो । नयाँ पुस्तासँग नसकिने रहेछ हामीहरुले ।

अनौठौ लाग्दै थियो । चिसो पानीको मूल नजिकै यतिका तातोपानीको मूल कसरी फूट्यो ? यसरी पानी तताउने ताप शक्ति कहाँ संचित भएको छ ? नजिकैको मूललाई किन तताउन सकेन तापशत्तिले ? चिसो ठाउँका लागि तातो पानी साच्चिकै वरदान सावित थियो । दैवी शत्ति मान्नेहरु पनि थिए वरिपरि । पूजाआजामा ध्यानमग्न देखिन्थे । तीन दिनदेखि नुहाउन पाइएको थिएन । एक हप्तालाई पुग्ने गरी छाला नै जाने गरी नुहाएर निस्कियौं ।

बाटोमा चीनले बनाइदिएको सुख्खा बन्दरगाह रहेछ । अग्ला अग्ला पहाडको बीचका रहेको यो बन्दरगाहामा ट्रकहरु लाम लागेर बसेमा थिए । साढे एकतिर बाह्बिसेमा आइ पुग्यौं । बाह्बिसेमा बाह्बिसमा नै आउन सकेको भए पनि हुन्थ्यो तर सकिएन । भोक लागेको थियो । खाना खाइयो ।

सेभिङ्ग गर्न पाएको थिइन । सेभिङ्ग गर्ने औजारहरु खै कसरी हराएछन् थाहा भएन । यात्राकै लागि भनेर नयाँ किनेको थिएँ । पुराना सामग्री लिएर हिड्न मन लागेन । हिड्ने बेलामा हतारहतार भाइ प्रकाशलाई किन्न पठाएको थिएँ । एक पटक पनि प्रयोग नभएकोले नै होला खुट्टा पलाएछन् आफै त भन्नु पर्‍यो । झुस्स फुलेका दाह्ीहरुले दश वर्ष बूढो देखाएका थिए भन्ने पक्का थियो । ४०/४५ वर्षकी होटलवालीले ‘काका’ भनेर सम्बोधन गरेको सुनेर सबै गललल्ल हाँसे । दाह्ी जुँगा उचालेर मपनि मुस्कुराएँ ।

यात्रा जारी थियो । डेगमा ‘उही रक्सीको नशाले नचायो…’ भन्ने गीत बजिरहेको थियो । । सोम ड्राइभर स्ट्रिङ छोड्दै नाच्दै गर्न थालेका थिए । सबैले ताली बजाएर हौसाउँदै थिए उनलाई । मलाई भने कताकता डर पनि लागेको थियो । ‘कतै गाडी पनि उफ्रन थाल्यो भने…?’ यात्रामा रमाइलो गर्ने एकदुई जना भए भने नै यात्रा स्मरणीय हुन्छ । हाम्रो यात्रामा रमाइलो गर्नेहरुको कमी थिएन । शिक्षक प्रकाश गुरुदेखि ड्राइभर सोमनाथ गुरुसम्म, मिस संगितादेखि छात्रा पूजा रावतसम्म उत्तिकै रोमान्टिक थिए । घरिघरि त कायल हुन्थे केटाहरु पूजाका कुरा सुनेर । ‘हिम्मत छ ?’ पूजाको प्रश्नले टाउको झुकाउँथे घरिघरि ।

साँझ ६ बजेतिर पशुपति क्षेत्र परिसरमा थियौं हामी । हामीसँग आएका कतिपय विद्यार्थीहरु पशुपतिमा आएका रहेनछन् । आरतीको बेला भएको थियो । पशुपतिमा ॐ नम शिवायको ध्वनी गुञ्जीरहेको थियो । भजन किर्तन चलिरहेको थियो । विज्ञानको चमत्कार बढ्दै गएपनि मानिसहरुमा आध्यात्मिक दर्शनप्रति रुचि पटक्कै कमी भए जस्तो लागेन । पशुपतिनाथको मन्दिर र वरिपरिको वातावरण विद्यार्थीहरुलाई सबै देखाउन मन थियो । तर विद्युतको प्रकाशमा जति देखिन्थ्यो त्यत्ति मात्र हेर्न संभव थियो । खाने र बस्ने स्थानको ठेगान भैसकेको थिएन । धेरै समय लगाउनु उचित थिएन । रात परिसकेकोले पशुपतिमा के के हेर्नै पथ्र्यो भन्नेसम्म पनि मेसो पाएनन् नयाँ विद्यार्थीहरुले । समयाभावका कारण बताउनपट्टि पनि लागिएन ।

बि एण्ड एफ होटलका साहु गाडी पार्किङमै भेट्टिए । पशुपति क्षेत्रबाट नजिकै रहेछ होटल । हामीलाई आवश्यक पर्ने सबै सुविधाहरु उपलब्ध रहेछन् होटलका । हामी बसेकै होटल नजिक गजलका माली ज्ञानुवाकार पौडेलको घर थियो । दुई चार पटक पुगेको पनि थिएँ । उज्यालो भएको र समय रहेको भए पाँच मिनेट मात्रै भएपनि पुग्थें सायद । तर मेसो मिलेन । दुई दिनदेखिको यात्राले लखतरान पारेको थियो शरीर । दुई रातदेखि सुताइ पनि राम्रो भएको थिएन ।

आ आफ्नो कोठामा फ्रेस हुने, ढिलो नगरी खाना खाने र आराम गर्ने सल्लाह भएको थियो । म कोठामा छिरेपछि नुवाइधुवाइमा लागें । यही बीचमा सबैको गोप्य सल्लाह बनेछ । मसँग टाढा टाढा हुँदै थिए सबै मैले कुरा बुझिन । ‘खाना खान जाऔं’ भनें । सबैले आलटाल आलटाल मात्रै गरे । केही विद्यार्थीहरु हलमा थिए । खाना खानका लागि कर गर्न हलमा जान खोजें गेटमा बसेका छात्राहरुले भित्र पस्न दिएनन् । ‘डे«स चेन्ज गर्दैछन्’ भनेपछि जाने कुरा पनि भएन । प्रकाश सरलाई खोजें उहा पनि गायव । कोठामा फर्कनुको बिकल्प रहेन ।

‘सरजी जाऊ’ संगिता मिसले हातैमा समातेर डोर्‍याउन थाल्नु भयो । पछिपछि थिइन् अञ्जली बस्नेत पनि । यसरी पहिला पहिला त कहिल्यै डोर्‍याउनु भएन उहाँले । पलाक पुलुक विद्यार्थीहरुलाई हेरें । विद्यार्थीहरुसँग दुरी कायम राख्न सकिएन भने पछि असर पथ्र्यो नै । यो कुरामा सचेत थिएँ । सबै मुसुमुसु हाँसिरहेका थिए म लजाउँदै थिएँ ।

हल फूल, माला र बेलुनले सजाइएको थियो । बीच भागमा बेहुली सजाए जस्तै केकलाई सजाइएको थियो । केककै छेउमा छुट्टै आसन राखिएको थियो । बेहुलाले बेहुलीलाई जग्गेमा डोर्‍याए जस्तै संगिता मिसले डोर्‍याउँदै विशेष आसनमा बसाउनु भयो । वरिपरि विद्यार्थीहरु बसे । आफ्नै नाम सुन्दर अक्षरले लेखिएको केक अगाडि एउटा नाबालक झैँ चुपचाप बसें म । के भन्नु भन्नु र के गर्नु गर्नु भन्ने छटपटि भयो । संगिता मिसले जो जोलाई जे जे भन्नु भयो सबैले त्यही त्यही गर्‍यौं । मेरो जिम्मामा केक काट्ने थियो । केक काँटें । स्प्रे छर्कियो । म्याजिक्स बम पट्काइयो । बेलुनहरु एकैसाथ पटटटट् फुटालियो । सबैको एउटै स्वरका ‘हेप्पी वर्थ डे’ भने । स्प्रेबाट निस्किएको सेतो फिँजले अनुहार मात्रै होइन पूरै शरीर नै छोपियो ।

भिडियो र फोटाहरु फटाफट फेसबुकमा पोष्ट हुन थाले । एक पटक फेरि ‘जन्मदिनको शुभकामना’ दिनेहरुका सूचनाका घण्टीहरु मोवाइलमा बज्ने थाले । कल्पनानै नगरेको जन्मोत्सव मनाइयो यसपटक । स्वस्फुर्त रुपमा आयोजना भएको रहेछ यो कार्यक्रम । प्रकाश सर र संगिता मिसले समन्वय गरिदिनु भएको रहेछ यो सबै । सबैलाई धन्यवाद थिएँ । खुसीको क्षण थियो । घरमै भएका आमा, सुमित्रा मेम र छोरीहरुको निकै बेरसम्म सम्झना आइरह्यो ।

चन्द्रागिरिको चौघेरामा

समयमा नै टिकट बुकिङ्ग नगरे चन्द्रगिरि भ्रमण छुट्न सक्ने देखियो । हाम्रो बसाइ बि एण्ड एफ होटल गौशालामा थियो । २०७६ मङ्सिर ५ गते घेम्दैफिर्दै यहाँ पुगेका थियौं हामी । बि एण्ड एफ होटलका साहु निकै सहयोगी रहेछन् । राम्रै सहयोग गरे । चन्द्रागिरिको साढे एकको टिकट फिक्स भयो भने छाउनी स्थित सैनिक संग्राहलय हेर्नका लागि दश बजेको । खाना खाने स्थान र टिकटको व्यवस्था होटलका साहुको सहयोगमा नै भएको थियो । बिहान पशुपति हुँदै स्वयम्भुनाथ पुग्ने सल्लाह भयो ।

बिहान ५.३० बजिसकेको थियो । मङ्सिरको महिना भएकोले ६ बजे मात्रै छर्लङ्ग उज्याले हुन्थ्यो । पाँच बजे नै उठ्ने सल्लाह भएपनि राति अवेर मात्रै सुतेकोले उठ्न ढिला भयो । नुहाइधुवाइ गरेर फ्रेस हुँदासम्म साढे छ भइसकेको थियो । बि एण्ड एफ होटलको हिसाव किताव अघिल्लो साँभ नै मिलाइसकेका थियौं । आफन्तको घर गएकी प्रतिमा पनि आइसकेकी थिइन् । हाम्रो आजको कार्यक्रम छाउनी स्थित राष्ट्रिय संङ्ग्राहलय अवलोकन गर्ने र चन्द्रागिरि भ्रमण गर्ने थियो ।

हामी पशुपति हुँदै स्वयम्भुनाथ पुग्दा आठ बजिसकेको थियो । दुई घण्टाको समय मात्रै स्वयम्भुनाथलाई छुट्टाइयो । स्वयम्भुको पूर्वी गेट हुँदै विद्यार्थीहरु डाँडातिर उक्लिन थाले । छोटो समय लिएर काठमाण्डौ घुम्न आउनेहरुका लागि उपयुक्त स्थानहरु स्वयम्भुनाथ र चन्द्रागिरि नै थिए । शान्तिका प्रतिक बुद्ध धर्मसँग सम्बन्धित यो स्थान शान्त र सुन्दर त थियो नै । काठमाण्डौको गहना मात्रै नभएर समग्र नेपाल र विश्वकै महत्वपूर्ण स्थान मानिन्थ्यो स्वयम्भुनाथ । तोकिएको समयको पूर्ण सदुपयोग गरे किद्यार्थीहरुले । मन खोलेरै रमाए यस स्थानमा ।

बिहान १०ः१५ मा हामी छाउनी स्थित सैनिक सङ्ग्राहलयको गेट अगाडि पुगिसकेका थियौं । गेट खुलिसकेको थिएन । सैनिकहरु सङ्ग्राहलयको वरिपरि तैनाथ थिए । हामीहरुलाई समूहमा गेटसम्म पनि जान दिएनन् । विद्यार्थीहरुलाई बाटाको छेउमै छोडेर सोधपुछमा लाग्यौं । साढे दशमा मात्रै सङ्ग्राहलय खुल्दो रहेछ । गेटमा राखिएका पुराना तोप अगाडि आ–आफ्नो इच्छा अनुसार फोटाहरु खिच्नमा व्यस्त भए कति विद्यार्थीहरु । प्रकाश सर, संगिता मिस र म भनें बाटाको छेउमा नै घाम तापेर बस्यौं । यो स्थानलाई पनि दुई घण्टा छुट्टाएका थियौं हामीले ।

विगतका घटना, विकास, विनास, मिलाप, प्राचीन भाषा, संस्कृति तथा सभ्यताको बारेमा जानकारी दिने ठाउँ सङग्राहलय हो । सङ्ग्राहलयले प्राचीन सभ्यताको बोध गराउँछ । प्राचीन सभ्यताले संंस्कार जन्माउँछ । संस्कारलाई जिवन्त राख्न कला, सम्पदा, इतिहास, संस्कृति र साहित्य आदिले काम गरिरहेको हुन्छ । सङ्ग्राहलयले ऐतिहासिक, सांस्कृतिक, धार्मिक र आर्थिक महत्वका साथसाथै शैक्षिक र वातावरणीय महत्व बोक्ने भएकोले पनि यस्ता स्थानहरु अनीवार्य रुपले हेर्नु जरुरी हुन्छ ।

छाउनी स्थित नेपाल सङ्ग्राहलय नेपालकै पहिलो सङ्ग्राहलय हो । १८ औं (वि.सं.१८८१) शताब्दीमा तत्कालिन प्रधानमन्त्री भिमसेन थापाले युरोपेली वास्तुशैलीमा तीन तले भवन निमार्ण गर्न लगाई स्वदेशी तथा विदेशी हातहतियार सङ्कलन गर्ने गरी यो शास्त्रागारको स्थापना गरेका थिए । उनले सैन्य संगठनको सुधार गर्ने क्रममा युरेपेली पाराको जङ्गी अड्डा, हातहतियार, पोशाक, ब्यारेक आदि निर्माण गर्ने क्रममा हातहतियार सुरक्षित र व्यवस्थित गर्न आफ्नै घरलाई हतियार(सिलखाना) सङ्ग्राहलयका रुपमा यो भवनको प्रयोग गरेका थिए । हतियार(सिलखाना) नै पछि गएर नेपाल सङ्ग्राहलय हुँदै सन् १९६७ देखि नेपाल राष्ट्रिय सङ्ग्राहलका नामले चिनिदै आएको छ । वि सं १९९५ देखि सर्वसाधरणलाई अवलोकन गर्न छुट गरिएको यो सङ्ग्राहलयमा म पहिलो पटक पुगेको थिएँ ।

साढे दश बजे टिकट खुल्यो । टिकटको प्रति व्यक्ति रु २५ रहेछ । हामीलाई सस्तै लाग्यो । हाम्रो अनुमान १०० देखि १५० सम्म होला भन्ने सोचेका थियौं । प्रकाश सरले एकमुष्ट टिकट काट्नु भयो । सङ्ग्राहलय सुन्दर र शान्त थियो । चारैतिर सैनिकहरु भएकोले पनि विद्यार्थी र अन्यले हो हाल्ला गर्न दकस मानिरहेका थिए । सङ्ग्राहलयको प्राङ्गणमा प्राचीन राजा तथा सैनिकहरुले प्रयोग गरेका हेलिकप्टर, गाडीहरु, अत्याधुनिक हातहतियार र हातहतियार बनाउन प्रयोग भएका मेसिनहरु राखिएको थियो । चारैतिर विभिन्न आकार प्रकारमा फुलेका रङ्गिन फूलहरुले पनि प्राङ्गणलाई सुन्दर बनाएका थिए । केही बेर प्राङ्गणमै अल्मलियौं । फोटा खिच्न र भिडियो बनाउनमै व्यस्त भयौं ।

राणा प्रधानमन्त्री जुद्ध शमशेर जबराबाट आधिकारिक रुपमा स्थापना भएको यस सङ्ग्राहलयभित्र तीन ओटा विषयक सङ्ग्राहलयहरु रहेछन् । जुद्ध कारीगरी कलाशाला, बुद्ध कारीगरी कलाशाला र एतिहासिक सङ्ग्राहलय । १८ हजारभन्दा बढी महत्वपूर्ण विश्वकै दुर्लभ कला तथा वस्तुहरु सङ्ग्रतिह गरिएको राष्ट्रिय सङ्ग्राहलयभित्रका तीन ओटै सङ्ग्राहलयहरु आ–आफ्नो स्थानमा उत्तिकै महत्वपूर्ण थिए नै । हाम्रो समयले भ्याउन सक्ने वा नसक्ने भन्ने नै भयो । राणाकालिन प्रधानमन्त्री जुद्ध शमशेर जबराद्धारा निमार्ण गर्न लगाइएको जुद्ध कारीगरी कलाशालामा विभिन्न वस्तुबाट निर्मित मूर्तिकला, हस्तकला तथा चित्रकलाहरु राखिएको कुरा सङ्ग्राहलयको बाहिर लेखिएको निर्देशनबाट थाहा भयो । बुद्ध कारीगरी कलाशालामा बौद्ध धर्मसँग सम्बन्धित चित्रकला, मूर्तिकला, बौद्ध सास्कृति झल्किने सामग्रीहरु, हिमाल, पहाड र तराइमा पाइने बुद्धसँग सम्बन्धित किभिन्न कलाकृतिहरु, थान्का चित्र, तिब्बती धार्मिक वस्तुहरु आदि सजाइएको रहेछ ।

नेपाल सङ्ग्राहलयभित्र रहेको ऐतिहासिक सङ्ग्राहलय सबैभल्दा पुरानो सङ्ग्राहलय हो । यो नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाको निवासमा छ । तीन तले यो भवनमा पहिलो तलामा नेपालमा पाइने विभिन्न प्रजातिका जनावरहरु, पक्षीहरु, किराफट्याङ्ग्राहरु आदि राखिएको छ । ह्वेल माछाका लामा लामा बङ्गाराहरु, बाघ, गैंडा, चितुवा, रातो पाण्डा गोही, गडुर, आदिका बङ्गाराहरु, टाउकाहरु, दाँतहरु लगाएत विभिन्न अवशेषहरु जनकारी सहित हेर्न पाइन्छ । यही तलामा नेपालका विभिन्न जातजाति तथा उनीहरुले अपनाउँदै आएका पेशाहरुको सचित्र वर्णन पाइन्छ ।

दोस्रो तलामा सैन्य विभाग रहेको छ । गोर्खाली पूर्वका र वर्तमान नेपाली सेनाको इतिहास यो तलाले उजागर गरेको छ । पुराना हातहतियारहरुदेखि सन् १७९२ मा पहिलो नेपाल तिब्बत युद्धमा जफत गरिएका तोपहरु, श्रीपेच, थोमसन सवमेसिन आदि सुरक्षित गरी राखिएको छ । नेपालले युद्धमा तिब्बतीयन राजाको श्रीपेच समेत जितेर ल्याउनु कम बहादुरी होइन । नेपोलिया ३ ले नेपाललाई उपहार दिइएको सुन्दर तरवार र नेपालका पहिलो वैज्ञानिक गहेन्द्र शमशेरद्धारा निर्मित बीर गन प्रदर्शनीका लागि राखिएको छ । बाइसे चौबिसे राज्यहरुको एकिकरणदेखि अङ्ग्रेजसँगको बहादुरीपूर्ण युद्धको जानकारी यो सङ्ग्राहलयबाट प्राप्त हुन्छ । नेपालको राजसंस्था र तिनीहरुको बहादुरीपूर्ण इतिहास सुरक्षित गरिएको यो सङ्ग्राहलयमा शाहवंशीय राजाका परिवारहरुमा बाघको शिकारलाई शाही खेलका रुपमा लिइन्थ्यो भन्ने कुरा सङ्ग्राहलयमा सुरक्षित विभिन्न चित्रहरुले प्रष्ट पार्दथे ।

तेस्रो तलामा प्राचीन राजा रजौटाहरुले सञ्चालनमा ल्याएका विभिन्न वस्तुहरुका साथै प्राचीन मुद्राहरु सुरक्षित गरेर राखिएको छ । यी समपूर्ण वस्तुहरु अवलोकन गर्दा प्राचीन राजाहरुले आफ्नो राज्यलाई व्यवस्थित गर्न चालेका कदमहरुको सजिलै अनुमान गर्न सकिन्छ । तत्कालिन समयको आर्थिक, सामाजिक र सामारिक विकास र विस्तारका बारेमा जानकारी लिन सकिन्छ । इतिहासको विद्यार्थी हुँदा पढेका र कण्ठ गरेका कतिपय ऐतिहासिक विषयवस्तुहरुको पुनर्ताजकी भयो यस पटक ।

थानकोटबाट सुन्दर र सफाबाटो हुँदै हामी उकालियौं । जतिजति उकालिन्थ्यौं उतिउति हामीलाई सुन्दर दृश्यहरुले पच्छाइरहेका थिए । चन्द्रागिरि केवुलकार स्टेसन पुग्दासम्म हामीले केही आनन्दानुभूति प्राप्त गरिसकेका थियौं । उपत्यकाको धुलो, मैलो, तुवालो र कोलाहाल क्रमशः लोप हँुदै गएको थियो । मान्छेहरुका अनुहारहरु उज्याला र चम्किला देखिदै थिए । मनमा एक प्रकारको हुटहुटी र छटपटी थियो । मनमा छटपटी हुने तीन कारणहरु थिए ।

पहिलो कारण पृथ्वी नारायण शाहले मकवानपुरबाट गोरखा फर्कने बेलामा चन्द्रागिरिको यही डाँडोबाट सुन्दर उपत्यका अवलोकान गरेका थिए । उपत्यकाको सुन्दरता देखेर लोभिएका पृथ्वी नाराणयण शाहले उपत्यका विजय गर्ने अठोट गरेका थिए । पृथ्वी नारायण शाहलाई उर्जा दिएको यही स्थानमा पुग्न हतारिएको थिएँ म । दोस्रो कारण पुराण तथा स्वस्थानीका पुस्तकमा उल्लेख भएको प्राचीन मन्दिर भालेश्वरको दर्शन गर्न जाँदै थिएँ । सतीदेवीको भाल (निधार) पतन भएको र भालेश्वर शिवलिङ्गको उत्पति भएको कुरा विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख थियो । स्वर्गका गन्धर्व र उपत्यकाका विरुपाक्षले मोक्ष प्राप्त गरेको स्थानमा पहिलो पटक पुग्दै थिएँ । तेस्रो कारण पछिल्ला दिनहरुमा चन्द्रागिरि उपत्यकाको सबैभन्दा सुन्दर स्थानका रुपमा चर्चामा थियो । सगरमाथा र अन्नपूर्ण हिमालको सुन्दर दृश्य अवलोकन गर्न सकिने ‘यो स्थानमा जिउँदै स्वर्ग पुगेको अनुुभूति हुने गरेको’ भन्ने कतिपय समचारहरु पढेकोले पनि मलाई यो स्थानमा पुग्न हतारो थियो ।

एक बजे हामी केवुलकारको स्टेसनमा पुगी सकेका थियौं । प्रकाश सरले टिकट इन्ट्री गराउनु भयो । साढे एक बजे चन्द्रागिरिका लागि केवुल छेट्ने रहेछ । हामीसँग आधा घण्टा समय बाँकि थियो । स्टेशन परिसरको बगैंचामा फुलेका विभिन्न प्रकारका फूलहरुले पर्यटकहरुलाई स्वागत गरिरहेका थिए । तीन प्रकारका फाउण्डेसन अर्को आर्कषणको केन्द्र बनेको थियो कतिको । फोटा खिच्ने र भिडियो बनाउनेको भिड थियो । हामी पनि रमाउनकै लागि त सात डाँडा काटेर चन्द्रागिरिको डाँडामा जान हिडेका थियौं । समय छँदासम्म रमाउन हामीलाई कसैले रोकेन ।

बाह्र मिनेट सत्र सेकेण्डमा केवुलले हामीलाई चन्द्रागिरिको डाँडो नजिक उतार्‍यो । केबुलको छोटो यात्रालाई यादगार बनाउन प्रकाश सरले भरमज्दुर प्रयास गर्नु भएको थियो । हामीले पनि आफ्नो क्षमताले भ्याएसम्म कोशिष गरिरहेका थियौं । माथितिरभन्दा तलतिर हेर्दा निकै आनन्दानुभूति भइरहेको थियो । उपत्यकाका वरिपरिका गाउँहरु प्रष्ट देखिन्थे । केवुलकारबाट देखिएका हरिया पाखाहरुले मनलाई उद्देलित पार्थे । केवुलकारबाट केवुलकार र जमिनको दुरी बढी भएको स्थानमा हेर्दा काहाली लाग्यो । झ्याल खोलेर तल हेर्नेसम्म आँट आएन । आठ आठ जनाको दरले सुरक्षित तरिकाले डाँडोमा पुर्‍याउने व्यवस्था थियो । सुरक्षित व्यवस्था हुँदा हुँदै मन चिसो नभएको भए पनि त हुने हो नि । तर मन न हो डर मान्यो भने मान्यो मान्यो ।

केही समय हिडेपछि मात्रै चन्द्रागिरिको टुप्पोमा पुगिन्थ्यो । बाटोमा घुँइचो थियो । बिहानै गएकाहरु फर्कदै थिए । फर्कने र जानेहरुको संख्या सायद उस्तै उस्तै थियो । हामी भालेश्वर मन्दिर परिसमा पुग्दा साढे दुई बजी सकेको थियो । लाग्दै थियो हामी भगवान शिवको राज्यमा अवतरण गरिएका मानिसहरु हौं । यो स्वर्ग हो र यहाँ पुण्य प्राप्त गरेकाहरु मात्रै आउन सक्छन् । स्वर्गमा कोही दुखी हुदैनन् । कसैमा पीडाको झल्को देखिदैन । लोभ र मोह बन्देज हुन्छ यहाँ । एक पटक हामीसँगै हिडेका गुरु सोमनाथलाई हेरें, मिस संगितालाई हेरें, छात्रहरु देव, मिलन, अशोक, नविन, पिके,……र छात्राहरु अञ्जली, बिनिता, मञ्जु, पूजा, प्रतिमा, बिनु, सिता, प्रमिता, ………. सबैलाई एकएक गरेर हेरें । सबैका अनुहार उज्याला थिए । हँसिला र रसिला थिए ।

चन्द्रागिरि काठमाडौंको सबैभन्दा अग्लो स्थानमा रहेको पहाड हो । चन्द्रागिरि नगरपालिका अन्तर्गत रहेको यो पहाडको उचाइ २५५१ मिटर रहेछ । हिमवत् खण्डको ९८ र ९९ अध्यायमा समेत चर्चा गरिएको यस स्थान सौन्दर्यको अनुपम स्थल हो । यो क्षेत्र घना जङ्गलले ढाकिएको छ । चन्द्र ढकाल लगायतका व्यक्तिहरुले निजि क्षेत्रको लगानीमा केबुलकार सञ्चालन गरी चन्द्रागिरिको डाँडोमा पुग्ने व्यवस्था मिलाएका हुन् । ७२० रोपनीमा फैलिएको यो क्षेत्र अन्र्तगत १०० रोपनी जमिनमा विभिन्न संरचनाहरु निर्माण गरिएको रहेछ । नेपाल सरकारसँग ४० वर्षका लागि वार्षिक १ लाख ८० हजार भाडा तिरेरै भएपनि एउटा सुन्दर पर्यटकीय स्थल बनाई नेपालको पर्यटन व्यवसायलाई थप टेवा पुर्‍याउन सहयोग गरेकोमा ढकाल बन्दु चन्द्र ढकाल लगायतको समूहलाई धन्यवाद दिन मन लाग्यो ।

दुई हात जोडेर भालेश्वरको दर्शन गर्‍यौं । कुनै एक मात्रै वरदान मागेमा पूर्ण हुने विश्वाश गरिदो रहेछ । मैले सुख र शान्ति मागें । कि सुख माग्नु पर्ने, कि शान्ति माग्नु पर्ने रहेछ । दुबै मागिएछ । हुन त यी दुबै चाहिन्छ नै भालेश्वरको अर्थ नबुझेकाहरु ‘भालेश्वरको दर्शन यता पोथीश्वरको कता ?’ भनेर हाँसो मजाक पनि गर्दै थिए । हामीसङ्गै हिडेका केटीहरुले केटाहरुलाई ‘ए भाले, भालेश्वरको दर्शन गरिस् ?’ भनेर जिस्काउँदै थिए भने केटाहरु कोही लाजले भुतुक्क हुन्थे भने कोही ‘भालेको दर्शन गर्दा कस्तो भयो ?’ भनेर उल्टै जिस्काउँदै थिए ।

चन्द्रागिरिको डाँडामा रहेको केही समथर भू–भागमा भालेश्वरको सुन्दर मन्दिर थियो । मन्दिरको परिसरमा बस्न, आरम गर्न र टाढा टाढाको दृश्यावलोकन गर्नका लागि विभिन्न स्थानहरु बनाइएको थियो । यिनै स्थानहरुबाट सगरमाथा र अन्नपूर्ण हिमालहरु देख्न सकिन्थ्यो । सुन्दर र सफा चमेना गृहमा जोडी लिएर घुम्न पुगेकाहरुको भिडभाड थियो । विदेशीहरुको सिको गर्दै थिए नेपाली युवा युवतीहरु पनि । हरियाली वातारण, चिसो सिरसिरे हावा, क्षणभरमै परिवर्तन हुने मौसम, चन्द्रागिरिबाट देखिने उपत्यकाको सुन्दरता, उत्तरी क्षितिजमा देखिएका चाँदी जस्ता हिमाल श्रृङ्खला आदिले रोमाञ्चित बनाउँथ्यो युवायुवतीहरुलाई । कातिकुती लाग्थ्यो मनमा । अङ्गालोमा बेरिएका र काखमा बच्चा बच्ची जस्तै लडिबुडी खेलेका दृश्यहरु हेर्दिन भनेर पनि सुखै थिएन ।

चन्द्रागिरिमा दिन बिताउने निकै उपयुक्त स्थान लाग्यो । बालबालिकाहरुलाई मध्यनजर गरेर फन्नी पार्क र विभिन्न खेलकुदका सामग्रीहरुको व्यवस्था गरिएको रहेछ । युवाहरु रमाउने विभिन्न आकार प्रकारका दुबे मैदानहरु र फोटो खिचाउन विभिन्न प्रेमिल सङ्केत सहितका स्थानहरु बनाइएको रहेछ । घोडाहरु राखिएको थियो ‘हर्स राइडिङ्ग’का लागि । हप्ताभरि काममा व्यस्त रहने उपत्यकावासीका लागि त चन्द्रागिरि वरदान नै सावित भएको रहेछ ।

झण्डै तीन घण्टा बिताउँदा हामीलाई तीस मिनेट बिताए जस्तो पनि लागेन । चन्द्रागिरि छोडेर फर्कन कसैलाई पनि मन थिएन । समय छिट्टै बितेकोमा गुनासो गर्दै थिए साथीहरु । रहर नभएर बाध्यता थियो हाम्रो ओरालो झर्नु । चन्द्रागिरिको पश्चिमी पर्वतमालाबाट सूर्य नारायणले बिदा मागेसँगै चन्द्रागिरिको डाँडोलाई बादलको घुम्टोले ढाक्न सुरु गरिकोको थियो । हामी भने सेतो बादल देखेर पनि रमाइरहेका थियौं ।
- nepalgunjnews.com (महानन्द ढकाल)
CreditPuspa Shrestha (This notes were prepared with the help of Puspa Shrestha's blog. Please visit Puspa Shrestha's blog for viewing other awesome guides.) (alert-success)

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top