पाठ २: विरहिणी दमयन्ती - मदनमणि दीक्षित (नेपाली कक्षा १२)

1

पाठ २: विरहिणी दमयन्ती - मदनमणि दीक्षित (नेपाली कक्षा १२)
पाठ २: विरहिणी दमयन्ती - मदनमणि दीक्षित (नेपाली कक्षा १२)
(toc)

कथा

मध्यरातमा कर्कोटक नागहरूको त्यो गाउँबाहिर घनघोर जङ्गलको एकान्त छाप्रामा उसलाई केही नभनी एक्लै परित्याग गरेर हिँड्ने निषधराज नललाई विदीर्ण हृदयले खोज्दै कोमलाङ्गी वैदर्भी दमयन्ती जङ्गलको गोरेटामा हिँडिरहिन् । दमयन्तीले नलसित आनन्दित र सुखी जीवन बिताएकी थिइन् । ती वर्षहरूमा तिनी आफ्नो चारैतिर जताततै नललाई मात्र देख्थिन् । कर्कोटक नागहरूको त्यो वनमा पनि तिनमा जताततै नलको भ्रम हुन थाल्यो ।

बौलाही झैँ प्रियतम नल ! कल्याणकर्ता निषधराज ! मेरी छोरी इन्द्रसेना र छोरो इन्द्रसेनका प्यारा पिता मेरा नल ! मलाई यसरी दुखित नतुल्याऊ, मबाट यसरी लुकेर नबस भन्दै बोटबिरुवासँग, फूल र लहरासँग रुँदै, पुकारा गर्दै दमयन्ती एकातिर हिँडिरहिन् ।

आफूसँगै नल छैनन् भन्नेमा विश्वस्त रहेर पनि दमयन्तीले विश्वास नै गर्न सकिनन् । अश्रुधाराले छोपिएका तिनका आँखाबाट तिनी प्रत्येक फूल र हरिया पातमा, वनको प्रत्येक सुगन्धमा, वनमा देखिने चराचुरुङ्गी, मृग र पशुहरूमा नलकै रूप देख्थिन् र फेरि आफैँसित तर्सिँदै आफूलाई समाल्थिन् तैपनि वियोगको त्यो उत्कट ज्वालामा दमयन्तीको हृदय भस्मीभूत हुँदै गयो ।

भोकी, अर्धनग्न, विक्षिप्त र शिथिल भएकी दमयन्तीलाई हिँड्न पनि गाह्रो भयो । तिनले एउटा पिपलबोटको फेदमा आश्रय लिइन् र दाहिने पाखुराको सिरान गरेर शून्य आकाशतिर हेर्दे पल्टिएर आफ्नो मनभित्र जीवनको अर्थ खोज्न थालिन् । बिहानदेखिकै शान्त तिनी एकान्तिक नारीका आँखा पनि शून्य आकाशमा नललाई खोज्दाखोज्दै निद्रालीन भए । सूर्य अस्ताउन केही समय बाँकी थियो । अस्ताउँदो सूर्यका कलिला पहेँला तेर्सा किरण दमयन्तीका मुहार र वक्षस्थलमा पर्न थाले ।

सपनामा दमयन्तीले नलको भाइ जुआडी पुष्करको कालो मुहारमा सेता दन्तपङ्क्ति र रातो पहेँलो आँखा देखिन् । सपनामा पुष्करले दमयन्तीलाई बोलाउँदै शिर सुम्सुम्याइरहेको थियो । दमयन्ती आतेसमा परेर निसास्सिएर ब्युँझिइन् । तिनले देखिन् एउटा भुसतिघ्रे, कालो, बलिष्ठको, डरलाग्दो नागजातिको पुरुष तिनको मुहारतिर कामुक दृष्टिले हेर्दै कपाल सुम्सुम्याइरहेको थियो । आत्तिएर दमयन्ती झ्वाट्ट उभिइन् र रक्षा माग्दै एकातिर दौडिन थालिन् । कर्कोटक जातिको त्यो नागले पनि दमयन्तीलाई समात्न खोज्दै पछि पछि दौडँदै आइरह्यो । ‘‘मलाई रक्षा गर !’’ जताततै चिच्याउँदै दौडिरहेकी दमयन्तीलाई केही बेरपछि त्यो कर्कोटकले समात्यो र जुरुक्क काँधमा बोकेर आफ्नो छाप्रोतिर दौडियो । दमयन्तीले आफूलाई पूर्णतः असुरक्षित र असहाय ठानिन् । कर्कोटकका काँधमा केही बेर छटपटाएपछि तिनी शान्त भइन् र आफ्नो रक्षाका उपायबारे विचार गर्न थालिन् ।

सूर्य अस्ताइसकेको थियो । कर्कोटकले आफ्नो छाप्राको पिँढीमा दमयन्तीलाई काँधबाट ओराल्यो । भुइँमा उभिएकी दमयन्तीले मुसुक्क हाँस्दै कर्कोटकलाई नमस्कार गरिन् र आफ्नो भोकबारे बताइन् । आफ्नो विजयमा त्यो नागयुवक प्रसन्न भयो । त्यसले पिँढीमा सुकुल ओछ्याएर त्यसमाथि बाघछाला हाल्दै ‘‘तिमी यहाँ सुखासनमा बस सुन्दरी, मसित नडराऊ । तिमी नारी हौ । म पुरुष हुँ । नारी र पुरुषको संयोग सृष्टिकारी हुने गर्छन् । यो संयोगमा त्रास किन ? हामी वार्तालाप गरौँ’’ भन्यो ।

नागयुवक दुष्टात्मा हो भन्ने कुरा त त्यसको कामुक आँखा र स्वरबाटै दमयन्तीले बुझिसकेकी थिइन् । उनले आफ्नो रक्षाको निम्ति उपाय खोज्न तिनले आफूलाई शान्त र संयत राखिन् र आफ्नो दुःख व्यथाबारे बताउन थालिन् । नागयुवकलाई आफ्नो कथा बताउँदा दमयन्तीले नलले जङ्गलको बाटो बिराएर हराएको कुरा मात्र गरिन् ।

‘‘यसको पति नल हरायो । वन एकान्त छ, त्यहाँका नाग नरनारीलाई यस्ती सुकुमारीलाई मैले नगरबाट हरण गरी ल्याएको हुँ भनी आफ्नो बहादुरीको बखान गरेर आफ्ना गाउँलेलाई प्रसन्न तुल्याउने छु । यी नारी मेरी भइसकिन् । यिनीसित राती सुखभोग गर्ने छु’’ भन्ने विचार गर्दै कर्कोटक नागले दमयन्तीसामु त्यहाँ कुरा ग¥यो पनि । दमयन्तीले आपूmले रक्षक पाएर सन्तुष्ट भएको छु भनी आफ्नो प्रसन्नता जस्तो समेत प्रकट गरिन् । नागले दमयन्तीको भोकको कुरा सम्झियो र तिनका निम्ति कन्दमूल र दुधको खिरका साथ मृगको सुकुटी पकाउने र पोल्ने कुरा ग¥यो, दमयन्ती खुसी भइन् ।

छाप्रामा आगो बालेर कर्कोटक नागयुवक भोजन पकाउनमा लाग्यो । बाहिर पिँढीमा निस्पट्ट अन्धकार छ । उज्यालो चाहियो भनेर दमयन्तीले चुलाबाट एउटा अगुल्टो मागेर पिँढीतिर लागिन् । दमयन्ती पाएर उन्मत्त र प्रसन्न भएको नागयुवकले छाप्राको कुनाबाट जौको जाँडको घैँटो ल्याएर आफू खाँदै दमयन्तीलाई पनि दियो । आफूलाई भोजनसँगै मात्र मदिरा मन पर्छ, त्यस वेला मात्र खाने छु बरु तिमी आफूले खाऊ भन्दै दमयन्तीले मायालु हातले नागयुवकलाई मदिरा खुवाउँदै रहिन् । कन्दमूलको खिर पकाउँदा पकाउँदै कर्कोटक उङ्न थाल्यो । दमयन्तीले छाप्राको ढोका र पिँढीमा जाँड पोखेर अगुल्टाले ढोकाको जाँड र छाप्रामा आगो लगाइदिइन् र त्यहाँबाट पूर्व दिशामा सुइँकुच्चा ठोकिन् । कर्कोटक नागयुवकबाट त्यसरी छुटकारा लिए पनि एक कोस पूर्वतिर गएर दमयन्तीले शिंशपा रुखका हाँगामा सावधान बसी रात गुजारिन् ।

किंकर्तव्यविमूढ तथा सधैँ अपराजिता रहेकी तर त्यस वेला आफूलाई पराजित अनुभव गरेर विह्वल भएकी दमयन्ती तीन दिनसम्म जङ्गलको माझ विह्वल हुँदै र बाटामा पाएका कन्दमूल खाँदै हिँडिरहिन् । जङ्गलबिचका साना खुला ठाउँमा छसात घर भएका निषाद र नागको बसोबास देखिँदा ती घरसित समेत तर्सिएर दमयन्ती वन्यप्रान्तकै बाटो हिँडिरहिन् । एकान्त यात्रामा ती एक्ली नारीले आफू र वनस्पति तथा पशुपन्छी अनि नलबिच एकात्मकता रहे जस्तो अनुभव गर्ने गरिन् । वनको बाटामा आफ्नो सामान्य रक्षाका निम्ति तिनले हातमा एउटा लट्ठी लिएकी थिइन् । कुनै अजिङ्गर, कर्कोटक वा निषादयुवकले फेरि बलजफ्ती गर्न नपाओस् । त्यस्ता कुनैले देखिहाल्यो भने पनि कुरूप र बौलाही ठानेर त्यस्ताले आक्रमण नगरुन् भन्ने विचार गर्दै दमयन्तीले आफ्नो केशलाई धुलाले मुसारेर जगल्टा जस्तो बनाइन् । आफ्नो रूपलाई हिलो दलेर विकृत तुल्याइन् । मानिसको परिचय उसको शरीरले भन्दा पनि उसको मस्तिष्क र हृदयले दिने हुँदा शरीरलाई जतिसुकै क्षतविक्षत तुल्याए पनि दमयन्तीको हृदय र बुद्धि भविष्यको उज्यालो आशामा नलप्रति झन् झन् बढी मुग्ध र कोमल हुँदै गयो । जहिले जुन रूपमा भए पनि आफ्ना पति नललाई आफूले अवश्य नै फेला पार्ने छु भन्नेमा तिनको विश्वास झन् झन् दृढ हुँदै गयो । तेस्रो दिनको साँझ सूर्यास्तको समयमा वनका बिच खुला ठाउँमा रहेको खेतमा देखा परिरहेको एउटा ठुलो ढुङ्गानजिक पुगेर दमयन्ती अडिइन् ।

किंकर्तव्यविमूढ तथा सधैँ अपराजिता रहेकी तर त्यस वेला आफूलाई पराजित अनुभव गरेर विह्वल भएकी दमयन्ती तीन दिनसम्म जङ्गलको माझ विह्वल हुँदै र बाटामा पाएका कन्दमूल खाँदै हिँडिरहिन् । जङ्गलबिचका साना खुला ठाउँमा छसात घर भएका निषाद र नागको बसोबास देखिँदा ती घरसित समेत तर्सिएर दमयन्ती वन्यप्रान्तकै बाटो हिँडिरहिन् । एकान्त यात्रामा ती एक्ली नारीले आफू र वनस्पति तथा पशुपन्छी अनि नलबिच एकात्मकता रहे जस्तो अनुभव गर्ने गरिन् । वनको बाटामा आफ्नो सामान्य रक्षाका निम्ति तिनले हातमा एउटा लट्ठी लिएकी थिइन् । कुनै अजिङ्गर, कर्कोटक वा निषादयुवकले फेरि बलजफ्ती गर्न नपाओस् । त्यस्ता कुनैले देखिहाल्यो भने पनि कुरूप र बौलाही ठानेर त्यस्ताले आक्रमण नगरुन् भन्ने विचार गर्दै दमयन्तीले आफ्नो केशलाई धुलाले मुसारेर जगल्टा जस्तो बनाइन् । आफ्नो रूपलाई हिलो दलेर विकृत तुल्याइन् । मानिसको परिचय उसको शरीरले भन्दा पनि उसको मस्तिष्क र हृदयले दिने हुँदा शरीरलाई जतिसुकै क्षतविक्षत तुल्याए पनि दमयन्तीको हृदय र बुद्धि भविष्यको उज्यालो आशामा नलप्रति झन् झन् बढी मुग्ध र कोमल हुँदै गयो । जहिले जुन रूपमा भए पनि आफ्ना पति नललाई आफूले अवश्य नै फेला पार्ने छु भन्नेमा तिनको विश्वास झन् झन् दृढ हुँदै गयो । तेस्रो दिनको साँझ सूर्यास्तको समयमा वनका बिच खुला ठाउँमा रहेको खेतमा देखा परिरहेको एउटा ठुलो ढुङ्गानजिक पुगेर दमयन्ती अडिइन् ।

तीनदेखि निद हराएकी दमयन्ती तुरुन्तै गहिरो निद्रामा परिन् । मध्यराततिर नललाई सम्झिएर बर्बराइरहेकी दमयन्तीको आँखा खुल्यो । कालोनिलो आकाशमा उत्तरतिर ध्रुवतारा त्यसको दाहिनेतिर साततारा र देब्रेतिर पाँच ताराका उज्याला तारामण्डलले तिनलाई मोहित तुल्यायो । पूर्वदेखि पश्चिमतिर केही दक्षिणतिर ढल्किएको आकाशगङ्गा दमयन्तीका दृष्टिमा सङ्गीतमय हुन थाल्यो । आकाश र पृथ्वी यस्ता सुन्दर छन् । तिनका बिच आफू एक्ली विरहिणी अवस्थामा अनुभव गरेर दमयन्ती कोमल मधुर स्वरमा वियोग र पीडाको गीत गाउन थालिन् । कति बेरसम्म तिनले गीत गाइन्, तिनले आफैँ थाहा पाइनन् । आकाशमा बिस्तारै बिस्तारै उभ्रिएर आउँदै पातला बादलले त्यो सुन्दर आकाशलाई दमयन्तीका हृदयमा धुमिल तुल्याउँदै लग्यो । बिस्तारै बिस्तारै दमयन्ती फेरि निदाइन् । यो पछिल्लो निद तिनका निम्ति बढी आनन्ददायी हुँदै गयो ।

आफ्नो सपनामा दमयन्तीले त्यो बाक्लो जङ्गलबिच त्यस्तै एउटा फराकिलो खुला ठाउँमा ऋषिहरूका आश्रमका छाप्रा देखिन् । त्यो आश्रमको चारैतिर मृग, मयूर, सुगा र गाईबाच्छा चरिरहेका देखेर मानवसामीप्य खोज्दै दमयन्ती ती छाप्रातिर अघि सरिन् । फेरि आक्रमण गर्छ कि कसैले भन्ने भयले गर्दा तिनका पाइला सुस्तरी उठिरहेका थिए ।

सपनामै तिनले मानव आवाज सुनिन्, ‘‘सुन्दरी !’’ आफ्नो रूपलाई आफैँले विकृत तुल्याइसकेकी तिनलाई सम्झना भयो तर पाइलो अघि सरिरह्यो ।

त्यही स्वर फेरि सुनियो, ‘‘तिमी को हौ ? वनदेवी, राक्षसी, यक्षी वा गन्धर्वी अथवा देवनारी कि मानवी ?’’ दमयन्तीलाई अचम्म लाग्यो, ‘‘सबै नै मानव नै त हुन् । मनुका सन्तान ।’’ सपनामा दमयन्ती मुसुक्क हाँसिन् । त्यो आश्रममा तिनले यथेष्ट मित्रता तथा सम्मानपूर्ण सत्कारका साथ भोजन गरिन् । सपनामा फेरि तिनले सुनिन्, ‘‘अझै उत्तरपट्टि हिँड्दै जाऊ, खोज्दै जाऊ, तिम्रो नल भेटिने छन् । नल पनि तिमीलाई खोज्दै अति पीडित हृदय लिएर तिमीतिरै आइरहेछन् ।’’

‘‘कहाँ थियौ यतिका दिनसम्म ?’’ भन्दै दमयन्ती चिसो ढुङ्गामाथि आफ्नो मुखमा सूर्यको सुनौलो प्रभाती किरणलाई अनुभव गर्दै ब्युँझिइन् । यथार्थ वस्तुस्थितिबारे दमयन्तीले बुझिन् । त्यस्तो सुखकारी सपना देखेकामा तिनी प्रसन्न भइन् र मुख पुछ्दै फेरि उत्तरतिरको बाटो लागिन् । केही बेरपछि एउटा सानो खोला देखियो । दमयन्तीले स्नान गरिन् । किनारामा केराको घारी थियो । केही काँचा, केही पाकेका केराको एक काँगियो नै तिनले खाइन् । दमयन्तीमा शक्ति र साहस फर्कियो । तिनी उत्तरतिर लागिन् ।

निकै बेर हिँडेपछि जङ्गलका बिचमा तिनले अस्पष्ट तर ठुलो आवाज सुनिन् । त्यो आवाज वन्यजन्तुको होइन भन्ने बुझेर तिनी केही पूर्वतिर त्यही आवाजतिर हिँड्दै रहिन् । केहीबेर हिँडेपछि दमयन्तीले घोडा, गोरु र गाडामा चढेका लगभग ५० देखि ६० जना मानिसको डफ्फा देखिन्, गाडा निकै थिए । गाडामाथि खरपातका घुमाउरा छाप्रा हालिएका थिए । सबै घोडा र गाईवस्तुका घाँटीमा साना घन्टी टिङटिङ बजिरहेको सुन्दा दमयन्ती हर्षोन्मत्त भइन् । त्यस्ती दमयन्तीलाई देखेर मानिस अगिल्लो गाडातिर डराउँदै, चिच्याउँदै, दौडिँदै गए । अगिल्लो गाडामा तिनीहरूले केही बेर कुरा गरेपछि उज्यालो सेतो लुगामाथि सुनको मुकुटलाई पहेँलो फेटाले बाँधेको, कम्मरमा चाँदीको बुट्टे पाताको माला पहिरी एउटा प्रौढ पुरुष निस्केर दमयन्तीतिर आयो । त्यस पुरुषले दमयन्तीको परिचय सोध्यो । आफ्नो परिचय दिएर सबै कुरा बताएपछि दमयन्तीले त्यस पुरुषको नाम र गन्तव्यस्थलबारे सोधिन् । त्यो पुरुष शुचिभद्र भन्ने सार्थवाह रहेछ । यक्षराज कुबेरको मित्र मणिभद्रको कुलमा शुचिभद्र जन्मिएको रहेछ । त्यो सार्थ काशीबाट अयोध्या हुँदै चेदीतिर जान हिँडेको रहेछ । दमयन्तीले निषध नलबारे बताइसकेकै थिइन् । शुचिभद्रको सार्थले कतै कहीँ नललाई देखेको थियो कि । राजा नलबारे केही सुनेको थियो कि भनी सोधिन् ।

शुचिभद्रलाई नलबारे केही थाहा थिएन । विदर्भकी कन्या दमयन्तीबारे सुनेर र कुरा गर्दा सेठ शुचिभद्रले तिनी शिथिल भएकीबारे बुझ्यो र भोजन गर्न आग्रह ग¥यो । कैयौँ दिनपश्चात् दमयन्तीले मृगको सुकुटी, दही, भात र नुन हालेर उसिनेको कन्दमूल तथा दुध खाइन् । अचम्म मानेर तिनीतिर सेठ हेरिरह्यो । त्यसले भन्यो, ‘‘सुन्दरी वैदर्भी, चेदी ठुलो जनपद हो । नल त्यहीँ फेला होलान् नत्र तिनका बारे त्यहाँ थाहा पाइने छ । अहिले तिम्रो अवस्था कुनै निषादी जस्तो छ । तिम्रो शरीरमा यी झारपात अवश्य नै सुन्दर देखिन्छन् तर म तिमीलाई वस्त्र अर्पित गर्छु । ती वल्कलको परित्याग गर र आफ्नो कपाल पनि काँगियोले सम्याऊ ।’’

नललाई भेट्ने आशामा दमयन्तीलाई आफ्नो पूर्वसौन्दर्यको सम्झना भयो । तिनले वस्त्र फेर्न स्वीकार गरिन् तर साँझको स्नान र सन्ध्योपासनापछि मात्र भनिन् । शुचिभद्र सेठ आफ्नो गाडामा गयो । दमयन्ती एउटा गाडाको पछिल्लो बाँसको सहारा लिएर सार्थसँगै हिँड्न थालिन् । आधा कोसजति गएपछि मध्याह्नको सूर्यको रापले सेक्न थाल्दा शुचिभद्रको सार्थ पद्मसौबन्धिक भन्ने अति ठुलो तलाउको किनारमा जङ्गलबाट निस्केर पुग्यो ।

त्यो विशाल सरोवर अति रमणीय र सुन्दर थियो । राप र जङ्गलको उकुसमुकुसयुक्त निश्चलतामा पिल्सिएको र निस्सासिएको त्यो सार्थ एकैछिन सरोवरको किनारमा अड्यो । शुचिभद्रले भनेर केही युवकले सरोवरको किनारमा बस्न, नुहाउन र भोजन बनाउन मिल्ने ठाउँ खोजे । त्यस ठाउँमा पुगेपछि सार्थका खड्गधारी धनुर्धर रक्षक दलले आफ्नो ठाउँ लियो । सबै जना घोडा र गाडाबाट ओर्लिएर रुखका छहारीमा सुस्ताउन थाले । सार्थसँगसँगै पैदल आइरहेकामा विभिन्न रूप, रङ, भाषा र भेषका सातआठओटी नारी पनि थिए । ती नारीलाई देखेपछि दमयन्तीको मन चञ्चल भएर आँखा भिज्न थाले । दमयन्तीले तिनीहरूसित सामान्य कुरा गर्दै रुखका छहारीमा सुस्ताइन् । सार्थसँग गाडामा रहेका र पैदल यात्रीसमेतले केहीबेर सुस्ताएर सरोवरमा जलक्रीडा गरे । दमयन्ती पनि पानीमा उत्रिइन् र एक्लै पौडिँदै निकै टाढा टाढासम्म गइन् ।

सरोवरमा स्नानपछि शुचिभद्रले दमयन्तीलाई कालो धोती र दुकूलको ओढ्ने दियो । भोजनपश्चात् त्यो सार्थले निकै बेरसम्म त्यही सरोवरछेउ विश्राम ग¥यो । विश्राम गर्दा घोडा र गाईगोरुलाई समेत नुहाइदिएर चर्न यताउति छोडिदियो ।

यात्राका निम्ति फेरि तयारी गर्दा सूर्य ढल्किन थालिसकेको थियो । उत्तरतिरको अगाडिको जङ्गल साह्रै नै बाक्लो र जङगली पशुले गर्दा रातको निम्ति डरलाग्दो छ भनी सार्थरक्षकहरूले भनेपछि त्यो रात सार्थले पद्मसौगन्धिककै छेउमा विश्राम गर्नु उचित हुने छ भनी सेठ शुचिभद्रले निर्णय लियो ।

सरोवर किनाराको खुला ठाउँमा गहिरो निद्रामा शुचिभद्र सार्थ सुतिरहँदा मध्यराततिर जङ्गली हात्तीको एउटा डफ्फा पानी खान भनी सरोवरतिर आयो । मध्यरातमा हात्तीद्वारा कुल्चिएर शुचिभद्र सार्थ ध्वस्त र विनष्ट भयो । सार्थबिच नरनारी तथा घोडा र साँढेहरूबिच हाहाकार मच्चियो । नारीहरूसँगै सुतेकी दमयन्तीले सुरुमै आफूलाई जोगाएर एउटा अग्लो रुखमा आश्रय लिइसकेकी थिइन् । तिनको सहायताले एउटी अर्की नारी रुखको अर्को हाँगामा बसिन् र हात्तीद्वारा भएको त्यो विनाशलाई दुवैले करुण दृष्टिले हेरिरहेका थिए । सार्थबाट उठेको हाहाकार चिल्लीबिल्ली र क्रन्दनले हात्तीलाई झन् तर्साएर उन्मत्त तुल्यायो । त्यो मध्यरातमा कतै केही देखिँदैन थियो । पानी खाएर हात्तीहरू तलाउबाट फर्किँदा बाँकी रहेको सार्थ झन् किचीमिची हुँदै गयो ।

बिहानको सूर्योदय हुँदा पनि क्षतविक्षत भएका केही नरनारीको ऐया र रोदन चलिरहेको थियो । रक्षक दल र पदयात्रीमध्ये रुख चढेकाहरू दशबाह्र जनाबाहेक सबै मरिसकेका नत्र असाध्य घाइते भइसकेका दमयन्तीले देखिन् । शुचिभद्रको छातीमै हात्तीको पाइला परेको रहेछ । रुखबाट ओर्लिएकी दमयन्तीले रुखमा आफूसँगै रहेकी नारीलाई भनिन्, हेर त बहिनी, सृष्टिकर्ताले मेरो यो शरीर जीवनभरि दुखै भोग्नका निम्ति बनाएको रहेछ तर हेर आज मेरा आँखामा यो बीभत्स दृश्यसामुसमेत आँसु छैनन् । कति पीडा भोगिसकेँ मैले । शुचिभद्रले दिएको यो वस्त्र मेरा निम्ति यत्रो अशुभ भयो । यसलाई म फ्याँक्छु ।’’ अर्की नारीले एउटी मृत नारीको कम्मरबाट रगतका टाटा लागेको मैलो कपडा ल्याइन् । दमयन्ती त्यसैमा बेरिइन् । दुवै नारी चेदीतिर हिँडे । उज्यालो हुँदै जाँदा बाटामा तिनले वैदिक मन्त्र गुनगुनाउँदै गएका केही ब्राह्मण र क्षेत्रीय पदयात्रीलाई भेटे । कोही कसैसँग बोलेनन् । सबै आआफ्नो बाटो लागे ।

सरोवरमा दुर्घटना भएको केही दिनपछि ती दुवै नारी चेदी जनपदको छेउमा पुगे । अर्की नारी आफ्नो गाउँतिर हिँडिन् । दमयन्तीले आफ्नो बाल्यकालको कुरा सम्झिन् । निकै सानी बालिकाको अवस्थामा रहेकी दमयन्तीले आफ्नी आमाबाट ठुलीआमाबारे कुरा सुनेकी थिइन्, ‘‘छोरी, तेरी ठुलीआमा मभन्दा निकै जेठी छन् । तँ जन्मिनेभन्दा निकै वर्ष पहिले मेरी दिदी सुनन्दालाई चेदीराज सुबाहुले अपहरण गरेर लगी आफ्नी पत्नी बनाएका थिए ।’’

त्यो सम्झनाले दमयन्तीमा ठुलो शङ्का उत्पन्न ग¥यो, ‘‘सामुन्ने चेदी छ । त्यहाँ सुबाहु र ठुलीआमा

सुनन्दा छन् । तिनले मलाई चिने भने नमिठो हुने छ तैपनि चेदी जानैपर्छ । नल फेला परिहाल्छन् कि ।’’

दमयन्तीले फेरि आफ्ना केश, वस्त्र र मुहारलाई विकृत तुल्याइन् । निषधराज नलबाट बिछोड भई हिँडेदेखि घाममा परेर तिनको मुहार र शरीर त्यसै पनि डढेर कालो भइसकेको थियो । चेदीभित्र पस्दा दमयन्तीलाई बौलाही जस्तै देखेर सडकका केटाकेटी हा हा हु हु गरी चिच्याउँदै गिज्याउँदै दमयन्तीका पछि लागे ।

चेदी नगरको मूल बाटाको पूर्वतिर काठको आफ्नो दुईतले घरको माथिल्लो बार्दलीमा बसेर रानी सुनन्दा सडकको रमिता हेरिरहेकी थिइन् । बौलाही जस्ती दमयन्तीमा ती वृद्धाको दृष्टि प¥यो । दमयन्तीको मुहारको ओज र देहयष्टितिर तिनको ध्यान गयो । आफ्नो सेवकलाई अराएर तिनले दमयन्तीलाई आफूछेउ बोलाइन् र परिचय सोधिन् । दमयन्तीले आफ्नो यथार्थ परिचय लुकाएर आफूले एउटा सम्भ्रान्त परिवारमा सेठकी पत्नीको सिँगारपटार गर्ने सुसारे भएर काम गर्ने गरेको बताइन् । आफ्नी युवती हुन लागेकी छोरीका निम्ति सुनन्दा कुशल सुसारेको खोजीमा थिइन् । सुनन्दाले दमयन्तीसामु आफ्नी छोरीको सुसारे सैरन्ध्रीको काम स्वीकार गर्न आग्रह गरिन् ।

ाईँ रानी, मेरी मातासरह हुनुहुन्छ तथापि मेरा तीनओटा सर्तलाई स्वीकार गर्नुहुन्छ भने मात्र म यो काम गर्ने छु’’ भनिन् दमयन्तीले । ‘‘मैले कसैको जुठो खान नपरोस्, कसैको पाउ दाब्न नपरोस् र कुनै परपुरुषसित बोल्न नपरोस् ।’’ भन्ने आफ्नो सर्त प्रस्तुत गरिन् । सुनन्दाले तीनैओटा सर्तलाई स्वीकार गरेर छोरीलाई बोलाएर ‘‘तिमी सैरन्ध्री अबदेखि यिनको हेरविचार र स्याहारसुसारमा बस्नू’’ भनी आदेश दिइन् ।

‘‘तप निषधबाट नलसँगै निस्केकी दमयन्ती चेदी नगरमा आफ्नी ठुलीआमाको भवनमा सैरन्ध्रीका रूपमा रही निषधराज नललाई जसरी भए पनि खोजेर फेला पार्ने उपायबारे सन्तोषका साथ विचार गर्न थालिन् ।

शब्दभण्डार

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :

शब्द                      अर्थ
शब्द                   अर्थ
संयत                   व्यापारी लस्करको मुखिया 
धूमिल                  एक जातको रुख, सिसौ
कर्कोटक             रूपसज्जाको काममा खटिएकी सेविका 
कन्दमूल              रुखको बोकद्वारा बनेको पोसाक 
किंकर्तव्यविमूढ   एक प्राचीन जाति 
निषाद                बिलखबन्द, यसो गरूँ कि उसो गरूँ भई जिल्ल परेको
वल्कल               माटामुनि जराका रूपमा फल्ने डल्लो वा लाम्चो फल 
सैरन्ध्री               पुराणप्रसिद्ध आठ नागमध्ये एक 
शिंशपा              सम्भावित
देहयष्टि              रेसमी पछ्यौरा
दुकूल               स्पष्ट नदेखिने
सार्थवाह           दुःखी
                       मर्यादा वा सीमाभित्र रहेको 
                      लौरो झैँ दुब्लो शरीर

संयत – मर्यादा वा सीमाभित्र रहेको
धूमिल – स्पष्ट नदेखिने
कर्कोटक – पुराणप्रसिद्ध आठ नागमध्ये एक
कन्दमूल – माटामुनि जराका रूपमा फल्ने डल्लो वा लाम्चो फल
किंकर्तव्यविमूढ – बिलखबन्द, यसो गरूँ कि उसो गरूँ भई जिल्ल परेको
निषाद – एक प्राचीन जाति
वल्कल – रुखको बोक्राद्वारा बनेको पोसाक
सैरन्ध्री – रूपसज्जाको काममा खटिएकी सेविका
शिंशपा – एक जातको रुख, सिसौ
देहयष्टि – लौरो झैँ दुब्लो शरीर
दुकूल – रेसमी पछ्यौरा
सार्थवाह – व्यापारी लस्करको मुखिया

२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :

(क) आकाशमा उत्तरदेखि दक्षिणसम्म ज्योतिपुञ्जका रूपमा फैलिएका साना साना नक्षत्रको समूह
– तारामण्डल

(ख) गाउने र बजाउने कलामा प्रवीण एक देवयोनि

– यक्ष वा गन्धर्व

(ग) बस्न र केही राख्न हुने गरी गाराको सट्टा थाम हाली बनाइएको घरको गाराको बाहिरी भाग
– पिँढी

(घ) सुसार गर्ने काममा खटिएको
– सुसारे

(ङ) जनसाधारणको बसोबास भएको ठाउँ
– जनपद

३. दिइएका टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

सुइँकुच्चा ठोक्नु
गोपालले गाउभरिका मानिसहरुको त्रृण खाएर सहरतिर राति नै सुइँकुच्चा ठोकेछ ।

लम्पसार पर्नु
अस्तिसम्म के के न गर्छु भनेर झगडा गरेर हिडने हरि आँज पछुताउँदै गाउँलेसामु लम्पसार परेको छ ।

आँखा लाग्नु
हरि र सिताको जोडीमा दैवको आँखा लागेर होला आज छुट्टिएर बसेका छन् ।

मुख फोर्नु
सधै सहेर बस्ने अनिताले आज सासुसामुहमुख फोरेर चोधाले बुढी अब हेपेको सहिदैन भनिन्छ ।

तेल लगाउनु
धरान जानका लागि राम बुबालाई तेल लाँउदै छ ।

सोत्तर हुनु
पाक्ने बेलाको मकै बादरले सोत्तर बनाएछ ।

४. दिइएका शब्दको विपरीत अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् :

दिन – रात
दुःखी – सुखी
उदाइसकेको – अस्ताइसकेको
पराजय – विजय
विजित – अपराजिता
अपमान – सम्मान
सूर्यास्त – सूर्योदय
देब्रे – दाहिने
वियोग – मिलन

५. दिइएका पारिभाषिक शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाउनुहोस् र शब्दकोशको सहायता लिई तिनको अर्थ पनि लेख्नुहोस् :

अनुक्रममा मिलाइएको:
अधिकृत, आदेश, टिप्पणी, निलम्बन, परिपत्र, फर्सोट, बढुवा, बेरुजु, भरपाई, राजस्व, सरुवा, स्पष्टीकरण /p>

अधिकृत
राजपत्राङ्कित वा सो सरहको कर्मचारी, कुनै अड्डा वा कार्यालय आदिको अधिकारप्राप्त व्यक्ति

आदेश
कुनै काम कारबाईका बारेमा मन्त्री वा उच्च अधिकारीबाट दिइने निकासापुकासा वा निर्णयसम्बन्धी आज्ञा

टिप्पणी
कठोर र गूढ अर्थको व्याख्या, टीका विशेष कुरा सम्झाउन लेखिने सानो लेख

निलम्बन
पद, अधिकार वा दायित्वबाट रोक्का

परिपत्र
विचार, सूचना, जानकारी आदिका निम्ति सम्बन्धित व्यक्ति, संस्था वा विभागलाई एकै बेहोरामा पठाइने आधिकारिक पत्र

फर्स्योट
लेनदेन वा खरिदबिक्रीसम्बन्धी हरहिसाब चुक्ता गर्ने काम, छिनाफाना

बढुवा
तल्लो पदबाट माथिल्लो पदमा वृद्धि हुने काम, पदोन्नती

बेरुजु
रुजु गर्दा नमिलेको, रुजु नगरिएको वा नभएको

भरपाई
कसैले अरुबाट कुनै वस्तु बुझी लिएको प्रमाणको रसिद

राजस्व
मालपोत, भन्सारमहसुल, विभिन्न कर वा शुल्क आदिका रूपमा राज्यलाई प्राप्त हुने धन

सरुवा
सङ्क्रामक, सर्ने किसिमको

स्पष्टीकरण
छर्लङ्ग नभएका कुरालाई छर्लङ्ग पार्ने काम


बोध र अभिव्यक्ति

१. ‘विरहिणी दमयन्ती’ कथा पढी यसका आदि, मध्य र अन्त्यका मुख्य मुख्य घटना भन्नुहोस् ।

उत्तरः

कथाको आदि :
१. दमयन्ती आफ्ना पति नलको खोजीमा जङ्गलमा एक्लै हिँडिरहनु,
२. नागपुरुष कर्कोटकले दमयन्तीलाई जबर्जस्ती काँधमा बोकेर आफ्नो छाप्रोमा लैजानु,
३. कर्कोटकले रक्सी खाएर उङ्न लागेको मौका छोपी छाप्रामा आगो लगाएर दमयन्ती भाग्न सफल हुनु,

मध्य :
१. जङ्गलको बिचमा दमयन्तीको सार्थवाह शुचिभद्रसित भेट भै दुबै तलाउमा बस्नु,
२. जङ्गली हात्तीको कुल्चाइबाट साथका धेरै व्यक्तिको ज्यान जानु,
३. सुरुमै रुख चढ्न सफल दमयन्तीसहित दशबाह्र जना मात्र हात्तीको कुल्चाइबाट बच्न सफल हुनु,

अन्त्य :
१. दमयन्तीले पति नललाई भेट्ने आशामा रुप बदली चेदी जनपद पुग्नु,
२. चेदीमा आफ्नै ठुलीआमा सुनन्दाका घरमा पहिचान बदलेर सैरन्ध्रीका रूपमा रही नलसँग मिलनको प्रतीक्षा गर्नु,

२. कथा पढी दिइएका प्रश्नको उत्तर दिनुहोस् :

(क) दमयन्ती जङ्गलमा किन एक्लै हिँडिरहेकी हुन् ?
उत्तरः दमयन्ती जङ्गलमा आफ्ना प्रति नलको खोजी गर्दै एक्लै हिँडिरहेकी हुन् ।

(ख) दमयन्तीले यात्रा गरेका मुख्य ठाउँ कुन कुन हुन् ?
उत्तरः दमयन्तीले यात्रा गरेका मुख्य ठाउँहरू कर्कोटक नागहरूको बस्तीमा रहेको नागयुवकको छाप्रो, बस्ती नजिकैको घनघोर जङ्गल, सानो खोला, पद्मसौबन्धिक तलाउ, चेदी जनपद हुन् ।

(ग) जङ्गली हात्तीको आक्रमणबाट बच्न दमयन्ती कसरी सफल भइन् ?
उत्तरः दमयन्ती एउटा अग्लो रुखमाथि चढेर बसेकाले जङ्गली हात्तीको आक्रमणबाट बच्न दमयन्ती सफल भइन् ।

३. कथा पढी दिइएका घटनालाई क्रम मिलाई लेख्नुहोस् :

उत्तरः
(क) आफ्ना पति नलको खोजीमा दमयन्ती जङ्गलमा एक्लै हिँडिरहनु
(ख) नागपुरुष कर्कोटकले दमयन्तीलाई जबर्जस्ती बोकेर लैजानु
(ग) कर्कोटकले रक्सी खाएर उड्न लागेको मौका छोपी छाप्रामा आगो लगाएर दमयन्ती भाग्न सफल हुनु
(घ) जङ्गलको बिचमा दमयन्तीको सार्थवाह शुचिभद्रसित भेट हुनु
(ङ) शुचिभद्रको सार्थसँगै हिँडेकी दमयन्ती पद्मसौगन्धिक तलाउमा वास बस्नु
(च) जङ्गली हात्तीको कुल्चाइबाट सार्थका धेरै व्यक्तिको ज्यान जानु
(छ) रुख चढ्न सफल दमयन्तीसहित दशबाह जना मात्र हात्तीको कुल्चाइबाट बच्न सफल हुनु
(ज) दमयन्ती चेदी जनपद पुग्नु
(झ) चेदीमा आफ्नै ठुलीआमा सुनन्दाका घरमा पहिचान बदलेर सैरन्ध्रीका रूपमा रही नलसँग मिलनको प्रतीक्षा गर्नु

४. कथामा प्रयुक्त पौराणिक पात्रका नाम भन्नुहोस् र तिनको भूमिका वर्णन गर्नुहोस् ।

नल
निषधका राजा, दमयन्तीको पति, कथामा प्रत्यक्ष भूमिका नभएको

दमयन्ती
रानी, नलकी पत्नी, कथाको मुख्य नारी पात्र, शीर्ष तथा केन्द्रीय भूमिका

पुष्कर
नलको भाइ, दमयन्तीको सपनामा आएको

नागयुवक
कर्कोटक जातिको नाग, नकारात्मक चरित्रमा देखिएको

शुचिभद्र
एक सेठ, सार्थवाह, सहायक भूमिका

सुबाहु
चेदीका राजा, सुनन्दाको पति, प्रत्यक्ष भूमिका नभएको

सुनन्दा
दमयन्तीकी ठुलीआमा, अन्त्यमा सानो भूमिका ।

५. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

कुनै अजगर, कर्कोटक वा निषादयुवकले फेरि बलजफ्ती गर्न नपाओस्, त्यस्ता कुनैले देखिहाल्यो भने पनि कुरूप र बौलाही ठानेर त्यस्ताले आक्रमण नगरुन् भन्ने विचार गर्दै दमयन्तीले आफ्नो केशलाई धुलाले मुसारेर जगल्टा जस्तो बनाइन् र आफ्नो रूपलाई हिलो दलेर विकृत तुल्याइन् । मानिसको परिचय उसको शरीरले भन्दा पनि उसको मस्तिष्क र हृदयले दिने हुँदा शरीरलाई जतिसुकै क्षतविक्षत तुल्याए पनि दमयन्तीको हृदय र बुद्धि भविष्यको उज्यालो आशामा नलप्रति झन् झन् बढी मुग्ध र कोमल हुँदै गयो । (alert-warning)

(क) ‘मानिसको परिचय शरीरले भन्दा पनि उसको मस्तिष्क र हृदयले दिन्छ’ भन्नुको तात्पर्य के हो ?
उत्तरः मनिषको शरीर एक परिवर्तित मुलक वस्तु हो । आज अत्येन्त सुन्दर भएको शरीर भोलि कुरूप हुन पनि सक्छ । मानिसको परिचय उसको शरीर अर्थात् रूपसँग हुँदैन । मानिसको विचार, हृदय सही, सफा हुनु पर्छ । विचार र हृदय सफा भएको व्यक्ति नै असल र महान् हो । दमयन्तीले आफ्नो रूपलाई विकृत बनाए पनि उनको विचार र हृदय सफा थियो । अतः मानिस बाहिरी बोक्रे रूपले नभएर आन्तरिक गुणले उसको परिचय दिलाउँछ भन्नु नै माथिको भनाईको तात्पर्य हो ।

(ख) दमयन्तीले आफ्नो रूप किन बदलेकी हुन् ?
उत्तरः दमयन्तीले नागयुवकजस्ता खराब चरित्रबाट उम्केर भाग्न सफल भएपछि पुनः त्यस्ता व्यक्तिबाट बलजफ्ती गर्न नपाओस्, त्यस्ता कुनैले देखिहाल्यो भने पनि कुरूप र बौलाही ठानेर त्यस्ताले आक्रमण नगरुन् भन्ने विचारले दमयन्तीले आफ्नो रुप वदलेकी हुन् । अतः दमयन्तीले दानवीय प्रवृत्ति भएका विवेकहीन कामुक, दुष्ट प्रवृत्ति भएका तत्ववाट आफ्नो सुरक्षार्थ आफ्नो रुप वदलेकी हुन् ।

६. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

कालोनिलो आकाशमा उत्तरतिर ध्रुवतारा त्यसको दाहिनेतिर साततारा र देब्रेतिर पाँच ताराका उज्याला तारामण्डलले तिनलाई मोहित तुल्यायो । पूर्वदेखि पश्चिमतिर केही दक्षिणतिर ढल्किएको आकाशगङ्गा दमयन्तीका दृष्टिमा सङ्गीतमय हुन थाल्यो । आकाश र पृथ्वी यस्ता सुन्दर छन् । तिनका बिच आफू एक्ली विरहिणी अवस्थामा अनुभव गरेर दमयन्ती कोमल मधुर स्वरमा वियोग र पीडाको गीत गाउन थालिन् । कतिबेरसम्म तिनले गीत गाइन्, तिनले आफैँ थाहा पाइनन् । आकाशमा बिस्तारै बिस्तारै उभ्रिएर आउँदै पातला बादलले त्यो सुन्दर आकाशलाई दमयन्तीका हृदयमा धूमिल तुल्याउँदै लग्यो ।

(क) माथिको अनुच्छेदमा कस्तो परिवेशको चित्रण गरिएको छ ?
उत्तरः माथिको अनुच्छेदमा रातीको समयको कालोनिलो आकाशमा विभिन्न तारामण्डलहरूको मनमोहक परिवेश चित्रण गरिएको छ । प्रकृतिको सुन्दर दृश्यले दमयन्तीको सोचलाई सङ्गीतमय बनाएको छ । अतः माथिको अनुच्छेदमा अपूर्व रात्रीकालीन सुन्दर परिवेशका साथै विक्षिप्त मानसिक परिवेशको बेजोड चित्रण गरिएको छ ।

(ख) आकाश र दमयन्तीको हृदयका बिच के समानता छ ?
उत्तरः आकाश र दमयन्ती दुबैको हृदय सुन्दर छ । पातला बादले सुन्दर आकाशलाई धूमिल बनाए जस्तै दमयन्तीको हृदय पनि पीडा र वेदनाले धूमिल बनेएको छ । यसरी आकाश र दमयन्तीको हृदयका बिच धेरै समानता छ ।

७. समीक्षात्मक उत्तर लेख्नुहोस् :

(क) ‘नारी प्रेम र संघर्षका प्रतिमूर्ति हुन्’ यस भनाइलाई कथाका आधारमा पुष्टि गर्नुहोस् ।
उत्तरः बौद्धिक एवं दार्शनिक चिन्तन भएका वरिष्ठ आख्यानकार मदनमणि दिक्षित (वि. सं. १९७८-२०७६) द्वारा रचित ‘विरहिणी दमयन्ती’ पौराणिक विषयवस्तुमा आधारित नारीप्रधान कथा हो । यस कथामा पतिवियोगको पीडा र व्यथामा आधारित यात्रा वर्णन गरिएको छ । दमयन्तीको जीवनमा सङ्कट, दुःख र विपत्तिको जतिसुकै चक्रवात मडारिए पनि इज्जत र चरित्रका सुन्दर आभूषण पहिरिएर आफ्नो प्रेम प्राप्तिका लागि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सतिसालझैँ अविचलित हृदयका साथ विघ्नबाधालाई चिर्दै साहसी यात्रामा उनि अगाडि बढेकी छिन् ।
कर्कोटक नाघहरुको घनघोर जङ्गलको छाप्रोमा छोडेर पति नल हिँडेपछि दमयन्ती आफ्ना प्राणप्रिय पतिलाई खोज्न हिँड्छिन् । दमयन्तीले नलसित आनन्दित र सुखी जीवन बिताएकी थिइन् । नल हराएपछि आफुसँग नल छैनन् भन्ने कुरामा उनी विश्वास नै गर्न सकिरहेकी थिइनन् । दमयन्तीले उक्त घनघोर जङ्गलको सुगन्धमा, प्रत्येक फूल र हरिया पातमा, वनमा देखिने चराचुरुङ्गी, मृग र पशुहरुमा नलकै रूप देख्थिन् । मलाई यसरी दुःखित नतुल्याऊ, मबाट लुकेर नवस भन्दै बोटविरुवासँग, फूल र लहरासँग रुँदै पुकार गर्दै दमयन्ती हिँडिरहन्छिन् । नलसँग भएको वियोगले गर्दा उनको हृदय भस्मीभूत हुँदै गएको थियो । साँच्चै नै उनले नललाई आफ्नो प्राण भन्दा पनि बढि माया गर्थिन तर परिस्थितिले उनीहरुलाई टाढा बनाएको थियो । नलको खोजीमा दमयन्ती भोकी, अर्धनान, विचित र शिथिल भइसकेकी थिइन् । कर्कोटकले जवरजस्ती वोकेर आफ्नो छाप्रोमा लाँदा युक्तिपूर्वक उम्कन सफल हुन्छिन् । तीन दिनसम्म जङ्गलमा विह्वल हुँदै हिँडेकी दमयन्ती निषाद र नागको वस्ती देख्दा कुरुप र वौलाही ठानी पुनः कसैको आक्रमण नहोस् भनी विकृत रुप बनाई पतिकै खोजीमा अगाडि बढ्‌छिन् । सार्थवाह शुचिभद्रसँग भेट भएपछि सँगै तलाउमा बास बस्दा हात्तीको आक्रमणबाट पनि उनी बाँच्न सफल हुन्छिन् । त्यस पछि चेदीमा पुगेर आफ्नो वास्तविक परिचय बदली आफ्नै ठुलीआमाको घरमा पति नलको खोजीमा काम गर्न थालिछन् ।

अतः दमयन्तीले घनघोर जङ्गलमा गरेको सङ्घर्ष आफ्नो प्रेम अर्थात पतिको खोजीका लागि थियो । उक्त घनघोर जंगलमा कसैको मतलव नगरि उनी आफ्नो प्रेमको खोजीमा निरन्तर लागि रहिन् । दमयन्ती दृढ भएर आफ्नो लक्ष्यमा विभिन्न कठिन बाधालाई झेल्दै गन्तव्यतिर बढेको देखाएर कथाकारले ‘नारी प्रेम र सङ्घर्षका प्रतिमूर्ति हुन’ भन्ने पुष्टि गरेका छन् ।

(ख) दमयन्तीले आफ्नो जीवनमा आइपरेका समस्याको समाधानका लागि कुन कुन उपाय अवलम्बन गरेकी छन् ?
उत्तरः बौद्धिक एवं दार्शनिक चिन्तन भएका वरिष्ठ आख्यानकार मदनमणि दिक्षित (वि. सं. १९७८-२०७६) द्वारा रचित ‘विरहिणी दमयन्ती’ पौराणिक विषयवस्तुमा आधारित नारीप्रधान कथा हो । यस कथामा पतिवियोगको पीडा र व्यथामा आधारित यात्रा वर्णन गरिएको छ । दमयन्तीको जीवनमा सङ्कट, दुःख र विपत्तिको जतिसुकै चक्रवात मडारिए पनि इज्जत र चरित्रका सुन्दर आभूषण पहिरिएर आफ्नो प्रेम प्राप्तिका लागि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सतिसालझैँ अविचलित हृदयका साथ विघ्नबाधालाई चिर्दै साहसी यात्रामा उनि अगाडि बढेकी छिन् ।

कर्कोटक नाघहरुको घनघोर जङ्गलको छाप्रोमा छोडेर पति नल हिँडेपछि दमयन्ती आफ्ना प्राणप्रिय पतिलाई खोज्न हिँड्छिन् । पीपलको फेदमा निद्रालीन अवस्थामा तर्सेर व्युइँदा कामुक कर्कोटक नागयुवकले जबरजस्ती बोकेर आफ्नो छाप्रोमा लैजाँदा ठुलो समस्यामा पर्छिन् । नागयुवकसँग प्रेमपूर्वक उपस्थित भएर मदिरामा मस्त बनाएर झुपडीमा आगो लगाएर भाग्न सफल हुन्छिन् । तीन दिनसम्म जङ्गलमा विह्वल हुँदै हिँडेकी दमयन्ती निषाद र नागको वस्ती देख्दा कुरुप र वौलाही ठानी पुनः कसैको आक्रमण नहोस् भनी विकृत रुप बनाई पतिकै खोजीमा अगाडि बढ्‌छिन् । सार्थवाह शुचिभद्रसँग भेट भएपछि सँगै तलाउमा बास बस्दा हात्तीको आक्रमणबाट पनि उनी बाँच्न सफल हुन्छिन् । त्यसपछि पति प्राप्तिको अभीष्ट लक्ष्य प्राप्तिका लागि उनी चेदी जनपदतर्फ लाग्छिन् । आफूलाई चेदीराज सुवाहु र ठुलीआमा रानी सुनन्दाले नचिनुन् कुनै अप्ठ्यारो समस्या कोल्न नपरोस् भनी भनी भेष बदली सुनन्दाकी छोरीकी सुसारे सैरन्ध्री वनी पति फेला पारी छाड्ने अठोट गर्छिन् ।
अन्ततः दमयन्तीले आइपरेका समस्याहरुलाई समाधान गर्नका जुक्ति बुद्धि लगाएर समय र परिस्थिथिअनुसार चलाखीपूर्ण तरिकाले वललाई बुद्धिले पछारेकी मात्र छैनन् भवितब्य समस्याको समेत मध्यनजर राखी दूरदृष्टिका साथ विभिन्न उपायहरु अवलम्बन गरेकी छन् ।

(ग) आफ्नो दृढ सङ्कल्प पूरा गर्न मानिस जतिसुकै सङ्घर्ष गर्न पनि तयार हुन्छ भन्ने कुरा ‘विरहिणी दमयन्ती’ कथाका आधारमा पुष्टि गर्नुहोस् ।
उत्तरः बौद्धिक एवं दार्शनिक चिन्तन भएका वरिष्ठ आख्यानकार मदनमणि दिक्षित (वि. सं. १९७८-२०७६) द्वारा रचित ‘विरहिणी दमयन्ती’ पौराणिक विषयवस्तुमा आधारित नारीप्रधान कथा हो । यस कथामा पतिवियोगको पीडा र व्यथामा आधारित यात्रा वर्णन गरिएको छ । दमयन्तीको जीवनमा सङ्कट, दुःख र विपत्तिको जतिसुकै चक्रवात मडारिए पनि इज्जत र चरित्रका सुन्दर आभूषण पहिरिएर आफ्नो प्रेम प्राप्तिका लागि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सतिसालझैँ अविचलित हृदयका साथ विघ्नबाधालाई चिर्दै साहसी यात्रामा उनि अगाडि बढेकी छिन् ।
यस कथाका आधारमा हेर्दा कर्कोटक नागहरुको घनघोर जङ्गलमा पति निषधराज नलसँग आनन्दित र सुखी जीवन बिताएकी कथाकी नायिका रानी वैदर्भी कन्या मयन्ती पतिवियोगमा विरहिणी बनेपछि पतिको खोजीमा निस्कँदा सङ्कट, दुःख र विपत्तिजस्ता समस्याहरुको चक्रवातले घेरिएकी छिन् । आफ्नो सतित्व रक्षका लागि होस् वा जीवनरक्षाका लागि दमयन्तीले आइपरेका समस्याहरुलाई समाधान गर्नका जुक्ति बुद्धि लगाएर समय र परिस्थिथि अनुसार चलाखीपूर्ण तरिकाले बललाई वुद्धिले पछारेकी मात्र छैनन् भवितब्य समस्याको समेत मध्यनजर राखी दूरदृष्टिका साथ विभिन्न उपायहरु अपनाएकी छिन् । समस्या समाधानका लागि उनी धैर्य, साहस, आँट, सङ्घर्षकी प्रतिमूर्तिका रुपमा देखिन्छिन् । समस्या भागेर हैन जागेर समाधान हुन्छ, बललाई बुद्धिले पछार्न सकिन्छ, सङ्घर्ष नै जीवन भएकाले सङ्घर्षशील बन्नुपर्छ, जीवनमा सधैँ आशावादी बन्नुपर्छ, समय र परिस्थितिअनुसार चल्न सक्नुपर्छ जस्ता जीवनोपयोगी सन्देशहरु यो कथा उच्च कोटिको बन्न पुगेको छ । अतः यसप्रकार आफ्नो दृढ सङ्कल्प पूरा गर्न मानिस जतिसुकै सङ्घर्ष गर्न पनि तयार हुन्छ भन्ने कुरा नारी पात्र दमयन्तीका माध्यमबाट पुष्टि गरेका छन् ।

८. तलको अनुछेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस :

संसारको कल्पना गर्ने एक मात्र इन्द्रिय मन नै हो भनी बताइरहँदा मन चाहिँ कस्तो वस्तु रहेछ भन्ने स्वतः जिज्ञासा हुन्छ । सबै कल्पनाको एक मात्र कारण भएको यो चाहिँ स्वयम्मा कुनै सत्य वस्तु होला भन्ने आशङ्का हुन सक्छ । वस्तुतः मन भनेको आफ्ना मान्यताको समष्टि मात्र हो । मन वास्तवमा स्थिर एवम् नित्य वस्तु होइन भन्ने त सबै मानिसले दिनदिनै अनुभव गरिरहेकै कुरा हो । भोकले छट्पटाइरहेको व्यक्ति भोजन गर्दै जाँदा एक छिनपछि खानाबाट अमन हुन्छ । कुनै समय कसैका लागि प्राण नै छाड्न तयार भएको व्यक्ति पछि गएर सोही व्यक्ति मलाई मन पर्दैन भनी बताउँछ । यसैले मन नित्य परिवर्तनशील छ । यस्तै मन अत्यन्त चञ्चल छ । आध्यात्मिक यात्रामा लागेकालाई त मन कति चञ्चल छ भन्ने स्पष्ट नै अनुभव हुन्छ । यस्तो कहिल्यै पनि एकनासले नरहने मन कसरी सत्य वस्तु हुन सक्छ ? मन त केवल सङ्कल्प र विकल्पको अर्को नाम मात्र हो । सङ्कल्प विकल्प रोकिनेबित्तिकै मन नष्ट भइहाल्छ । मनले केही कुराको निश्चय गरेको अवस्थामा त्यसलाई बुद्धि र चिन्ता गरेको अवस्थामा चाहिँ चित्त भनिन्छ । यसरी कामअनुसार नै मन विभिन्न रूपमा फेरिरहन्छ । स्थितप्रज्ञ महापुरुषहरूको मन आत्मामा नै विलीन भएको हुन्छ । जीवनलाई वास्तविक रूपमा बुझेका र मौकामा सही निर्णय गर्न सक्ने व्यक्ति नै स्थितप्रज्ञ हुन् । यस्ता व्यक्तिलाई आत्मज्ञानी पनि भनिन्छ । आत्मज्ञानीका विचारमा जहाँ संसार छ त्यहाँ मन अवश्य नै छ अनि जहाँ मन छैन त्यहाँ संसारसमेत छैन । जागा रहँदा वा स्वप्न देख्दा मन छ । यसैले यी दुई अवस्थामा संसार र त्यसबाट हुने सुखदुःखको अनुभव पनि छ । गाढा निद्राको अवस्थामा मन नहुने भएकाले यस स्थितिमा सुखदुःख पनि छैनन् । आगो नभएका ठाउँमा धुवाँ नभए झैँ मन नभएका ठाउँमा संसार र त्यसबाट अनुभव हुने सुखदुःखसमेत रहँदैनन् । यसरी आध्यात्मिक दृष्टिमा मन अनित्य र परिवर्तनशील इन्द्रिय हो । मानिसलाई सुख र दुःखको अनुभव गराउनु यसको मुख्य कार्य हो । यसैले मन नै सुख र दुःखको कारण हो भन्ने गरिन्छ । मनलाई सम्हाल्ल सक्ने मानिस सुखदुःखमा समान रहन्छ । 
- स्वामी रामानन्द गिरि

(क) किन मनलाई कल्पनाको कारक मानिएको हो ?
उत्तरः संसारको कल्प0ना गर्ने एक मात्र इन्द्रिय भएकाले मनलाई कल्पनाको कारक मानिएको हो ।

(ख) मन नित्य परिवर्तनशील छ भन्नुको तात्पर्य के हो ?
उत्तरः मन नित्य परिवर्तनशील छ भन्नुको तात्पर्य मन कहिल्यै पनि अस्थिर र एकनासको हुदैन हो ।

(ग) आत्मज्ञानीहरूका विचारमा मन र संसारको सम्वन्ध कस्तो छ ?
उत्तरः आत्मज्ञानीहरूका विचारमा संसार भएमा मात्र मन हुने र मन भए मात्र संसार हुने भएकाले मन र संसारको सम्बन्ध घनिष्ठ रहेको छ ।

(घ) मनलाई किन सुख र दुःखको कारण भनिएको हो ?
उत्तरः मानिसलाई सुख र दुःखको अनुभव गराउने मुख्य कार्य नै मनको भएकाले मनलाई सुख र दुःखको कारण भनिएको हो ।

९. बेरोजगारी समाधानका उपाय शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् :

उत्तरः

बेरोजगारी समाधानका उपाय

कुनै पनि जागिर, पेशा वा काम गर्ने अबसर नपाएको अवस्था बेरोजगारी हो । नेपालमा बेरोजगारी समस्याको धेरै कारणहरु छन् । पहिलो सरकारले विद्यालय तहमा प्राविधिक शिक्षा दिन सकेको छैन । दोस्रो कारखाना र उद्योगहरु रोजगारीको माग पूरा गर्न राम्रोसँग फस्टाएका छैनन् । अर्को, धेरै मानिसहरु को लक्ष्य सरकारी जागिर मात्र हो, जो पर्याप्त छैन । नेपाल कृषि मा धनी छ, तर धेरै शिक्षित मानिसहरु खेती मा काम गर्न चाहँदैनन् र कृषि क्षेत्र को पर्याप्त विकास छैन । यसबाहेक नेपाल मा पर्यटनको संभावनाहरु धेरै छ जसले रोजगार प्रदान गर्न सक्छ तर पर्यटन राम्रो र सन्तोषजनक ढंगले विकसित भएको छैन । बारम्बार हुने राजनैतिक विकारले कारखानाहरु र कम्पनीहरु लाई विकसित गर्न को लागी हतोत्साहित गरेको छ । नतिजाको रूपमा मानिसहरु नेपालमा जागिर पाउने बारेमा निराश छन् ।

बेरोजगारी को समस्या समाधान गर्नु पर्छ । सबै क्षेत्रका मानिसहरूले यस सन्दर्भमा केहि गर्नै पर्छ । सरकारले विद्यालय स्तरबाट प्राविधिक र व्यावहारिक शिक्षा प्रदान गर्ने नीति बनाउनुपर्छ । यो साँच्चै विद्यार्थीहरुलाई परिपक्व हुँदा उनीहरुको समुदायमा केहि काम गर्नको लागी मद्दत गर्दछ । अर्को मानिसहरुलाई उपकरणहरु प्रधान गरि उनीहरुलाई नयाँ खेती विधिहरुलाई लागू गर्न को लागी सक्षम बनाउन पर्छ । त्यसै गरी, पर्यटन को व्यापक विकास हुनु पर्छ । नेपालमा अवस्थित कारखाना र उद्योगहरुलाई सुधार गर्नु पर्छ र नयाँ उद्योगहरुलाई बदल्न को लागी स्थापित गर्नु पर्छ । युवाहरुलाई अन्य देशहरुमा जानबाट रोक्नु पर्छ र उनीहरुलाई येही केहि प्रकार को रोजगार मा संलग्न गराउनु पर्दछ । यसले जनताको जीवनस्तर बढाउनेछ र अप्रत्यक्ष रुपमा धेरै रोजगारी सृजना हुनेछ ।

बेरोजगारी को समस्या जनता र राष्ट्र को आर्थिक बृद्धि को बिरुद्ध छ । एक व्यक्ति को प्रयास वा एक समुदाय को प्रयास वा मात्र सरकार को प्रयासले यो भयानक समस्याको समाधान पर्याप्त छैन । सबैले समाजमा रोजगारी सृजना गर्न को लागी केहि गर्नु पर्छ । तब मात्र युवा शक्ति राष्ट्रको विकासमा उपयोग हुन्छ । साथै नेपाल सरकारले बेरोजगारी समस्यामा ध्यान दिनुपर्छ र नेपालमा बेरोजगारी समस्या नियन्त्रण र न्यूनीकरण गर्न उचित र प्रभावकारी नीति बनाउनु पर्छ ।

CreditPuspa Shrestha (This notes were prepared with the help of Puspa Shrestha's blog. Please visit Puspa Shrestha's blog for viewing other awesome guides.) (alert-success)

Post a Comment

1 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top